नाघ्दै भूगोलका नक्शाहरू
छिल्चोल्दै राष्ट्रका सीमानाहरू
बेहिसाब तन्न्नेरीहरू यहाँ
मुगलान पसेका छन
हराएका सपनाहरू संगाल्न
म त्यही युवा प्रतिनीधि
जो युगीन परिवर्तनका आयामहरू भित्र्याउने
भ्रमको रेखा कोरिरहेछ ।
विरानो प्रवासको व्यस्त परिवेशबाट
सधै सधै चियाएर हेर्ने गर्छ ऊ
कतै खुलेको छ कि मेरो देशको आकाश
कतै देखिन्छ कि मेरो देशको छाया ?
उसलाई पनि यसरी - अरुकै घरमा
दोश्रो दर्जामा उभिन कहाँ मन थियो?
कहाँ मन थियो अरुकै पहरेदार, खेताला वा स्याहारे हुन?
कहाँ मन थियो प्रवासलाई आफ्नो भन्न ?
तर भोक प्यास र अभाव,
अव्यवस्था र वेरोजगारी,
भावनाहरूभन्दा धेरै गहिरा हुन्छन्
हो त्यही विरुद्ध संघर्षको पाइला हिड़दैछ ऊ ।
पलायनवादको संज्ञा दिनेहरू सुन !
भोकको वहानामा ऊ कसैसँग भीख माग्दैन
प्यासको बहानामा ऊ मान्छेको रगत पिउदैन
जाड़ोको वहानामा ऊ सल्काउदैन आफ्नै झुपडी
न ढुकुटी हत्याउन फुटाउछ भाइहरूलाइ,
अभावको वहानामा ऊ बाटोघाटो, माटो र नदीनाला बेच्दैन ।
यदि यही वहानामा
घर छाडनु गलत हो हो भने
म त्यही गलतहरूको प्रतिनीधि
यद्यपि जसभित्र माटोको माया सागरमाथा जस्तै हुर्किएको छ
जसको चेतनाको आकासमा राष्ट्रप्रेम चन्द्र र सूर्य जस्तै स्पष्ट छ ।
कहाली लाग्दो नियति बनेर
परदेश बिझेको बेला उसका वर्तमानहरूमा
भो नसोध खै तेरो देश ?
भो नसोध खै तेरो परिचय ?
जापानी होचा पहाड़का गर्तहरूमा
जम्मू कश्मीर, मलायका जंगलहरू र खाड़ीका ताता बालुवा
वा अफगानिस्तानका मरुभूमिहरूमा
उसले आफूलाई कतै हराएको धेरै भैसक्यो
गोरखाको परिचय कोर्दै भूगोलको कुनाकुना
जंगल जंगल क्याम्प राखेर बहादुरी देखाउने म त्यही लाहुरे प्रतिनीधि
जो इतिहास लेख्दै मरुभूमि र जंगलहरूमा
राष्ट्रियताको परिभाषा खोजिरहेछ ।
देश भन्नु मन रहेछ
घर भन्नु मन रहेछ
माया भन्नु मन रहेछ
भो नसोध खै कहाँ छ तेरो घर ?
भो नसोध खै तेरो देश ?
उसले जरुर भन्न सक्छ पहाड़ जत्रो विशाल मेरो मनभित्र
त्यही मन भित्र अटाएको छ सबै सबै उसले, यसबेला ।
तर उसलाई थाहा छैन मन उसँग छ कि छैन?
मन र माया कंप्यूटरको स्क्रीन स्क्रीन चहार्ने यो युग
जसले आसू पिएर झूठ हास्न सिकाएको छ
जसले मन बाधेर कृत्रिम जिउन सिकाएको छ
म त्यही युग को प्रतिनीधि ।
पुराना समयका धागोहरू बटुल्दै
मन सम्झनाका जालहरू बुन्छ
मन सम्झनाका जालहरूमा अल्झन्छ ।
सम्झनाहरू संगाल्नु यो भ्रम हो,
म त्यही समझनाहरूको प्रतिनीधि,
म त्यही मनहरूको प्रतिनीधि,
जो भ्रम बाचिरहेछ ।
मन
अब त धेरै भयो नडुलेको
लेक बेसी मेला र हाटबजारहरू
धेरै भयो नगाएको चंचल हुदै
रोदीका लैबरी र झ्याउरे भाकाहरू ।
गतेहरू चिनो लाउदा लाउदै चाडवाडका
आँखा क्यालेंडरका पत्रहरूमै अल्झन्छ
जब मानेभंज्यांङमा रोटे पिङ घुम्न थाल्छ
जब सयपत्री मखमली फुल्न थाल्छ ।
जब देउसी भैली र मादलको स्वर पारी गाऊंसम्म सुनिन्छ
उफ़ समय किन यसरी विवश भएको? उडेर मन त्यही जाउँ भन्छ।
जब रोपाई हुन्छ असारे भाका गुन्जन्छ
र नाच्छन दौतरीहरू सोरठी, मारुनी र पुर्सुंगे बनेर
हो ऊ यहीनेर टुक्रन्छ ।
चाडवाड र दौतरीका यादहरू मात्र हैनन
अरु धेरै कुरामा उसको छाती पोल्ने गर्छ ।
जब भोक प्यास र अभाव दुख्छ देशमा
हिमाल दुख्छ, मधेश दुख्छ, राजधानी नजिकै चेपांगको प्रदेश दुख्छ
बाढीपहिरो वा खडेरीजस्तै राजनीति, गृहयुद्ध र तिनका अवशेष दुख्छ ।
महेशपुर सुस्ता र कालापानी दुख्छ ।
उसको छाती पनि बिझाउछ
हो जातीय स्वाभिमान बाँचेको
म त्यही छातीहरूको प्रतिनीधि,
म त्यही छाती बोकेर हिडेको मान्छे,
जहाँ मेरो सिंगो घर मात्र हैन
हिमाल पहाड र तराई पनि अटाएको छ..
भो नसोध खै कहाँ छ तेरो घर ?
भो नसोध खै तेरो देश ?