Responsive Ad Slot

Showing posts with label Musings. Show all posts
Showing posts with label Musings. Show all posts

मृग रमाउने जङ्गल

No comments

Friday

 साथी,


तिमीले प्रत्यक्ष नसोधे पनि मनमनमा धेरै पटक प्रश्न गर्‍यौ होला   कृष्णपक्ष तिमी किन हरायौ ?  कहाँ हरायौ ?  या तिमीलाई के भयो तिमी कहाँ छौ ?  मान्छेका यी भीडहरूमा, कुनै दुर्गम गाउँको अनकन्टार गोरेटाहरू या सहरका असङ्ख्य गल्लीहरू मा , भुलभुलैयाहरूमा तिमी कहाँ अलमलियौ ?   

जसरी तिम्रा अनेकन् अनुत्तरित जिज्ञासाहरू छन् त्यसरी नै मेरा पनि हजारौँ प्रश्नहरू थिए आफैँसँग … आफ्नै अस्तित्व सँग ।  तिमीले मात्र हैन म आफैले  आफूलाई राम्रोसँग बुझ्न पाएको छैन ।  आफ्नै शरीरमा वास गरेको म पात्रलाई चिन्न पाएको छैन ।  यो सँग बसेर नजिक बाट भलाकुसारी गर्न पाएको छैन ।  म त हरेक दिन  आफैले आफ्नो परिचय खोजिरहेको हुन्छु , सोधिरहेको हुन्छु ।   

 हुन त यही धर्तीको कुनै कुनामा छु जहाँ बाँच्दै गर्दा मैले थाहा पाए कि मलाई रङ्गहरूमा जीवन खोज्न मन पर्दो रहेछ ।  मलाई कुची र  कलाको घना जङ्गलमा हराउन मन पर्दो रहेछ ।  मेरो आत्माको वास कथा र कविताहरूको गुनगुनमा भन्दा पनि धेरै पर कुचीका घात र धर्साका आकारहरूको , प्रकाश र  छायाहरूको संसारमा रहेछ ।  मलाई चित्रकलाको यही संसारमा हराउनु जतिको आनन्द अन्त कतै रहेनछ ।    

म यतै कतै रमाइरहेको छु ... रमाइरहेको छु … । 



Next Story: Older Posts Home

कोरोना नाउँको सन्त्रास ..

No comments

Monday

 मौसमले वसन्त बोलाइसकेको छ, धर्तीमा हरियो रङ्ग र सडक छेउका घाँसहरूमाथि गुलाबी रङ्गको सघनता बढ्न थालिसकेको छ । यस्तो बेला इजरायलमा पारिला घाम र पार्कका रमणहरू निकै मिठा हुन्छन् तर यसपालि यो पारिला घाम ताप्न कोही पनि वृद्ध वृद्धा या गृहिणीहरू निस्किएका छैनन् । न त सहरमा फेरिएको रङ्ग र उद्यानमा फक्रिएको प्रकृतिको यौवन नियाल्न मजस्ता प्रकृतिप्रेमीहरु नै बाहिर आएका छन । कारण एउटै छ कोरोनाको सन्त्रास ..।

सन २०२० को आगमनमा हामीले बाँचेको युगले एउटा अस्वाभाविक अनौठो त्रास र पीडा बोकेर आयो । कोरोना नाउँको यो महामारी क्रमशः चीनबाट सुरु भएर युरोप अमेरिका हुँदै पुरै विश्वभर व्याप्त भयो । 



मानव सभ्यतामाथि नै सङ्कट मडारिएको आभास हुन थाल्यो, मान्छेका मनहरू यसरी आक्रान्त बने मानौँ भर्खर टुसा पलाएको बिरुवामाथि तुसारापात भएको छ । उद्योग , प्रविधि र विज्ञानको चरम उच्चतामा चुलिएको मानव सभ्यता यतिखेर प्रकृतिको विनाशकारी भाइरससँग नतमस्तक र निरीह बन्न पुग्यो । 

बाहिर लकडाउन छ सहरमा पुरै सन्नाटा छाएको छ । बाक्लो जनघनत्व भएको यस सहरमा जब जब बिरामी बोकेर दौडने एम्बुलेन्सका चित्कार गुन्जिन्छन् लाग्छ अर्को कोरोनाको बिरामी थपियो तर रेडियो टेलिभिजन र अनलाइनहरुमा चिच्याइ चिच्याइ छाएका मिडियाका आर्तनाद जस्तो भयावह स्थिति भने यहाँ छैन । सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागे पनि मृत्युदर अत्यन्त न्यून रहेको तथ्याङ्कले केही राहत दिन्छ । 

यो घडीमा परदेशमा रहेका हामीजस्ता धेरैको मन अतालिनु अस्वाभाविक होइन यद्यपि लकडाउनको नियम पालना गरी बाह्य सम्पर्कलाई यथाशक्य न्यूनीकरण गर्दा यो व्याधि आफै तपाइको ढोका ढकढकाउन आइपुग्दैन । सुरक्षित रहन सकिने प्रशस्त आधारहरू भएकोले मन बुझाउन सकिएको छ । सोच्छु यस्तो बेला परिवारसँग स्वदेशमै रहन पाएको भए कति जाति हुन्थ्यो होला । 

जसरी समयसँगै घाउहरू पुरिँदै जान्छन त्यसरी नै यो महामारी एक दिन हराउने छ । यस बेला धैर्य गर्नु र सुरक्षित हुने उपाय अवलम्बन गर्नुको विकल्प छैन । नितान्त आवश्यक कार्यबाहेक अनावश्यक रूपमा बाहिर ननिस्कन भनिएको छ । मास्क, पन्जा र सामाजिक दूरी अनिवार्य छन । यो समय अन्य व्यस्तताले गर्दा गर्न नभ्याइएका अपुरा कामहरू गर्ने , साहित्य अध्ययन / लेखन तथा केही सृजनशीलतामा रमाउने यत्न गर्दै छु । 

आखिर समय भन्दा बलवान कोही पनि छैन, यो सङ्कटको सामना गर्ने अस्त्र नै आत्मसंयम, परहेज र धैर्यता हो । विश्वव्यापी रूपमा साहित्य अध्ययन र सृजनशीलता बढेको छ । स्रष्टाहरू अन्तरक्रियाका अनेक स्वरूपमा पाठकहरूसँग साक्षात्कार गरिरहनु भएको छ । भाग दौड र व्यस्तताले गाँज्दै लगेको समयमा यतिखेर अनायास निम्तिएको लकडाउनको यो परिस्थितिले पठन संस्कृतिमा सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ । 

सङ्कटको यो घडी भोली आफैमा एउटा इतिहास बन्नेछ । हाम्रा सन्ततिहरू र आफ्नै मनलाई सुनाउने एउटा कटु स्मृति बन्नेछ । समाचारमा बारम्बार सुन्छु, लकडाउनले गर्दा जागिर गुमाएका र दैनिक ज्यालादारी गर्ने कति मजदुरहरूलाई गाँस वासको अभाव हुन थालेको छ । काठमान्डौँमै कतिपय विद्यार्थी तथा मजदुरहरू रोगले भन्दा भोकले पीडित छन । 

आफूलाई चिन्ने अवसर भनेकै सङ्कटका घडीहरू हुन , नत्र मान्छेले अरुबेला कहाँ फर्केर हेर्छ र आफ्नो मनलाई ? आत्मालाई ? यस्तै बेला हो उ आफूसँग नजिक हुने र आत्माका आवाजहरू सुन्ने । 

इजरायलबाट फर्केका सामाजिक अभियन्ता मित्र नवराज आचार्यले काठमाडौँका गरीब मजदुरहरूलाई राहत वितरणमा हात बाँडिरहनु भएको छ, केही सहायता गर्छु । भोली आफ्नै आत्माले प्रश्न गर्दा उत्तर दिन सकिने खुसी, सन्तुष्टि र आत्म गौरवको आधार भनेको यही नै त हो । अलिकति भए पनि कसैको आँसु पुछ्न सकियोस् कसैको चर्किएको घाउमा अलिकति मलहम लगाउन सकियोस् र मानव हुनुको कर्तव्य अलिकति भए पनि निभाउन सकियोस् । 

सर्वे भवन्तु सुखिन : ।

Next Story: Older Posts Home

बाइ बाइ साइप्रस

No comments

Saturday

यो रंगीन शहर आइया नापामा कतिखेर निदायौं, कतिखेर रात बित्यो पत्तै भएन । मध्यरात नै किन नहोस भनेको जुनसुकै समयमा हामीलाई आवश्यक स्थानहरूमा पुर्याइदिएर करण भैयाले ठुलो गुन लगाए । नत्र यो शहरमा घुम्न कति असहज हुँदो हो । हामीसँग आज दुई जना बहिनीहरू हुनुहुन्थ्यो । बिहान खानपिन गरेर बहिनीहरूलाई पर्खियौं, करणले उनीहरुलाई लिएर आए । उनीहरू आएपछि यो विरानो ठाउँमा पाएको यति न्यानो आत्मीयता र सत्कारका लागि हार्दिक धन्यवाद दिदै राजु र रोशन भाइसँग बिदावारी भयौं । आज हामी आइया नापा छोडेर प्रोटारसको डाँडा घुम्न जाने भयौं ।




हामी प्रोटारसको अग्लो भ्यु प्वाइन्टमा पुग्यौं । केप ग्रेको राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने यो क्षेत्रमा वस्ती थिएन तर वरिपरिका डांडाकाँडा समुद्र र आकासको सुन्दर दृश्यहरू हेर्ने स्थान बनाइएको थियो । कुरा गर्दै जाँदा थाहा भयो आज हाम्रो साथी हुनु भएका दुईजना बहिनीहरु जानु रुम्बा र नानु गोम्जा त मेरो गृहजिल्ला धादिङ्गकै पो हुनुहुदोरहेछ । हामीलाई असाध्य खुसी लाग्यो । उहांहरूसँग पहिले पनि सामाजिक संजालमा कुरा भएको थियो । यो भेटले अझ धेरै नजिक भएको आभास दिलायो । आइया नपाबाट करीब आधा घन्टाको दुरीमा अवस्थित थियो यो ठाउँ जहाँबाट हामीले समुद्रको मनमोहक दृश्य र प्राकृतिक सौन्दर्य नियाल्यौं ।

अलिकति उचाईमा रहेको यो स्थानमा कतै चट्टानी ढिस्को थिए त कतै विशेष प्रकारका रुखहरु र बोट बनस्पतिहरु थिए । डाँडामाथि पुगेपछि यहाँ बाट धेरै परसम्म निकै सुन्दर दृश्यावोकन गर्न सकिन्थ्यो । प्रचण्ड गर्मीमा पनि त्यहाँ चलिरहने सिर्सिरे बतास र अत्यन्त रमाइला स्वभावका बहिनीहरूको आत्मीयताले हामीलाई यो ठाउँ कहिले छोडेर जान नपरे हुन्थ्यो जस्तै रमाइलो भइरह्यो । हो, हामी थियौं पृथ्वीको यो विल्कुल बेग्लै भूगोल, बेग्लै परिवेश र नितान्त नौलो ठाउँमा तर कतैपनि त्यस्तो नौलो र एक्लो महसुस गर्नु परेन ।

त्यहाँ पाइने धुपी सल्लाजस्तै रुख देख्दा मैले मेरो देशका डाँडाकाँडा र पहाडहरु सम्झिएँ, नांगी र हरिया चौरहरू सम्झिएँ ।

प्रोटारसको आकाशको क्षितिजसम्म फैलिएको समुद्रको सुन्दरता तुलना गर्ने अरु कुनै ठाउँ थिएन । प्रकृतिको यो मादकता, यो सौन्दर्यता अतुलनीय थियो, शव्दमा अवर्णनीय थियो ।



छोटो जिन्दगीको पनि अति छोटो भेट । आखिर हामीले साइप्रसको घुमघामलाई यतिकैमा बिट मार्नु थियो । हाम्रो बिदाइको लागि बहिनीहरू एअरपोर्टसम्म आउनु भयो, करण भैयाप्रति पनि उस्तै आभारी रह्यौं । छुट्टी नहुँदा नहुँदै पनि यी सबै बन्दोबस्त मिलाएर हरेक पल सम्पर्कमा हुनुभएकी प्यारी दिदी जसु पुनप्रति उस्तै कृतज्ञ थियौं । बहिनीहरूको यो मिठो साथ् र आत्मीयतालाई सम्झनामा सधैं सधैं राखेर हामीले बिदाइका हात हल्लायौं ।

यो धर्ती, आकाश, यहाँको प्रकृति र समस्त अवयवहरू सुन्दर छन तर यो संसार अँझ धेरै सुन्दर भएको असल मनहरूले गर्दा हो, असल मानिसहरूको प्रेम र आत्मियताले गर्दा हो ।

लहरहरू किनार फर्किएजस्तै हामी फर्कियौं फेरि आफ्नै कर्मक्षेत्र – इजरायल । इजरायलको राष्ट्रिय ध्वजाबाहक विमानमा चढ्दा साँझको सात बजिसकेको छ, अब अन्तिम पटक यो भूमिसँग हामीले बिदा माग्यौं । बत्तीहरूको प्रकाशले रंगीन हुदै गरेको साइप्रसतिर हेरेर भनें – ‘आन्दियो साइप्रस’ ।

यतिखेर लार्नाका विमानस्थलमा साँझ पर्न लागेको छ र सूर्यले पनि पश्चिमतिर फर्किएर त्यसरी नै हामीसँग बिदा मागिरहेको छ ।

मलाई किन यस्तो लागिरहेछ फर्किएर गएपनि यी समुद्र र आकाशका गाढा नीला रंगहरूमा म अलिकति कतै छुटेको हुनेछु । बगर चुम्दै भागिरहने यी चंचल छालहरूमा या प्रतिक्षाका यी किनारहरूमा सम्झना बनेर म कतै अल्झिएको हुनेछु ।

कृष्णपक्षको यो ब्लगबाट साभार गरिएको पुरा लेख पढ्न यहाँ जानुहोस् 
Next Story: Older Posts Home

आइया नापाको तरंग

No comments
अर्को मनोहर शहरमा आइपुगेका छौँ। लारनाकाको पुरानो बन्दरगाह हो यो, लारनाका मरिना । सडकको नाम एन्थियन स्ट्रीट, दायाँ छेउमा लारनाका महानगरपालिकाको ग्यालरी भवन छ, बायाँतर्फ अगाडि छाएको छ नीलो समुद्रको उस्तै विशाल फैलावट पर पर क्षितिजसम्म ।

करणले हामीलाई लिन आउनुपूर्व ठिक यहाँनेर बस्नु भनेर कम्तीमा पाँचपटक फोन गरे, हामीले उनलाई म्याकडोनाल्डमा पर्खियौँ । पिज्जा हट, केएफसी, म्याकडोनल्ड जस्ता बहुराष्ट्रिय फास्टफुडका आउटलेटहरू लगायत सैयौँको संख्यामा रेस्टुराँ र बारहरू, होटल र क्लबहरू पर्यटकको सेवा गर्न तयार भएर लहरै उभिएझैँ प्रतित हुन्थ्यो । हिन्दी गीतको तालमा लार्नाका घुम्दै हामी पारालिम्नीतिर लाग्यौँ ।

साइप्रस र इजरायलमा धेरै कुराहरूमा समानता थिए । समय, प्रकृति,मौसम र वातावरण अनि अधिकांश नेपालीले गर्ने कामको प्रकृति । हुन त हामी नेपाली संसारको जुनसुकै कुनामा पुगेका किन नहोऔँ ? हाम्रा आँसु, हाँसो र सुखदुखहरू उस्तै उस्तै हुन । बिदाको बेला भेटघाट र घुमघाम गर्ने, चाडपर्व मनाउने, नेपाली खानेकुरा बनाएर खाने शैली लगभग हरेक प्रवासमा उस्तै हो ।



पारालिम्नी जसु दिदीकोमा पुग्दा दिन क्रमश: ढल्कँदै थियो । उहाँसँगको छोटो भेटघाट र भलाकुसारी निकै अविष्मरणीय भयो । इजरायल र साइप्रसमा हामीले गरेका संघर्ष र अनुभवहरू साटासाट भए, आत्मियताका मिठा भावनाहरू शेयर गर्यौँ र समयले साथ दिए फेरि फेरि भेट्ने वाचासहित हामी बिदा भयौँ ।

साइप्रसको दक्षिणपूर्वी भागमा अवस्थित यो ठाउँ विशेषगरी १९७४मा भएको टुर्किस्तानको हमलापश्चात यसको आकार, अवस्था र आवादीमा बृद्दि भएको हो । उत्तरबाट विस्थापित भएका शरणार्थीहरू लगायत पर्यटकीय नगर आइया नापा र प्रोटारसमा व्यवसाय, रोजगार गर्ने मानिसहरूले गर्दा यो क्षेत्रको आवादी बढ्दै गएको मान्न सकिन्छ । पारालिम्निबाट आइया नापा जाने एउटा सडकको नाम अप्रिल फस्ट थियो । कसले कुन कारणबाट यो नाम रहन गयो थाहा छैन तर मलाई यसको याद पछिसम्म आइरह्यो ।

अप्रिल फस्ट नाम गरेको सडकको बीचमा पेट्रोल पम्पनिर चौबाटोमा पुगेपछि एकैछिनमा बहिनीहरू शर्मिला र कविता आउनु भयो । चितवनका यी बहिनीहरूसँग फेसबुकमा मात्र परीचय भएको थियो । उहाँहरूको छुट्टिरहेछ, धेरै खुसी लाग्यो । त्यसपछि हामी आइया नापाको फनपार्क पुग्यौँ । रमाइला मनोरन्जनात्मक खेलकुदहरू, आकाशे रोटेपिंगहरू चलिरहेका थिए । आइया नापामा साँझ पर्दा नपर्दै झिलिमिलि शुरु भइसकेको थियो । शनिवारीय रात्री क्लब र पार्टीहरूको तयारी भव्यतासँग भइरहेको थियो । आगन्तुकहरूको घुइचो थियो यो शहरमा ।

अहिले पर्यटकीय सिजन शुरु भएको छ, यहाँ आएपछि थाहा भयो साइप्रसको आइया नापा तन्नेरी पुस्ताको खास गन्तव्य रहेछ ।

घुम्दै अब हामी समुद्रको छेउमै पुग्यौँ । साँझको समुद्री चिसो बतास चलिरहेको थियो । समुद्रको बीचमै पुगेर यसका चञ्चल लहरहरूको स्पर्श गर्नेगरी काठको पुल भनौं या बाटो बनाइएको रहेछ, हामी त्यही बाटो हुँदै लहरसम्म पुग्यौँ ।

भूपरिवेष्ठित राष्ट्रका हामीलाई यी अनुभूतिहरू असाध्य प्रिय र स्वर्णीम भए । दिनभरिको भ्रमणले शरीर क्लान्त थियो यद्यपि आइया नापाको झिलिमिलि प्रकाश र उत्सव मनाउन तम्तयार शहरमा पुगेपछि हामीमा मिठो स्फूर्ति छाइसकेको थियो ।

पोर्ट गरिएका जहाजहरू हेर्दै हामी आइया नापा बन्दरगाहको किनारै किनार गयौँ । एकै छिनमा अर्का दुई नेपाली बहिनीहरू रुबी र शान्ति पनि आउनुभयो । श्रीसूर्य ओझेल परिसकेका थिए, साँझको आचलले घरतिमा घुम्टो ओढाइसकेको थियो ।

समुद्रको छालहरूको संगीत र क्लबमा बज्ने जोशिला धूनहरूको फ्युजनले आइया नापा गुञ्जायमान थियो । हामी त्यसबेलासम्म छ जना भैसकेका थियौं । अब पालैपालो एकअर्काको परिचय गर्ने क्रम फेरि शुरु भयो । हामीले परिचय दियौं – म कृष्ण थापा, घर धादिङ्ग । म गोरी शेर्पा, घर दोलखा । चितवनका बहिनीहरू शर्मिला र कवितासँग त हामीले परालिम्नीमै परिचय गरिसकेका थियौं र यहाँसम्म हामीसँगै आएका थियौं र समुद्र्लाई पृष्ठभूमि पारेर केही सेल्फी र तस्विरहरू पनि लिइसकेका थियौं ।

त्यसपछि परिचयको हात अघि बढाउदै अर्की बहिनीले भनिन – ‘मेरो नाम रुबी थापा, म पनि पारालिम्नीकै हो’ उनले अघिदेखि लजाएर बसिरहेकी अर्की सानी बहिनी तर्फ इशारा गर्दै भनिन – यसको नाम चाहि रोशनी तर हामी ‘डल्ली डन’ भन्छौं । अलि कम बोल्छिन तर बोल्न थालेपछि धेरै रमाइलो कुरा गर्छिन । साचै नै केही समय घुलमिल भएपछि रोशनीले अरुभन्दा धेरै रमाइला पिसहरू सुनाएर सबैलाई हसाइन ।



आइया नापाको बाटोघाटो, चोक र समुद्रका किनार .. सबै सबै अनुपम सौन्दर्यले भरिएका थिए मानौं मान्छेको कल्पनाको स्वर्ग भनेको यस्तै यस्तै मनोहर ठाउँ हुन्छ । घुम्दा घुम्दै हामी कालो रंगको जहाज छेउ आइपुग्यौं । हलिवुड फिक्सन शृंखला ‘पाइरेट्स अफ क्यारेबियन’ को यो जहाज देख्दा एकपटक त लाग्यो मानौं म काल्पनिक संसारमा विचरन गरिरहेछु । तर यो कथाभित्र नभएर हाम्रोसामु प्रत्यक्ष थियो । हलिवुडको काल्पनिक ब्ल्याक पर्ल क्यारेबियन सागरमा तैरन्थ्यो भने साइप्रसको ‘ब्ल्याक पर्ल’ आइया नापा वरिपरि भूमध्यसागरमा ।

कति क्लब र पार्टीहरू संचालित थिए आइया नापामा तिनको कुनै हिसाब थिएन । साइप्रसको यात्रा आरम्भ गर्नुपूर्व जब म इजरायलमा थिएँ, त्यसबेला आइया नापा जाने कल्पना गर्ने बितिकै मैले ‘आइ लभ आइया नापा’ लेखिएको ढुंगे अक्षरको मूर्ति र यसमा खिचिएका अनेक तस्विरहरू इन्टरनेटमा देखेको थिएँ र यतिखेर हामी ठिक त्यही स्थानमा आइपुगेका थियौं ।

त्यसपछि हामी बेस्ट बाइ सुपरमार्केट र के एफ सी हुदै आइ लभ यु लेखिएको मूर्ति भएको उद्यानमा पुग्यौं । आइया नापाको मुख्य बजार भएकोले यहाँ मानिसहरूको भीड थियो । तस्वीर लिनेहरू पालैपालो लाइनमा बसेको देख्न सकिन्थ्यो । मूर्तिको पछाडि सुन्दर पानीको फोहोरा र त्यहाँ विभिन्न देशका कलाकारले कुँदेको मूर्तिहरू राखिएको विशाल स्कल्पचर गार्डेन देख सकिन्थ्यो ।

ओल्ड हार्बरबाट त्यहाँसम्म आइपुग्न फस्ट अक्टुबर र आर्कीपेस्कोपो माकारियो स्ट्रीटको बाटो हुदै हिडेको सम्झिएँ । अयानापा स्क्वायरतिर जादै गर्दा एक सानो चौरमा हामीले डेरा जमायों । हामी बसेको ठाउँ ठिक पछाडि एक पुरानो यतिहासिक ‘आइया नापा क्याथेड्रल’ थियो । स्ट्रीट लाइटको मधुरो प्रकाश छरिएको यो चौरमा बसेर खाँदै गर्दा मैले ती कलेजका दिनहरू ताजा भए । मानौं हामी क्लास बंक गरेर खान घुम्न र रमाउन निस्किएका साथीहरू हौँ ।

यस अपूर्व भेटघाटमा हामीले जसु दिदीलाई धेरै मिस गर्यौं । यहाँ अरु पनि नेपालीहरू कार्यरत रहेको कुरा थाहा भयो । जसु दिदीले मलाई राजु भाइको नम्बर दिनु भएको थियो । राजु तामाङ्ग, घर नुवाकोट, हामी त नजिकैका छिमेकी जिल्लाका बासिन्दा पो रहेछौं । उहाँहरूको ड्युटी सकिएपछि अर्को एकजना नेपाली साथी सहित हामीसँग आउनु भयो । रात बढ्दै गएपछि आइया नापा स्क्वायर सिंगो क्लबमा रुपान्तरित भएजस्तो पुरै डिस्कोमय हुदोरहेछ । चारैतिर गुञ्जिरहेको संगीतले एक अर्काको आवाजहरू सुनिन छाडेको थियो ।

राजु भाइको अपार्टमा पुग्दा मध्यरात भैसकेको थियो । त्यसपछि फेरि अर्का भाइसँग भेट भयो । रोशन मानन्धर घर काठमाण्डौँ । यी हसिला भाइ बहिनीहरूसँग रमाइला गफ गर्दै मध्यरात भैसकेको पत्तै भएन । साइप्रस भ्रमण मध्यकै विशेष र रमाइलो भयो त्यो साँझ । हामी सबैले आ आफ्ना अनुभवहरू सुनायौं । कसैले जोक्स भनेर पेट मिची मिची हँसाए, कसैले गीत सुनाए … । भूमध्यसागर र शहर उस्तै चम्किरहेका थिए, मिठो उमंग र उल्लास थियो धर्तीमा, शान्त भन्नु केवल आकाश मात्र थियो ।

आइया नापाको ओल्ड हार्बर, जहाजहरु अनि समुन्द्र र यसका छालहरुलाई हामीले त्यही किनारमै छोडेर त आयौं, तर एउटा मिठो छाल, एउटा मिठो तरंग मानौं किनार छोडेर मनमा आएर बसेको छ । शायद त्यही तरंग हो यो संस्मरण, जो छालजस्तै बेला बेला छल्किरहन्छ ।

कृष्णपक्षको यो ब्लगबाट साभार गरिएको पुरा लेख पढ्न यहाँ जानुहोस् 
Next Story: Older Posts Home

हनी पफ

No comments
यहाँ प्रत्येक पलहरू मूल्यवान थिए । सुन्दर नगरी लिमासोलको शहर, गल्ली र चोकहरू, सामुद्रिक तटहरू यहाँ आउने पर्यटकजस्तै चन्चल र चलायमान थिए ।

आक्रोटिरी तटको नजिक लारनाका र पाफोस शहरको बीचमा अवस्थित तथा ट्रोडोस पहाडको काखमा रहेको लिमासोल व्यापारिक र पर्यटकीय नगर हो । साइप्रसको यस प्रमुख बन्दरगाह भएर ग्रीस इजरायल र लेवनानका लागि जहाजहरू छुटिरहेका थिए … । टोलटोल र शहरदेखि शहरसम्म सिटी बसहरू चलिरहेका थिए । आएको दिन साँझ, हिजो सिंगो दिन र आज गरेर हामीले पनि एकै पल खेर नफाली मरिना र लिमासोल वरपरका मुख्य मुख्य स्थानहरू पुरै घुमिसकेका थियौँ ।

..समय जसरी बगिरहेका थिए बतासहरू ।



क्षितिज भेटुँलाझैँ रफ्तारमा हुइँकिदै कुद्ने मोटरबोटहरू, समुद्रलाई स्वीमिङ पुल बनाएर पौडने युवायुवतीहरू तथा किनारमा पल्टिएर यसको अनुपम सौन्दर्य नियाल्ने कामुक देहभएका यौवनाहरूको लश्कर बोकेर सागर आफै कामुकताको उच्चतम गतिमा तरंगित भइरहेको थियो।

सबैले भन्थे, साइप्रस आइसकेपछि रोमाञ्चक शहर आया नपा नगई कहाँ हुन्छ ? हामीलाई अब आया नपा जानु थियो । विहानै निकोसिया गएर फर्केपछि साँझ आया नपा जाने कि भन्ने पनि सोच्यौँ तर निकोसिया धेरै नै गर्मी भएको र अलिक हतार हुने भएकोले यो विचार त्यागिदियौँ ।

बुकिंग डट कममा केही होटल र अपार्टमेन्टहरू हेरेँ तर भनेजस्तो भेटिएन । प्राय पहिले नै बुक भइसकेका हुँदा रहेछन, हामीलाई ठूलो र फराकिलो किचनसहितको अपार्टमेन्ट लिनु थियो, भेटिएका कुनै चित्त बुझेन । मैले जसु दिदीलाई भनेँ, उहाँले सबै व्यवस्था मिलाइदिनु भयो र भन्नुभयो – ट्याक्सी नचढ्नु, लारनाकासम्म सिटी बसमा आउनु र लारनाका आएपछि मलाई कल गर्नु म करणलाई लिन पठाउँला । आवास र सवारीको बन्दोवस्त भएपछि हामी ढुक्क भयौँ ।

आजको साँझ हामी आया नापा पुग्नेछौँ तर त्यसबेलासम्म हामीले आजपनि लिमासोल नै घुम्ने भयौँ । हामीलाई सधैँ साथ दिएर एक्लो महसुस हुन कहिल्यै नदिने साथी परमेश्वरजीलाई फोन गरेर अबको यात्राका बारेमा भन्यौँ । उहाँ छुट्टी मिलाएर एकछिन आउनुभयो । लिमासोलमा उहाँले हामीलाई आत्मीय साथ र सत्कार गर्नुभएको थियो, फेरि फेरि आउने अनुरोध र वाचाहरू साटासाट भए ।

हामीसँग एक घन्टाको लागि मोटरबोट किनेर समुद्रमा हुँइकिनु,प्रस्तरप्रतिमा बगैचाको ‘डाइनोसर्स एग’ मा बसेर फोटो खिच्नु, किनारै किनार निकै तल गइ पल्टिनु, बालुवाका ताता बगरहरूमा हिड्नु र समुद्रका छालहरूसँग जिस्किनु … हावामा पंख फैलाएर उड्नु र सेल्फी लिनु .. यी सबै कामहरू हामीले लारनाका प्रस्थान गर्नुपूर्व गर्नु थियो ।

फेसबुकमा परिचित एकजना बहिनी भावनाले कल गर्नुभयो, मलाई थाहा थिएन उहाँ साइप्रसमा हुनुहुँदोरहेछ । रेविका र ध्रुवलाई पनि मेसेज गरेँ, भेट्न नपाएको दुखेसो मनमै रह्यो । आज लारनाका र त्यसपछि आया नपा जाने कार्यक्रम रहेको बताएँ ।

मलाई थाहा थियो कुनै समय साइप्रसमा अंग्रेज शासन थियो तर साइप्रसको बफर जोनमा वेलायती सैनिक सेवामा हुनुभएका नेपालीहरू अहिले पनि यहाँ कार्यरत रहेछन ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसका अध्यक्ष सुवासजीलाई पनि मेसेज गरेँ । निकोसिया आउन नपाउने भयौँ, अलि लामो छुटीमा कुनैबेला विस्तारमा घुम्नेगरी आउँला भन्ने कामना गरियो ।

सिटी बसको प्रतिक्षा गर्नुपूर्व हामी लिमासोलमै रहेको आया नपा नाम गरेको गिर्जाघर अवलोकन गर्यौँ जुन प्रतिक्षालयको ठिक पछाडि थियो । अन्तिम पटक हामी ज्ञानु दिदीकोमा गयैाँ । भान्जी र हामीलाई सधैँ मिठो मुस्कानसहित खाना पस्कने रोमानी सेविकासँग जहाँ पुगेपनि कहिल्यै नबिर्सने वाचा मनमै राखेर बिदाइका हात हल्लायौँ ।

जिन्दगी एक यात्रा हो, अर्को शहरको यात्रा शुरु गर्नु पहिले हामीले प्रतिक्षालयमा हामीजस्तै फिरन्ते तथा स्थानीयहरू भेट्यौँ । इन्टर सिटी बस शान्त र सफा थियो । साँझ पर्नु अघि नै लारनाका पुग्नेगरी जिन्दगीको अर्को रमाइलो यात्रा शुरु गर्यौँ ।

लारनाका बस स्टेशन पनि समुद्रको किनार नजिकै थियो । छेउमै लारनाका नगरपालिका ग्यालरी भवन, मध्ययुगीन दरबार तथा सेन्ट लोजारसका चर्जहरू पैदल पुगिने दुरीमा थिए । सामुद्रिक व्यापार र पर्यटकीय आगमनले भव्य चम्किएको लारनाकामा पनि होटल, रिसोर्ट र रेस्टुरेन्टहरूकै प्रधानता थियो । अगाडि समुद्रको विशाल फैलावट थियो र दृष्यमा सजीव थिए दूर दुरसम्म देखिएका पानी जहाजहरू … ।

साइप्रसमा एक विशेष परिकार लोकप्रिय छ – हनी पफ । स्टेसनको छेवैमा रहेको मिठाई पसलेले हामीलाई हनीपफ खाउँ भन्यो । यो मिठो परिकारमात्र नभई ईशा पूर्व करीब ८०० वर्षपहिले खेलिने प्राचीन कालको ओलम्पिक खेलसँग पनि यसको इतिहास जोडिएको रहेछ ।
हरेक चार वर्षमा हुने ओलम्पिक यसपाली ब्राजीलको रियो दि जेनेरियोमा धुमघामका साथ खेलिदैछ, म ‘हनीपफ’को बारेमा जान्न कौतुहल भएँ । राम्रो अंग्रेजी बोल्ने यो पसलेले भन्यो – यो ग्रिक सभ्यतासँग सम्बन्धित छ । प्राचीन ओलम्पियामा विजयी खेलाडीहरूलाई जैतुनको मसिना हाँगाबाट बनाइएको ताज पहिराइन्थ्यो र सगुनस्वरुप महमा डुबाइएको मिठो परिकार ‘हनी पफ’ खुवाइन्थ्यो ।

हेर्दा नेवारी परिकार गोलमरी जस्तै जस्तै देखिने साइप्रसको लोकप्रिय परिकार हनीपफ खाँदै अब केही बेरमै रोमान्टिक शहर आया नापा पुगिने उत्सुकताले हामी रमायौँ । हामीलाई लिन आया नपाबाट करण भैया आइरहेका थिए ।

पन्जाबी गानाको तालमा लारनाकाको कुनाकुना घुमाउदै करणले हामीलाई आया नपा लिएर गए । जसु दिदीको छुट्टी थिएन, दिदीलाई भेट्न हामी उहाँकै गाउँ पारालिम्नी पुग्यौँ । दिदी उस्तै हुनुहुन्थ्यो, इजरायलमा छँदा उहाँले लेख्नुभएका कविताहरू झल्झली याद आए । प्राचीन ओलम्पिक खेलमा खुवाइने इतिहास बोकेको परिकार ‘हनीपफ’ खाएर फेरि एकपटक मुख मिठो बनायौँ । दिदीसंगको आत्मीयता हनीपफ जस्तै मिठो भयो ।

साइप्रस यात्रामा भएको यो हाम्रो भेट सधैं सधैंको लागि अविष्मरणीय र जीवनभरिको लागि यादगार बन्यो । हाम्रा मनका पानाहरूमा यी पलहरू यस्तरी कोरिए कि जुन कहिले मेटिने छैनन्, सधैं सधैं रहनेछन स्मृतिका डोबहरू बनेर … ।

कृष्णपक्षको यो ब्लगबाट साभार गरिएको पुरा लेख पढ्न यहाँ जानुहोस् 

Next Story: Older Posts Home

संसारकै पुरानो वाइनको कथा

No comments

Thursday

समर सिजन … टुरिष्टहरूको सिजन हो, हिउँदमा त यहाँ लगभग पुरै सुनसान हुन्छ । अहिले सडक पार्क, समुद्रको किनार र शहरका हरेक गल्ली र चोक पर्यटकीय चहलपहलले भरिभराउ छ । बिहानै समाचार पढें – साइप्रसमा अगिल्लो एक महिनामात्र साढे चार लाख पर्यटकहरू भित्रिसकेका रहेछन ।

नीलो सागरको काखमा सगर र सागरको संगम हेरेर किनारै किनार हात समाएर साँझको सिर्सिरे बताससँगै बतासिएर हामी यसरी सँगसँगै हिड्यौं मानौं हामी वर्षौंदेखिका प्रेमी प्रेमिका हौँ ।

सबै मानिसहरूसँग आ आफ्नै जिन्दगीका कथाहरू छन । हजारौं हजार सपनाका लिस्टहरू छन, फेरहिस्तहरू छन, हामीले साइप्रसमा केही इन्डियन, केही नेपाली विद्यार्थी र होटलका कामदारहरू भेट्यौं, केहीसँग पार्कमासँगै फोटो पनि खिच्यौं । त्यसमध्ये एकजना नेपाली भाइ भर्खर एक महिना अगिमात्र कुकिङ भिषामा साइप्रस आएका रहेछन । उनीहरूका आगमनका प्रसंगहरू रोचक थिए, सुन्यौं, जसरी हाम्रा पनि थिए, सुनायौं ।

जिन्दगी जिउँदै जाँदा, यात्राहरू हिड्दै जाँदा अवश्य हामीले बिताएका यी पलहरू भोलि स्मृतिका पानामा कोरिएका सुन्दर छापहरू हुनेछन ।

यो अन्जान शहर, अन्जान ठाउँ .. एकै पलका लागि हामीले दुखहरू बिर्सियौं र हरायौँ आफैलाई । यात्राको यो पक्ष अझ मिठो र स्मरणीय यसकारण रह्यो कि इजरायलदेखि मसँगै घुम्न आएकी साथी मेरा हरेक योजनाहरू अत्यन्त उत्साहपूर्वक कुनै अप्ठेरो र अल्छी नमानी, कुनै विशेष र पृथक आग्रहबिना रमाइरहेकी थिइन । यो गर्मीको थकान र पसिनाको वास्तै नगरी हाँसी हाँसी संजोगले सँगसँगै जुरेको यो ट्राभल प्लान फलो गरिरहेकी थिइन् ।
वाइन टेस्ट गर्दै : साइप्रस म्युजियम


नीलो सागरको काखमा सगर र सागरको संगम हेरेर किनारै किनार हात समाएर साँझको सिर्सिरे बताससँगै बतासिएर हामी यसरी सँगसँगै हिड्यौं मानौं हामी वर्षौंदेखिका प्रेमी प्रेमिका हौँ ।

यस्तो यात्रा त कुनै पनि प्रेमी मनको रहर हुन्छ, सपना हुन्छ तर हाम्रो एक मिठो संयोगमात्र थियो । त्यसैले त साँझ बगेर आउने बताससँगै हामीले हाम्रा मनहरू बतासिन दिएनौं । आआफ्ना पृष्ठभूमि र धरातलमा टेकेर हाम्रा पदचापहरू बढाइरहेका थियौं ।

हामी आफ्नो जन्मथलो र कर्मथलो दुवैभन्दा निकै पर घुम्न निस्किएका थियौं र एकएक पलको मूल्य निकै महँगो थियो हाम्रा लागि । यी सबै कथाव्यथाहरू आरामले सुन्ने र पार्कमा दिनभर फोटो खिच्दै बस्ने फुर्सद त कहाँ थियो र हामीलाई ?

छोटो समय भ्रमणमै यति व्यस्त भयौं कि हामीले क्यामेरा समेत बोक्न छोडी दियौं । पहिलोदिन अलिकति बोक्यौं त्यसपछि झन्झटिलो र टाइम कन्ज्युमिंग लाग्यो । अलिअलि फोटो लिने काम मोबाइलले नै गरिहाल्थ्यो । मिलाई मिलाई व्यवसायिक क्यामेराले फोटो लिनेगरी हामीसँग समय पनि थिएन र धैर्यता पनि ।

हात लामै भएपनि सेल्फी स्टिकबाट सेल्फी लिनुको मजा अर्कै हुन्छ । भाइबरमा हाम्रो युरोप टुर भन्ने समुह छ, त्यहाँ स्वीजरल्याण्ड पुगेका साथीहरूका तस्वीर र भिडियो अपडेट भएका छन । हेरेपछि फेरि सम्झिएँ – ला, सेल्फी स्टिक लिन त भुसुक्कै बिर्सिएछ ।

जमाना सेल्फीको छ । बरु, समुद्रलाई पृष्ठभूमिमा पारेर मलाई आकाशमा उडेजसरी कुनै अग्लो ठाउँमा पुगेर सेल्फी लिन मन लागेको छ । सँगैकी साथी भन्दै थिइन् – अनेक गरेर सेल्फी लिंदा धेरै दुर्घटनाहरू भएका छन । यहाँबाट सेल्फी लिंदा कस्तो देखिएला भन्दै सडक वारपार गर्ने अग्लो पुलमाथि उक्लदै गर्दा चितवनमा हात्तीसँग फोटो खिच्न खोज्दा दुर्घटनामा परेका युवकको नमिठो समाचार सम्झिएँ तर भर्खरै साइप्रसको बजारमा १२ युरो खर्चेर किनेको नयाँ सेल्फी स्टिक हातमा परेपछि मैले यो घटना तुरुन्तै बिर्सिएँ पनि ।

पुरानो बन्दरगाह या लिमासोल गढदेखि १५ मिनेटको दुरीमा कोलोसी गढ आइपुग्छ । यो गढले पनि मध्ययुगीन कालखण्डको उल्लेखनीय इतिहास बोकेको छ । मरीनाको पश्चिमतिर अवस्थित यो गढ पर्यटकीय र इतिहासका शोधकर्ता / विद्यार्थीहरूका लागि पनि महत्वपूर्ण स्थलको रुपमा रहेको छ । कोलोसी गढ पनि विभिन्न समयमा धार्मिक विद्यार्थी र पादरीहरू बीच वैमनस्य भई पटक पटक ध्वस्त र पुनर्निर्माण भएको इतिहास रहेछ ।

लिमासोल शहर देखि नौ माइल पश्चिम साइप्रसको यो ऐतिहासिक स्थल आइपुग्दा मनमा यो प्रश्न आइरह्यो कि हाम्रो देशमा पनि यस्ता ऐतिहासिक धरोहर, पर्यटकीय मनोरम स्थल र अग्ला अग्ला हिमाल र सुन्दर पर्यटकीय स्थलहरू कति छन् कति । तर किन हामीले उल्लेख्य पर्यटकहरू भित्र्याउन नसकेका हौंला ?

जब प्रीतिभोजमा उपस्थित पाहुनाहरू मदिरापान्ले मुग्ध भए, राजा रिचार्ड प्रथमले साइप्रसको कोलोसीबाट आयातित वाइनतर्फ इशारा गर्दै भने – ‘ वाइन अफ किंग्स एण्ड किङ्ग अफ वाइन्स’ (वाइनहरूको राजा र राजाहरूको वाइन ) …।

साइप्रसको रातो अंगुरबाट उत्पादन भएको ‘कमाण्डरिया’ ब्राण्डको वाइन संसारकै सबैभन्दा पुरानो वाइन हो । हामी यतिबेला यही वाइनको उत्पादन शुरु भएको ऐतिहासिक स्थानमा आइपुगेका थियौं, बाह्रौं शताब्दीमा ‘कमाण्डरिया’ नामले उत्पादित यो पुरानो वाइन आज पनि निरन्तर सोही नामबाट उत्पादन र बिक्री हुदै आइरहेको छ । वाइन मात्र हैन चिनी तथा अरु खाद्यान्नका मिलहरूका लागि पनि कोलोसी प्रख्यात रहेछ ।

प्रत्येक दरबार र पौराणिक महलहरू राजभवनहरूमा कथा र किम्वदन्तीहरू जोडिएका हुन्छन । ती वास्तवमै सुन्दर र रोचक हुन्छन, रमणिय हुन्छन । कोलोसीको प्रांगणमा आइपुग्दा गर्मीले सेक्न थालेको छ, तर हामीलाई अँझ असिनपसिन हुदै घुम्न रहर पुगेकै छैन । प्रत्येक भत्किएका खण्डहरहरूसँग जोडिएका रोचक इतिहासहरू खोतल्न पुगेकै छैन ।

कोलोसी गढ पनि साइप्रस र विश्व साहित्यका अनेकौं ग्रन्थहरूमा उल्लेखित भएको रहेछ । ‘ला मिलिसिया दि डायस’, ‘स्नो वेस्टेड’. वा बेलायति उपन्यासहरू रेस अफ स्कर्पियन्स, दि हाउस अफ निकोलो, इन सर्च अफ एक्सपेरियन्स, अथवा स्टेवार्ट वीन्सको ‘लायनहार्ट’ जस्ता पुस्तक ग्रन्थहरूमा कोलोसीको सेरोफेरो कोरिएको छ ।

तेह्रौं शताव्दीतिर यहाँ प्रशस्त मात्रामा चिनी उत्पादन र निर्यात गरिन्थ्यो । लिमासोलबाट सिधै ग्रीस र जेरुसेलम तथा युरोपसम्म व्यापार फैलिएको थियो । कोलोसी वरपरका क्षेत्र र एपिस्कोपीमा विशाल उखुखेती र चिनीमिलहरू स्थापित भए । सेन्ट जोनको पालामा उत्पादन थालिएको रातो अंगुरको कमाण्डरियाले संसारकै प्राचीन ब्रान्डेड वाइनको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।

कुरियन नदीबाट आउने पानीमा बाँध बनाई ठाउँ ठाउँमा ठुला ठुला पानीघट्ट र मेलहरू बनाइए जहाँ उखु पेलेर खुदो बनाइन्थ्यो र खुदोबाट प्रशोधन गरी चिनी उत्पादन गरिन्थ्यो ।साथै विभिन्न किसिमका मदिरा र फलफूलका जुसहरूको उत्पादन र निर्यातमा पनि यो क्षेत्रले विशेष ख्याति कमाएको थियो ।

आज चिनी मिल या पानी घट्ट त कतै थिएनन केवल तिनका अवशेष मात्र बाँकी थिए । तर सदियौं पुराना ती अवशेषहरू भोलिका पुस्ताले हेर्न पाउन भनेर साइप्रसवासीहरूले संग्रहालयको रुपमा अत्यन्त जतन गरेर राखेका थिए । चिनी र वाइनको गुलियो मिठास यतिखेर ओठमा हैन आँखामा छाएको छ र मलाई भन्न मन लागेको छ – ‘यु आर सो स्वीट साइप्रस’ ।



Next Story: Older Posts Home

मध्ययुगीन गढी र युद्धका डोबहरू

No comments

Wednesday

संसारमा प्रेम र युद्धविनाको इतिहास कहिपनि छैन, हरेक इतिहासहरू शक्ति संघर्षका कथाहरूले भरिएका हुन्छन, इतिहासका पानाहरू देशका सीमानाजस्तै युद्ध र रगतले लेखिएका हुन्छन ।

लिमासोल पुरानो बन्दरगाहको छेवैमा रहेको पौराणिक भवनहरू, सदियौँ पुराना चर्च र मस्जिदहरूले, शहरको हरेक चोक र गल्लीहरूले मानौँ साइप्रसको इतिहासका दस्तवेजहरू पल्टाइरहेछन, सामुद्रिक छालहरूको मनोहर संगीतसँगै इतिहासका कथाहरू सुनाइरहेछन ।

समुद्रको बीचमा रहेको यो शान्त र सुन्दर द्वीप साइप्रसको इतिहास पनि यस्तै यस्तै प्रेम,युद्ध र संघर्षका कथाहरूले भरिएको छ र आज पर्यन्त यो क्रम जारी नै छ । प्रेमकी देवी एफ्रोडाइटको जन्मभूमि यो साइप्रस समयका विविध कालखण्डहरूमा कहिले रोमन, कहिले वैजेन्टाइन कहिले, अंग्रेज, तुर्कमेनिस्तान वा ग्रिक हुदै आज स्वतन्त्र देशको अस्तित्वका रुपमा स्थापित छ । आधुनिक साइप्रसमा पनि उत्तरी र दक्षिणी साइप्रसका वासिन्दाहरूका वैमनस्यले घातक र भयानक गृहयुद्धको रुप लिएको इतिहास ताजै छ ।

उत्तरी साइप्रसले आजसम्मै आफूलाई एउटा भिन्नै राष्ट्र ‘टुर्किस रिपब्लिक अफ नर्दन साइप्रस’ नामाकरण गरेर स्वाशासित क्षेत्र घोषणा गरेको छ यद्यपि साइप्रसको यो तथाकथित उत्तरी राज्यलाई तुर्किस्तान बाहेक अन्य कुनैपनि राष्ट्रले अनुमोदन गरेका छैनन, मान्यता दिएका छैनन ।



लिमासोल आएपछि थाहा भयो यो शहरमा नीलो समुद्रको सुन्दर लहरहरूमात्र होइन, जहाजका लश्कर र चीसा हावाका झोक्काहरूमात्र होइनन अरुपनि औधी सुन्दर कुराहरू रहेछन । लिमासोल पुरानो बन्दरगाहको छेवैमा रहेको पौराणिक भवनहरू, सदियौँ पुराना चर्च र मस्जिदहरूले, शहरको हरेक चोक र गल्लीहरूले मानौँ साइप्रसको इतिहासका दस्तवेजहरू पल्टाइरहेछन, सामुद्रिक छालहरूको मनोहर संगीतसँगै इतिहासका कथाहरू सुनाइरहेछन ।

ठमेलको झल्को दिने पर्यटकीय होटल रेस्टुरेन्ट र क्युरियो पसलहरू भरिएका घरहरूको पछाडि हामीले धरहराजस्तो अग्लो गजुरको आकृति देख्यौँ । यो ग्र्यान्ड मस्जिद रहेछ । तुर्की साम्राज्यको आक्रमण पछि यहाँको क्रिश्चियन सम्पदा र संस्कृतिमाथि क्रमश इश्लामिक अतिक्रमण भयो धेरै संरचना भत्काइए । शायद यसै क्रममा १६ औं सदिमा लिमासोलको मुटुमा यो मस्जिद निर्माण गरियो । मस्जिद प्रवेश गर्न कुनै रोकतोक र समयसीमा थिएन तर महिला पर्यटकहरूलाई लक्षित गरेर बाहिर प्रवेशद्वार नेर भड्किला र छोटा पहिरन लगाएर प्रवेश गर्न नपाइने सूचना राखिएको थियो । मलाई कुनै अप्ठेरो भएन । तर छेवैमा योभन्दा भव्य र सुन्दर गिर्जाघरको दृष्य देख्दा यस्तो लाग्यो कि इश्लामिक प्रभुत्वको अन्त्यसँगै मुस्लिम धरोहरभन्दा क्रिश्चियन सम्पदाहरू चर्च र गिर्जाघरको संरक्षण र जीर्णोद्धारमा जोड दिइएको हुनुपर्छ । उन्नाइसौँ शताव्दीमा बनेको गिर्जाघर लिमासोलको अर्को आकर्षण थियो ।

शहरको मध्यभागमा अवस्थित थियो लिमासोल गढ, जसले शताव्दिऔँ पुराना युद्धका अवशेषहरू बोकेको थियो । विभिन्न समयमा विभिन्न शासकहरूले आक्रमण गर्ने, पुराना संरचना नष्ट गर्दै आआफ्ना किल्ला खडा गर्दै जाँदा सदिऔँ पुराना दरबारका भत्किएका खण्डहर र ढुंगाहरू मात्र बाँकी थिए तिनलाई विशेष महत्वका साथ संग्रहालयको स्वरुप दिइएको थियो । लिमासोल दरबार प्रवेशद्वार भित्र पस्ने बितिकै दायाँतिर आगनमै थियो गलैचाजस्तो आकारमा रंगीन ढुंगाहरूले बनाएको कलात्मक भित्तेचित्र । अलिकति भित्र गइसकेपछि बाँयातिर थियो अत्यन्तै पुरानो जैतुनको तेल पेल्ने काठ र ढुंगाको मिल जुन सात देखि नौ शताव्दीको बीचमा निर्माण भएको अभिलेख थियो ।

प्राचीन हातहतियार, ढुंगा माटोका भाँडाकुँडा तथा समाधीका पत्थरहरू सजाएर राखिएका थिए । दरबारभित्र र बाहिर रहेका शिलालेखहरूबाट यहाँ ४देखि ७ शताव्दीमा समभवत शहरको सबैभन्दा पुरानो गिर्जाघर यही स्थलमा रहेको थाहा पाइयो । यसैगरी दशौँ एघारौँ शताव्दीमा निर्मित मध्ये वैजान्टिन धरोहरका अवशेषहरू तथा यथेष्ट प्रमाणहरू पनि यहाँ भेटिने शिलालेख र पुरातात्वित अवशेषहरूले देखाउँथे ।

बेलायतका राजा रिचार्ड प्रथमकी स्पेनिस प्रेमिका बेरेंगारिना जहाजमा जेरुसेलमतिर जाँदै थिइन, समुद्रमा आँधी आएपछि उनीहरू साइप्रसमा उत्रन बाध्य भए । यसै मौकामा साइप्रसका शासकले उनलाई बन्दी बनाए । आफ्नी प्रेमिकाको बारे यो खबर सुनेर किंग रिचार्ड पनि साइप्रस पुगे । बेरेंगेरिया लगायत सबै बन्दी रिहा गर्न अनुरोध गर्दा नमानेपछि उनले आक्रमण गरी लिमासोल कब्जा गरे । यही दरबारमा किंग रिचार्ड प्रथमको विवाह सम्पन्न भयो ।

यहाँ खास राजगृह एघारौँ शताब्दीको अन्त्यतिर निर्माण भएको पाइन्छ । सन १५३८मा तुर्कीहरूले लिमासोल आक्रमण गरी कब्जा जमाए । १५६८ सम्ममा लिमासोल दरबार पूर्ण रुपमा नष्ट गरियो । सन १५७६ मा साइप्रसमा पूर्णरुपमा तुर्कहरूले अधिपत्य जमाई इस्लामिक प्रभुत्वको साम्राज्य स्थापना भयो । भत्काइएका अवशेषहरूमाथि तुर्क किल्लाको निर्माण शुरु भयो । त्यसै समयमा जमिनमुनि कैदीहरूलाई राख्ने विशेष किसिमको भूमिगत कारागार पनि निर्माण गरियो । जुन सन १५९०मा सम्पन्न भएको थियो । त्यसको अवशेष अहिले पनि अवलोकन गर्न सकिन्थ्यो ।

किल्लाका भित्ताहरू अग्ला र बलिया थिए । चार युरो पचास सेन्ट तिरेपछि संग्रहालय भित्र प्रवेश गर्न सकिन्थ्यो यद्यपि संग्रहालयको बाहिरी परिसरमै धेरै सामग्रीहरू राखिएका थिए । पहिलो र दोश्रो तल्लाको ढोकाछेउ युद्धमा प्रयुक्त मध्ययुगीन तोप राखिएको थियो । संग्रहालयभित्र पौराणिक चित्रहरू, ऐतिहासिक दस्तावेजहरू, शिलालेखहरू र असंख्य ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरू सुरक्षित राखिएका थिए । माथिल्लो तलाबाट लिमासोल शहर र मरिनाको दृश्य अवलोकन समेत गर्न सकिन्थ्यो ।

हामीले प्रेम र युद्धका निशानीहरू कुँदिएका इतिहासका पर्खाल र भित्ताहरू हेर्यौँ र पुन अर्कोपटक लिमासोल शहरलाई आँखाको संसारमा सजायौँ ।

पुरा लेख यहाँ पढ्न सकिन्छ ।
Next Story: Older Posts Home

नेपाली स्वाद रोमानी सत्कार

No comments
कुनै नयाँ शहर, नयाँ देशमा हराउनु, या परसम्म फैलिएको समुद्रको किनारमा उभिएर आकाश र धरतीको मिलनविन्दु क्षितिज नियाल्नु र छालहरूसँग प्रेमगित गुन्गुनाउनु … साइप्रसको यो भूमिमा पाइला टेकेपछि यस्तै यस्तै कविताजस्ता मिठा अनुभूतिहरू भइरहेका थिए ।

म साइप्रसको लिमासोल शहरको सामुद्रिक किनारमा उभिएको छु यतिखेर । आँखा अगाडि छ समुद्रको विराट छातीमा तैरिएका घरहरू, जहाजको लश्कर र ताराजस्तै चम्किरहेका झिलमिल बत्तीहरू ।

भन्छन यो शहर रातैभरि निदाउदैन – मेला लागेजस्तै पर्यटकहरूको चहलपहल छ । बरु दिउँसो सुनसान यो शहर साँझ बढ्दै गएपछि अरु उज्यालो बन्दै जान्छ, प्रेम र उल्लासको रंगमा झुम्न थाल्छ र अबेरसम्म यो सिलसिला चलिरहन्छ ।

प्रेम हो, प्रेमको कुनै देश हुदैन, भाषा र भेष हुदैन । दिदीको आत्मकथा हामीले प्रेमकथाको पुस्तक पढेजस्तै मिठो मानेर सुन्यौं । रेस्टुरेन्टकी रोमानी सेविका पनि हामीसँग सहभागी भइन । विदेशमा पनि यति न्यानो आत्मियता पाएर हामी धेरै खुसी भयौं ।

सडकको एकतर्फको छेउमा मात्र घरहरू निर्माण भएका छन, अर्को छेउ अर्थात लिमासोलको सामुद्रिक किनारै किनार माथि मरिनासम्म चउर, स्वीमिङ पुल, खेलकुद स्थलहरू भएको मनोहर उद्यानमा रुपान्तरित भएको छ । समुद्रको साइडमा पुरै खाली गरेर बनाइएको यो उद्यान पर्यटकीय स्थलजस्तै प्रतित हुन्छ यस्तो लाग्छ – यो शहर नभएर कुनै कुमारी प्रकृति हो जहाँ भेटिएका छन हामीजस्तै असंख्य फिरन्तेहरू, यायावरहरू .. ।

नयाँ देश र यात्राको रोमान्चकताले थकाई पटक्कै लागेको थिएन । समुद्रको बीचमा पोर्ट गरिएका विशाल जहाजहरू छपक्कै देखिए । साँझ बढ्दै जाँदा क्रमश जहाजमा बत्तीहरू बल्न थाले ती नभका ताराजस्तै चम्किला हुदै गए ।

मारिना र समुद्री तटको मनमोहक दृश्य मात्र हैन हामीले आँखा अगाडि देखिएका प्रत्येक नयाँ दृश्यहरूको अवलोकन गर्दै गयौं । हामीलाई ती प्रत्येक दृश्य र घटनाहरू रोमाञ्चक लागिरहेका थिए । अग्ला अग्ला पुलहरूबाट समुद्रमा हामफाल्ने पौडीबाजहरू, फिरन्ते प्रेमीहरू, सडकको मध्यभागमा अर्गन बजाउदै गीत गाउने गाइने, नाच्दै हिड्ने रोमाञ्चक युवायुवतीहरू, साइकल यात्रीहरू, स्केटींग गर्दै हिड्ने किशोर किशोरीहरू,”टु युरो- टु युरो” भन्दै बाटोमा आइस क्रिम र उसिनेको मकै बेच्ने पसलेहरू … । चलचित्रझैं ती हाम्रा आँखाहरूमा कैद भैरहे ।



अनेक मनमोहक दृश्य अवलोकन गर्दै हामी ‘जय हो’ नामको एक इन्डियन रेस्टुरेन्ट गयौं । एकजना नेपाली दिदी हुनुहुँदो रहेछ । ज्ञानु दिदी । नेपाली, इन्डियन खाना खानु भन्दापनि नेपाली दिदी हुनुभएको नाता र आत्मियताले डोर्याएर हामीलाई यहाँ ल्याई पुर्याएको थियो । खाना पनि मिठो बनाउनुहुन्छ हामीले थाहा पायौं । हार्दिक मुस्कान सहित घरै बिर्साउने गरी दिदीले हाम्रो आतिथ्यता सत्कार गर्नुभयो यस्तो लाग्यो – हामी यति खेर अर्को कुनै नयाँ देश हैन आफ्नै आफन्तकोमा पाहुना लाग्न गएका छौं ।

बिदाको दिन सैयौंको संख्यामा नेपालीहरू हुन्छन र यसपालीको सप्ताहान्तमा सबै नेपालीहरूसँग भेटघाट गर्नुपर्छ’ उहाँले बताउनु भयो । दिदीका दुई छोरीहरू ठूला भैसकेका रहेछन र ठुलो छोरीले त रेस्टुरेन्टमा सघाउदिरहिछन भने कान्छी छोरी अध्ययन गर्दै रहिछिन । र छोरा भने सानै रहेछ ।

आजभन्दा दश वर्ष अगाडि साइप्रस आउनु भएकी ज्ञानु दिदीसँग यो देशसँग जोडिएका अनेकौं तिता मिठा अनुभवहरू प्रसंगहरू थिए । नेपालीहरू रोजगारका लागि संसारका हरेक कुनामा पुगेका छन साइप्रसमा पनि यो क्रम बढिरहेको छ । नेपालीहरूको साइप्रस आगमनको यो सिलसिला कहिले देखि आरम्भ भयो यकीनका साथ् भन्न सकिने अवस्था छैन तर हालसम्म विद्यार्थी, कृषि, होटल तथा घरेलु कामदारका रुपमा लगभग ५ हजार जति अनुमानित नेपालीहरू रहेछन ।

साइप्रसमा खानेकुरा तथा आवासभन्दा पनि घुम्नका लागि सवारी महँगो पर्ने रहेछ । सार्वजनिक यातायात थोरै र निश्चित समयावधीमा मात्र चल्ने हुँदा निर्धक्क घुम्न कि त आफैले गाडी लिनु पर्थ्यो नत्र ट्याक्सीमा घुम्दा धेरै खर्च हुने कुरा दिदीले सम्झाउनु भयो र यो विल्कुल सही थियो ।

एअरपोर्ट या अर्को शहर जानेबेला मलाई पहिले नै भन्नु, म भिनाजुलाई भनिदिउँला । ज्ञानु दिदीले भिनाजु भनेर सम्बोधन गरेक व्यक्ति साइप्रसका नागरिक रहेछन। थाहा पायौं उहाँ यहीको नागरिकसँग घरजम गरेर बस्नुभएको रहेछ ।

प्रेम हो, प्रेमको कुनै देश हुदैन, भाषा र भेष हुदैन । दिदीको आत्मकथा हामीले प्रेमकथाको पुस्तक पढेजस्तै मिठो मानेर सुन्यौं । रेस्टुरेन्टकी रोमानी सेविका पनि हामीसँग सहभागी भइन । विदेशमा पनि यति न्यानो आत्मीयता पाएर हामी धेरै खुसी भयौं ।

उहाँको आत्मीयता र सदासयता यो नयाँ ठाउँमा हामीलाई लाख भयो । भन्यौं – दिदी. लिमासोल बसिन्जेल हामी हजुरकै रेस्टुरेन्टमा खानेछौँ । ज्ञानु दिदीको मुस्कान उहाँले पकाउनु भएको खाना जतिकै मिठो थियो ।

पुरा लेख यहाँ पढ्न सकिन्छ 
Next Story: Older Posts Home

चिनियाँ मुस्कान

No comments

Sunday

गृष्म याम छ, इजरायलको तेल अभिभ शहरमा हल्का गर्मी बढेको छ । जुलाइको पहिलो साता, तर उस्तो गर्मी र पसिनाका अनुभवहरू किन भएका छैनन् भने अधिकांश, घर, पसल, कारखाना, शपिंग मल या सवारी र सार्वजनिक यातायातहरू वातानुकुलित छन । पहेंलो टन्टलापुर घाम र गृष्मका छायाँहरू झ्याल बाहिरको दृश्यमा सीमित छन । ती कुनै चित्रकारको सिर्जना जस्ता लाग्छन, जो झ्यालको चौकोसमा कैद भएका होउन । सोच्छु मौसम र यामहरूलाई कस्तरी जितेको प्रविधिले ?

तर कुन हो प्रेमको खास मौसम ? परदेशको विरानो भूमिमा संघर्षरत हर मौसम शिशिरका पतझरजस्ता रुखा देखिने र चिसिएर हिउँ जस्ता भएका एक्ला मनहरूलाई सोध्नु पर्छ। ती आँखाहरूलाई सोध्नुपर्छ जो वर्षौं देशको क्षितिज हेर्दै घर सम्झेर टोलाएका हुन्छन ।
लेख्नेहरू त के वसन्त, के गृष्म या शरद सबै ऋतुहरूलाई प्रेमको मौसम नै लेखिदिन्छन । .. रचिदिन्छन ‘हिउँदको प्रेम गीत‘ या ‘समर लभ‘ ।

नाटक, सिनेमा, साहित्यहरूमा या कला र संगीतहरूमा हरेक मौसमलाई प्रेमसँग जोडिदिन्छन । तर कुन हो प्रेमको खास मौसम ? परदेशको विरानो भूमिमा संघर्षरत हर मौसम शिशिरका पतझरजस्ता रुखा देखिने र चिसिएर हिउँ जस्ता भएका एक्ला मनहरूलाई सोध्नु पर्छ। ती आँखाहरूलाई सोध्नुपर्छ जो वर्षौं देशको क्षितिज हेर्दै घर सम्झेर टोलाएका हुन्छन ।

म अलि हतारमा थिएँ, केही दिनयता मनमा अनौठो व्यग्रताको सिलसिला बढिरहेको थियो । गृष्मकालीन छुटी यानेकि समर भ्याकेसन मनाउन साइप्रस जादै थिएँ । साइप्रस दुतावासले पासपोर्ट कलेक्सनको लागि बुधबारको मिति दिएको थियो तर अनुरोध गरेर म मंगलबार बिहानै गएँ । तेल अभिभको व्यापारिक भवन दिजिंगोफ सेन्टरमा सधैं झैं उस्तै चहलपहल थियो ।

बोकेर तोभ !

अलि अप्ठेरो लवजमा कसैले बोलेको कानैनेर गुञ्जियो । मेरो अगाडि एउटी चाइनिज युवती उभिएकी थिई । हातमा इजरायली भाषा सिक्ने मोटो पुस्तक लिएकी, सेतो टिसर्ट, हाफ पाइन्ट र ब्याक्प्याक भिरेकी पुरै टुरिष्ट हुलियाकी यो युवती निकै रमाइलो पारामा मुस्काइरहेकी थिई ।

तिमीलाई हिब्रु भाषा आउँछ ? उसले अंग्रेजीमा प्रश्न गरी, मैले आउँछ भनेँ । यो केटी बिगत चार महिनादेखि इजरायलमा रहिछ । मध्यपूर्वको इतिहास र पुरातातिक सम्पदाका बारेमा अध्ययन अनुसन्धान गर्ने क्रममा ऊ यहाँ थिई र यसै सिलसिलामा ऊ पनि साइप्रस र ग्रीस भ्रमणको योजनामा थिई ।

ल हामी त सँगै हुने भयौं क्यार ।

‘हामी’ भन्नाले, साइप्रस यात्रामा मसँगै हुनु भएकी अर्की नेपाली साथी । एउटा संयोग थियो हाम्रो यात्रा । युरोप यात्राको कुनै पनि ड्राफ्ट या ट्राभल प्लानमा हामी दुईमात्रैसँगै जाउँला भनेर कोरेका थिएनौं, तर भैदियो त्यस्तै ।

छुट्टी बिनाको काम, म हैरान भैसकेको थिएँ । अलिकति रिफ्रेश हुन मलाई कतै न कतै जसरी पनि जानु थियो । अस्ति शुक्रबार साइप्रस भ्रमणका लागि निवेदन दिएर आएपछि मैले सबै साथीहरूलाई मेसेज लेखेको थिएँ – मेरो भ्रमण मंगलबार अर्थात आजको दिन फिक्स हुन्छ, तपाईंहरू पनि आउनुस,सँगै जाउँ । हामीसँग त अरु धेरै नेपाली साथीहरू पनि हुनुहुन्थ्यो, संयोग भनौं या वियोग .. तर जो विभिन्न कारणले छुट्नुभएको थियो ।

यद्यपी म दृढ थिएँ, म एक्लै भएपनि जान्छु । अंग्रेजीमा एउटा भनाई छ – इफ प्लान ‘ए’ डीड नट वर्क, दि अल्फाबेट ह्याज ट्वान्टी फाइव मोर लेट्टर्स ।

————–

मलाई माउन्ट एभरेष्टको बारेमा थाहा छ, बुद्धको जन्मस्थानको बारेमा पढेको छु, पोखरा र अन्नपूर्ण पदयात्राका वर्णनहरू पनि सुनेको छु । मर्नुपहिले पक्कै एकदिन तिम्रो देश नेपाल पनि पुग्नेछु’
उसले मुस्काउदै भनी ।

र यो पनि भन्न भ्याई कि यस्तो अप्ठेरो भाषा र कठोर नियम कानून भएको देश इजरायलमा यति लामो समयसम्म सहजताकासाथ बस्न सकेकोमा तिमीलाई त पुरस्कारै दिनुपर्ने हो । म भए त सक्दिनथेँ, यी हेरत चार महिनामै थाकिसकेँ ।

जिन्दगी सधैँ रहरमात्र हुदैन यहाँ कतिपय सम्झौता पनि हुन्छन भनेर यसलाई कसले सम्झाइदेओस ?

यो चिनियाँ केटी निकै चटपटे स्वभावकी थिई । हेर्दा त्यस्तै लाग्थ्यो, ऊ असाध्य चन्चलता देखाइरहेकी थिई । अघिदेखि यसलाई झेल्दै आइरहेकी नेपाली साथीले भनिन – यो यसरी नै बोलेको बोल्यै, हाँसेको हाँस्यै छे ।

मैले सोधेँ – तिमीलाई हिब्रुमा केके आउँछ त ??

‘आनी ओहेव ओताख’ यति भन्दै ऊ फेरि हाँसी र आँखा झिम्काई । मैले भने – केटालाई “आइ लभ यु ” भन्न ‘ओताख’ भनिदैन ‘ओत्खा’ भनिन्छ । बरु यो शव्द पक्कै तिमीलाई अरु कसैले भनेको हुनुपर्छ, किनकि यो केटीलाई सम्बोधन गरिने वाक्यांश हो ।

यसपटक भने ऊ लजाई र भनी – किताबमा यस्तै लेखेको छ त ।



साइप्रस एम्बासी डिजिंगोफ सेन्टरको चौधौँ तल्लामा थियो । एलिभेटरको ढोकैमा हामीले नेपाली दूतावास इजरायलका सहचारी कमल कोइरालालाई पनि भेटायौँ, उहाँहरू पनि यसै साता साइप्रसको अफिसियल भ्रमणमा हुनुहुदो रहेछ ।

मेरा लागि यो यात्रा एकदमै पृथक र उत्साहजनक थियो । सागरको बीचमा रहेको युरोपियन द्वीप साइप्रस जहाँ प्रेमकी देवी एफ्रोडाइट जन्मिएकी थिइन, त्यो देशको भ्रमण धेरै अर्थहरूमा विशेष र रोचक थियो ।

दूतावासमा आगन्तुकहरूको भीड थियो । मेरो र अर्को नेपाली साथीको पालोपछि मात्र यो चिनियाँको पालो भएकोले ऊ हामीभन्दा पछि नै थिई । अघिल्लो हप्ता नै निवेदन दिइसकेकोले मेरो भिसामात्र कलेक्ट गर्नु थियो भने उनीहरू भर्खर एप्लाई गर्न आएका थिए । कौतुहलताले त्यतिकै ढुकढुकी बढिरहेको थियो । पालो आउने आउने बेला हामी चुपचाप भयौँ ।

यो चिनियाँ केटी हाँस्दै मेरो नजिक आई र भनी – ‘तिमी कति राम्रा र दयालु छौ । हेरन मेरो कतै पुग्नुपर्ने छ निकै ढिलो भइसक्यो, मलाई तिमीहरूको पालो अगाडि जान देऊ न ल ??

अघिदेखि यसको चर्तिकला हेरिरहेकी साथीले के सोचिन कुन्नि, भनिन – देख्नुभयो त यो चाइनिज कति बाठिरहिछे ? पालो मिचेर अगाडि जाने बहाना खोज्दैछे ।

हो बाठिरहिछे । तर मलाई यसको हाँसो र अनुरोध गर्ने तरिका दुवै ‘क्युट’ लागिरहेको थियो । भनिदिएँ – मलाई तिम्रो अनुरोध त मन परेन तर तिम्रो मुस्कान यति क्युट छ कि मैले नाई भन्न पनि सकिनँ ।

अघिदेखि कहिले पालो आउला भनेर पर्खिरहेकी साथी भुइँतिर हेर्दै हासिरहेकी थिइन । …

(समाप्त)
Next Story: Older Posts Home

बुबाको फोन

No comments

Tuesday

कृष्णपक्ष 
विनाशकारी भुकम्प गएको दोश्रो दिन 
बैशाख १४ गते, इजरायल 


मुटुको केन्द्रविन्दु भएर
अविरल अविरल थर्किरहेछ, त्रासको भुइचालो
पहिरो गैरहेछ छातीका गह्राहरूमा देशजस्तै
र ढलिरहेछ्न सपनाका धरहराहरू ।


बुबा फोनमा भन्दै हुनुहुन्छ -
छोरा !
तैले पहिलो पाइला टेकेको
खेलेको, उफ्रेको र तँ हुर्केको त्यो आँगनमा
आज थुप्रिएको छ, खण्डहर भएर हाम्रो सानो संसार
छानोको एउटा सिङ्गै पाखो,
जो तैँले पोहोर पठाएको पैसाले छाएको थिएँ
अनि बार्दली र त्यसका बुट्टे रेलिङ्गहरू
मैले कति दुख र रहरले बनाएको थिएँ
जहाँ बसेर तँ सधैं पूर्वमा हेर्थिस - घाम उदाएको,
उत्तरमा टल्किएको - गणेश हिमाल,
अनि कोर्थिस चित्रहरू कापीका सादा पानामा
र भन्थिस - 'बुबा, हेर्नुहोस मैले धरहरा बनाएँ' ।


कतिबेला भयो,
हेक्का छैन छोरा
केवल घाम उदाएको र डुबेको देख्छु,
र हेक्का छैन कतिपल्ट हान्यो पापी भूँइचालोले
थाहा छैन कतिखेर निदाएँ,
सिमसिम पानीले रुझेको बुढो शरीर बोकेर
त्रासदी र कोलाहलको ताण्डव नाचिरहेको यो खुल्ला चौरमा ।
कतिखेर तेरी आमा निदाइ होली
जो आकासको झरीजस्तै रोइरहेकी थिई,
तिमीहरूलाई सम्झेर - एकपल झिमिक्क नगरी ।


रुझेको छु र पनि तिर्खा लागेको छ छोरा
बेस्सरी तिर्खा लागेको छ र पिउन मन लागेको छ
आशा र राहतको एक घुट्की पानी
कि कसैले आएर सुटुक्क भनिदेओस
बा अब केही हुदैन ढुक्क हुनुस
- सुन्न मन लागेको छ यस्तो मिठो बोली ।


भयको कालो बादल छाएको छ छोरा आकाशमा
त्यस्तो भय, जुन कुनै बेला
यहुदीको छातीमा मडारिएको थियो,
जीवन र मृत्युको अनिश्चितताको भय ।
र त्यस्तो अभिलाषा जिन्दगीको, त्यस्तो जिजीविषा
जो लडाइको मैदानमा गोलीले घाइते भएको
निरिह सिपाहीको मनमा बाँचेको हुन्छ ।


जिउँदै पुरियो पल्ला घरे जेठो
र निदायो कहिल्यै नब्युझने गरी,
मलामी गएर आएको छु,
घाइते छन दर्जनौं मानिसहरू, आइमाई र केटाकेटीहरू
सकेको सघाएको छु अस्पताल पुर्याएको छु ।


यतिबेला सोधिरहेको छु छोरा यो देशसँग
हामीले किन बेच्नु परेको होला ?
युवाका हातहरू परदेशका मरुभूमिहरूसँग
भोक र अभावका रेमिट्यान्सहरूसँग
तेरा पसिना र पौरखहरू
कुन रहरले साट्नु परेको होला ?
बालुवाको घरजस्तै भत्केर जाने सपनाहरूसँग ।


अनिश्चित र अनुत्तरित छन यी प्रश्नहरू
यो विनाशकारी भुइचालो जस्तै ।


बुबाको फोन काटिन्छ ...
पल पल उठ्छ र ढल्छ
सगरमाथाजस्तो भक्कानो छातीभित्र
जान्छ हिमपहिरो र छटपटीको ज्वालामुखी
र हुन्छ मन - पखेटा काटिएको चरा

यो विरानो भूगोलमा
लाग्छ अहिल्यै पखेटा पलाओस
उडुँ त्यहाँसम्म र बाडुँ हातहरू ।
हर्क्युलसले जस्तै थामुँ मेरो घर, माटो र जमीन
छेकुँ कुनै शक्तिले भूकम्पका धक्काहरू
पुछुँ रोगी आमाका आँसुहरू, उठाउँ भकारी र अन्नहरू,
दराज, लुगाफाटा र उहाँका दिनदिनै खाने औषधीहरू
र अँगालु जहान र सानो छोरालाई
जो पालबाट चुहिएको पानीले निथ्रुक्क भिजेर
रातभरि 'बुबु खाने' भन्दै रोइरहेछ र बर्बराइरहेछ जोरोले
'पापा भएको ठाउँमा जाम न मामु' ।


ए सम्बोधन !
कोसँग सोधुँ म यो प्रश्न,
कि किन हिडेर आएँ म यो लामो बाटो ?
कि किन लेखिस मेरो निधारमा परदेश ?
खेतका गह्रा र माटोसँग, हिलो र रोपाईंसँग असारसँग रमाउने मेरो श्रम
किन साट्दैछु म मरुभूमिका यी ताता बालुवा र नूनिला पसिनाहरूसँग ?


ए सम्बोधन !
कोसँग सोधुँ म यो प्रश्न ?




 आवाजमा सुन्नुहोस ..
 
Next Story: Older Posts Home

पहिलो किताब पहिलो प्रेम जस्तो

No comments

Thursday

मैले प्रेम लेखेको छु , आँसु लेखेको छु । मरुभूमिको तातो वालुवाको अतृप्त प्यास लेखेको छु । मेरो पहिलो किताब 'तिर्खा'मा मूलत परदेशी मनको तिर्खा लेखेको छु ।

पहिले पहिले, धेरै पहिले, अझ भनौं सानै छँदा सोच्थेँ - किताब छपाउनु कस्तो होला ? वा पुस्तकको पहिलो बाक्लो पानामा 'कृष्णपक्ष' लेखिएको हेर्नु .. । यसो गर्नु साथीभाईलाई आफ्ना रचना वाचन गरेर सुनाएजस्तो पटक्कै हुने छैन । त्यो पत्रपत्रिकामा रचना छपिएजस्तो मात्र पनि हुने छैन । सोच्थेँ त्यो केही विशेष हुनेछ । मानौं त्यो किताबको पानामा होइन साहित्यको पहिलो कक्षामा नाम दर्ता गरेजस्तो हुनेछ । यस्तै लाग्थ्यो .. त्यो 'नाम' आकर्षक र रहरलाग्दो हुनेछ ।

समयले आफ्नो बहाव संगै बगाउदै लग्यो, टाढा पुर्यायो परदेश। कर्मका अनेक स्वरुपहरु परिवर्तन गर्दै गयो । यसबीचमा सिर्जना र अभिव्यक्तिका आकार र स्वरुपहरु पनि बदलिए ।

मनमा मात्र किन अटथे भावनाहरु ? सम्भव भएसम्म वेव साइट, ब्लग वा छापा पत्रिका नै पनि संचालन गरियो, पोखियो । दिनरात मेहनत गरेर पत्रिका सम्पादन गर्दा, लेख रचनाहरु छपाउदा वा इन्टरनेटको आँगनभरि सिर्जनाका विस्कुनहरु फ़िजाइसक्दा पनि त्यो 'किताबको रहर' त अझै उस्तै पो रहेछ । अहँ मेटिएको रहेनछ .. तिर्खाजस्तो भएर आँतभित्र बसेको रहेछ ।

त्यो रहरलाई आकार दियो शव्दहार क्रियसन्सले .. र मेरो पहिलो किताब 'तिर्खा' लिएर आयो ।

अनुभूतिहरु एकदम मिठा छन , रंगीन छन, धर्तीमा वसन्तको यौवन पोखिएजस्ता विल्कुल नयाँ । कहिलेकाहीं यस्तो लाग्छ कि यो किताब मेरो पहिलो प्रेम हो । पहिलो प्रेमको पहिलो भेट हो । पहिलो आँखा हेराइ हो या आँखा जुधेपछिको पहिलो मुस्कान हो ।  धक लागेजस्तो लाज लागेजस्तो .. यस्तो कि मानौं पहिलोपटक भेटिएका प्रेमी प्रेमिकाजस्तै उभिएको छु म तपाईं प्रिय पाठकसँग ।  विल्कुल त्यस्तै अनुभव .. ।

पहिलो प्रेम र पहिलो भेटको यो दृश्य बडो सुन्दर छ । नबोलेरै अभिव्यक्त भैरहेछन प्रस्तावनाहरु, स्विकृतिहरु.. । बहार पोखिएको हरियो धर्ति र क्षितिजमाथि फैलिएको निलो आकाश जतिकै गाढा हुदै गैरहेछ्न, घनिभूत हुदै गैरहेछ्न प्रेमका भावनाहरु ।

प्रेमिकाको कानैमा गएर मानौं उ यसो भनिरहेछ - प्रिय  ! अब तिमी मेरा पानाहरु पल्टाउनु र पढ्नु मेरो मन ... जुन कथामा रुपान्तरित भएर किताबभित्र समेटिएका छन । छुनु मलाई प्रेमले 'तिर्खा' भित्र र संकलन गरेर राख्नु यी भोगाइहरुको एउटा सानो समय , त्यो इतिहास बनोस ।

प्रिय  ! धड्किरहोस यो छाती र लागिरहोस यो तिर्खा निरन्तर, र भेटिरहुँ तिमीलाई अर्को किताबहरुमा .. .।
Next Story: Older Posts Home

इन्टरनेट बिनाका पलहरु

No comments

Saturday

कहिलेकाही शहरमा निस्फिक्री उडने बताससँग बग्न मन लाग्छ स्वतन्त्र आकाशमा । तर जीवन त्यति सजिलो कहाँ छ र ? हाम्रो स्वतन्त्रताको खुल्लापनामा अनेकन बाध्यताका पर्खालहरू उभिएका छन । अनेक देशक सीमा र परिधिहरू कोरिएका छन । अनि छन कर्म र नियतिले बनाएका साँघुरा पिंजराहरू जहाँ चुपचाप कैद भएका छौं हामी । विशेषत धेरै रहर र सपना बोकेर हिडेका मजस्तै युवा मनहरू .. ।

परदेश लागेको धेरै वर्ष भएछ यी वर्षहरूमा म प्राय एक्लै भएँ र त्यो स्वाभाविक पनि थियो । यदाकदा शव्दहरूसँग खेल्नु, ब्लग लेख्नु, इन्टरनेटमा रुमल्लिनु र नया कुरा सिक्नु वा धेरै बेर हराउनु मेरो समयका र मैले व्यतित गर्ने दिनचर्याका मुख्य अंशहरू बने ।

आरम्भका घडीहरू असाध्य कठीन हुन्थे, नोस्टाल्जिक भैन्थ्यो । अजंगको दिक्दारीले दिनभरि चिथोर्थ्यो । बडो असहज लाग्थ्यो शायद 'होमसिक' यसैलाईभन्दा हुन् । देश दुख्थ्यो, घरि घरि घरको याद आउथ्यो र बाध्यता भन्ने चिज छातीभित्र भक्कानो जसरी बल्झिरहन्थ्यो ।

तर इन्टरनेट को झ्यालबाट चियाउन पाउँदा यिनै दिनचर्यामा अभ्यस्त हुँदै गइयो । सामाजिक संजालहरूमा भुलियो । अभाषी संसार विचरण गर्न सिकियो । अनि समयक्रममा यही एक्लोपना र यिनै अपरिचित भित्ताहरूसँग यस्तरी साइनो गासिएछ कि एकान्त नै प्यारो लाग्ने, अँध्यारो नै मनपर्ने भएछ । हुँदा हुँदा कहिले त यस्तो पनि लाग्थ्यो कि एकान्तको यो सिलसिला कहिले नटुटोस । यसरी नै घन्टौं घण्टा, हप्तौं हप्ता र महिनौं महिना एकान्तमा बसिरहुँ र हराइरहुँ आफैभित्र, खोजिरहूँ आफैलाई ।

 तर जीवन सोचेजस्तो कहिले भएन । एकदिन यस्तो घडी आयो कि गत वर्षको उत्तरार्धदेखि मेरो यस अघिको जागिर र इन्टरनेटसँगको अटुट साइनो एकाएक तोडियो । त्यसपछिको नयाँ जागिर 'खाउँ भने दिनभरिको शिकार नखाउँ त कान्छाबाको मुहार' जस्तै भएर आयो, विहान देखि साँझसम्म पुरै कम्प्युटर प्रतिबन्धित । यति लामो विदेश बसाईमा ममा विकसित भएको अभ्यस्तता खलबल मात्र भएन, म पुरै हतास भएँ । अनियमित त छदै नै थिएँ म, त्यसमाथि यसरी इन्टरनेट बेगर बाँच्दा यो परदेश कस्तो भयो होला ? म पखेटा काटिएको चराजस्तै भएँ। रातको बसाई बाहेक मसँग अरु कुनै समय बाँकी भएन - लेख्न पढ्न र इन्टरनेट चहार्न । यस्तो कठीन घडीमा सिर्जनशीलता कहाँ बाँकिरहन्थ्यो ?

'नेभर गिभ अप ' मनले जति पटक हरेश खान खोजे पनि मैले आफूलाई यसरी नै सम्झाएँ । कम्तीमा मसँग जागिर छ, वैधता छ अनि आफ्नो र परिवारको ससानो खुसी किन्न सक्ने अवस्थामा यसैले गर्दा छु । सधैं आफूले चाहेको त कहाँ हुन्छ र ? त्यसमाथि यो परदेश । आफूलाई यसरी सम्झाइरहेँ र असाध्य महत्वपूर्ण कार्यहरू रातको इन्टरनेट बसाइमा गर्न थालेँ । यद्यपि इन्टरनेट बिनाका पलहरू असाध्य भारी हुन्दा रहेछन । संसार चियाउने त्यही एउतै झ्याल हुने बन्दीहरूका लागि अत्यन्त कष्टप्रद र छटपटी हुँदोरहेछ । यसरी धेरै समय बिते ।

तरपनि मैले यो मन्त्र दोहोर्याइरहें, 'नेभर गिभ अप' र कहिल्यै हरेश खाइनँ । एकदिन मलेसियाका ब्लगर दाजु जनकमान डंगोलले आइप्याडमा नेट चलाउने कुरा कतै लेख्नुभएको थियो, त्यसपछि मैले पनि सानो आइप्याड मिनी किनेँ र कम्प्युटर रेस्ट्रिक्टेड आवरमा पनि लुकीछिपी चलाउन थालेँ ।

यसरी चलाउँदा इन्टरनेटमा गर्न मिल्ने लगभग अधिकांश कार्य गर्न सकिने रहेछ । त्यही बानी पार्न चाहि शुरुमा अलि अप्ठेरो । बिस्तारै नेपालीमा टाइप गर्न सिकें । खोलमै ब्लुटुथ वाला बेतारे किबोर्ड पनि जडान गरेपछि मिनिप्याड लगभग कम्प्युटरको रुपमा आयो । अहिले त फेसबुक र इन्टरनेट मजाले चहार्न थालेको छु ।

यद्यपि केही काम गर्नु पर्दा, साहित्यसंसारमा समाचार अपडेट गर्नु पर्दा वा केही लेख्नु पर्दा रातकी इन्टरनेट बसाई पर्खन्छु । यी यो पोष्ट टाइप गरिरहँदा रातको ११ नाघिसकेको छ । अब कहिलेकाही लेख्छु भन्ने रहर फेरि पलाएको छ । मूड र फुर्सदले साथ् दिए लेख्ने नै छु ।

कृष्णपक्ष
हाल इजरायल
फेसबुकमा म यहाँ भेटिन्छु - http://facebook.com/eKrishnaThapa
Next Story: Older Posts Home

तिर्खा लागेपछि ...

No comments

Wednesday

पुस्तक र इन्टरनेट नहुँदो हो त यो परदेश कति उदास उदास हुन्थ्यो होला ? कहिलेकाही झ्यालबाहिर हेर्छु, नीलो संसार फ़ैलिएको छ पर क्षितिजसम्म । तर यो आँखाले देख्ने सांसारिक फैलावट भन्दा पर पनि केही छ, त्यो 'केही' मेरो सबथोक हो । यो श्रमशिविर र पिंजरा बाहिरको मुक्त आकाश हो मेरो । जुन आकाशमा म निर्धक्क उड्न सक्छु पंखा फैलाएर ।

यो नीलो रंगको साँघुरो संसारभन्दा पर अर्को बिशाल संसार छ, जहाँ म बाँचेको छु । त्यो संसार जो म आँखा बन्द गर्दा देख्ने गर्छु । त्यो संसार जहाँ मेरा सपनाहरु छन, त्यो संसार जहाँ मेरा कथाका पात्रहरु छन र तपाईं हुनुहुन्छ - मलाइ पढिरहेको, सुनिरहेको ।

नत्र के थाहा , म कुन शहरको कुन गल्लीमा, कुन महलमा वा झ्यालखानामा खुन संग नुन साटिरहेको छु, पसिना बेचिरहेको छु । के थाहा, मेरो सप्पै सप्पै समय अरु कसैलाई बेचेर 'शुन्य समय' बाँचिरहेको छु कि ?

'प्रत्येक मानिस आख्यानका अलिखित अध्यायहरु बाँचेका हुन्छन' तिर्खा कथा संग्रहको अन्तिम पातोमा लेखिदिएको छु मैले । हो हामी आख्यान बाँचेका छौं, मिथ्या बाँचेका छौं । सपना बाँचेका छौ ।

'के गर्दैछौ अचेल ? केही लेख्दैछौ कि !' इनबक्सहरु भरिएका छन । कहिलेकाही आफैलाई पनि सोधिहेर्छु - साँच्चै म के गर्दैछु होला ?  सबैभन्दा कठिन प्रश्न यही बनेको छ । अहँ केही पनि गर्दै छैन, अर्थात केही नगर्नुमा व्यस्त छु । यौवन, बल र पसिना बेचेर बाँच्ने उपक्रममा सारा समय बर्बाद गर्नुलाई केही गर्नुको संज्ञा दिन किमार्थ सकिरहेको छैन । भनिहाले नि 'केही' त मेरो सपना हो र केही गर्नु, त्यो सपनाको बाटो हिड्नु हो ।

तर कति सपनाको लोभ बाँडेर कति सपनाको हत्या गर्छ परदेश, कसलाई के थाहा ?

प्रिय मित्र,
मैले मेरा सप्पै गुनासाहरु तपाईलाई सुनाएको छु । मैले खुसिमा हासेका र पीडामा रोएका पलहरु बाँडेको छु । मनमा जेजे आए, जुन जुन बिषयले मलाइ घचघचाए तिनलाई शब्दमा पोखेको छु । अभिव्यक्तिका निश्चित बिषयहरु छैनन् । फेरि लेख्ने मेरो कर्म पनि होइन, पराइभुमिमा पसिना बगाउन हिडेको मानिससँग कति समय हुन्छ र ?  यद्यपि समय चोरी चोरी डायरीका पानाहरु कोरेको छु मैले, तपाईलाई सुनाउन । आज यो किताबको स्वरुपमा आएको छ - जसको नाम राखिदिएको छु - 'तिर्खा' ।

तिर्खा भित्र थुप्रै कथाहरु छन, भलै मैले परदेशको कुनै कुनामा बसेर यी कथाहरु र तिनका पात्रहरुको रचना गरें हुँला । तिनले खेल्ने भूमिकाको कल्पना गरें हुँला तर यो पुस्तकमा म, तपाईं र हाम्रा असंख्य सपनाहरु अटाएका छन । र हामीले बाँचेको जीवनका, हाम्रै आँसु र हाँसोका कथाहरु लेखिएका छन ।

आशा छ पक्कै पढ़नुहुनेछ ।

कृष्णपक्ष,
तेल अभिभ, इजरायल



Next Story: Older Posts Home

छोरा पहिलोपटक स्कुल जाँदा

2 comments



जेरुसेलम, माउन्ट ओलिभ, इजरायल ।
बितेका दिनहरु फर्कंदैनन - समयको नियम । तर सम्झनाहरु भने बारम्बार फर्किरहन्छन, हृदयको ढोका ढकढक्याउदै ती फेरि फेरि आइरहन्छन । म सम्झन्छु, जेरुसेलम जैतुनको पहाडैमा अवस्थित रेड क्रिसेन्ट अस्पताल । तिमीले पहिलोपटक यस धर्तीमा पाइला टेक्दा म भित्र जुन खुसिको लहर उर्लिएको थियो, त्यसको उच्चताको मापन संसारका कुनै पनि यन्त्रहरुले गर्न सक्ने छैनन ।

तिमी पहिलो पटक उभिंदा, पाइला सार्दा र तिम्रा कलिला ओठहरुले 'बाबा' भनेर सम्बोधन गर्दा अनि आज कपि र कलम बोकेर तिमी स्कुल जाँदा म भित्र त्यस्तै चरम खुसिहरुको पुनरावृत्ति भैरहेको छ । साच्चै मान्छेको मनलाई रमाउन कुनै न कुनै बहाना चाहिँदो रहेछ । चिन्तित भएको घडी होस् या कुनै कारण उदास भएको बेला पनि जब तिम्रो हसिलो अनुहार देख्छु, म सबैथोक बिर्सिएर त्यसै त्यसै रमाएको हुन्छु ।  मैले आफ्ना जीवनका धेरै पीडाहरु तिम्रै मुस्कान हेरेर भुलेको छु । तिम्रा चंचल आँखामा मैले धेरै सपनाहरु देखेको छु ।



प्रिय कौस्तुभ,

तिमी नेपाल गएपछि मैले तिमीलाई धेरै 'मिस' गरेको छु । आजभोली म यति व्यस्त भएको छु कि पुराना दिनचर्याहरू विल्कुल बद्लिएका छन मेरा । अझ धेरै एक्लो, अझ धेरै बेखबर अझ धेरै विरानो ... बारम्बार सोच्छु - यस्तो कहिलेसम्म ? अझै कतिन्जेल बस्ने होला यसरी यौवनको उर्जा र पसिनाहरू पराइ भूमिमा सिंचेर ? वैंश र रहर विदेशी माटोमा मिलाएर ? घर कहिले फर्किने होला  ?

मैले लेखेका यी हरफहरु पढ्न र बुझ्ने हुन तिमीले अझ केही समय बाकीं नै छ । तर हरेक दिन कम्प्युटरको स्क्रिनबाट ' पापा बल खेल्न आउनुस न' भनेर जब तिमी बोलाउछौ, म बिर्सन्छु यसबेला  हाम्रो बिचमा कति अग्ला अग्ला पहाडहरु, खोला नालाहरु, समुन्द्र्हरु र सैयौं माइलको दुरी छ । ती सबै  मेटिएझैं लाग्छ र म तिम्रै समिप भएझैं तिमीसंग खेल्न हतारिन्छु ।


तिमी पनि त्यहाँ एक्लै भएको बेला सोच्दा हौ, सधैं किताब पल्टाएर वा कम्प्युटर चलाएर धुमधुम्ती बस्ने पापा आजभोली कता हुनुहुन्छ होला ? अहिले पनि चौरमा निस्किएर बल खेल्नु हुन्छ कि हुन्न होला ?

कौस्तुभ तिमीले हल्ला गरेको, सामानहरु 'बलागान' छरपष्ट पारेर बदमासी गरेको कोठाको प्रत्येक कुना कुनामा अझ ताजै छ, तिमी दौडिएको, उफ़्रिएको ।  मेरो एकलकाटे स्वभावलाई तिमी च्यालेन्ज दिन्थ्यौ र हास्न सिकाउथ्यौ । तिम्रा ओठबाट निस्कने सुरिला स्वरहरुले मेरो जीवनको गीतमा संगीत भरेका थिए ।

आज तिमी पहिलोपटक स्कुल जान शुरु गर्दा म धेरै हर्षित भएको छु । मध्यरात भएको छ, सारा शहर निदाएको बेला म तिम्रो यादमा हराईरहेको छु र यो रातको समय चोरेर त्यही हर्ष लेखिरहेछु, खुसि लेखिरहेछु । मैले मेरा सपनाहरु अब तिम्रो आँखामा देख्न थालेको छु, जसरी तिम्रा हजुरबुबाले म पढ्न स्कुल जाँदा शायद त्यस्तै सपनाहरु देख्नु भएको थियो ।

छोरा, बुझ्ने भएपछि तिमीले यी प्रश्नहरुको उत्तर आफैं खोज्नू ।


आज किन घरमा हुनुहुन्न बाबा ?
भोली किन घरमा हुने छैन छोरा ?
र यो परदेश नियति हाम्रो भाग्यमा कहिलेसम्म लेखिईरहन्छ   ?







Next Story: Older Posts Home

आमालाई सम्झेर मन ....

3 comments

Saturday

आमा र बुबा 


आमा सँग कुरा गरेर म भावुक भएछु, कतिखेर आँखा रसाए पत्तो पाइन ।

कम्प्युटरमा आमा हुनुहुन्छ। मेरो झुस्स दारी र केही महिना देखि नकाटेको लामो कपाल देखेर भन्दै हुनुहुन्छ - 'हन कति अल्छी भाको हँ कान्छा ?

आमाले सपनाको फेर समाउदै हिड्न सिकाउनु भयो, भन्नु हुन्थ्यो - सपनालाई पछ्याउन र पहिल्याउन जान्नु पर्छ मानिसका सपनाहरु साकार हुन्छन । हरेक मानिसका मनमा आ आफ्नै किसिमका लक्ष्यहरु हुन्छन - लक्ष्य नदेखिने टुंगो हो, त्यहाँ सम्म पुग्न धेरै बाटोहरु हिड्नु पर्छ । आमालाई थाहा छ - म त्यही बाटो हिड्दै धेरै टाढा आइपुगेको छु ।

गृष्मको तापमा वाफिएर मन उकुशमुकुश भएको बेलापनि उहाँको दिव्य मुहार सम्झंदा लाग्छ आमाको ममता शितल छहारी हो । परार सम्म मलाइ सानै छु जस्तो लाग्थ्यो । सानोको कुरा गर्दा, त्यो बेलाको सम्झना भयो जसलाई सम्झेर बेला बेला म आफै मुस्काउछु । पहिलो पटक पढ्न जान थालेको थिए, उकालो हिड्नु पर्थ्यो स्कुल पुग्न । शुरुमा त आमालाई छोड्न साह्रै गाह्रो भयो, धुरुधुरु रोएको याद छ । दिदी र दाजुले जबर्जस्ती लैजान्थे । घरको धुरी देखुन्जेल फर्की फर्की हेर्दै जान्थेँ ।

पछि नया नया साथीहरु भए, रमाउन थालेँ । आमाको एउटा बानी थियो, घर फर्केपछि मलाइ काखमा लिनु हुन्थ्यो र टाउको सुम्सुम्याउनु हुन्थ्यो । सोध्नु हुन्थ्यो - मास्टरले आज केके पढाए ?

घर आइपुग्ने बेला त म खुीले लगभग कुदेर आमाको अगाडी पुग्थें । दिनभर त्यसकै प्रतिक्षामा बसेजस्तो लाग्थ्यो ।

तर त्यो दिन अर्कै भयो । पहिलो पल्ट रिजल्ट आउने दिन थियो । पास र फेल छुट्याउने । म उत्कृष्टताका साथ पास भएर कक्षा चढें, मास्टरले कापी र शिसाकलम पुरस्कार पनि दिए । दाजु दिदीले उचाल्दै घर ल्याए ।

मलाइ संसार जितेजस्तो लाग्दै थियो । घरमा पुग्ने बेला आफ्नै उमेरका र केही ठुला साथीहरु पनि जम्मा भैसकेका थिए। सधैं झैं आमाले मलाइ काखमा लिनुभयो र टाउको सुम्सुम्याउनु भयो । तर मलाइ भने आफु ठूलो भएको जस्तो लागिसकेको थियो । साथीहरुको अगाडी लाज लागेको जस्तो पनि भयो । मैले भने - ' आमा मलाइ अब यसो नगर्नु न, अब त ठूलो भैसकें नि । '
'ए हो र?' भन्दै आमा खुब हास्नु भयो ।

पछि पनि मैले यसो भनेको कुरा अरुलाई बेला बेला सुनाएर हास्ने गर्नु हुन्थ्यो । तर त्यसपछि पनि उहाँको बानी भने धेरै समयसम्म गएन । म भागेपनि कताकताबाट थाहै नपाइ म उहाँको काखमा परिसकेको हुन्थें ।

धेरै पटक हिलोमा चिप्लेर पछारिदा आमाले उठाएर सुम्सुम्याएको सम्झना छ । त्यस्तो बेला लाग्थ्यो, आमाको अगाडी ठूलो भएँ भन्नु पनि बेकार रैछ । आमाको सुमसुम्याईमा, आमाको ममतामा हरेक घाउ र चोट निको पार्ने जादु लुकेको छ ।

अहिले दुइ दशक पछि आज म यो कुरा सम्झिरहेको छु । आमाको मुख हेर्ने दिन ।

आज भन्दैछु - उमेरले र समयले जति बुढो बनाउदै लगे पनि आमा ! हजुरका अगाडी मेरो मन सधैं सानै हुनेरहेछ ।
Next Story: Older Posts Home

गुगलको पैसा - दश डलर टार्गेट

10 comments

Thursday




धेरै दिन भयो, व्यस्त व्यस्त छु तर केमा ? यसको उत्तर भने आफैसंग पनि छैन । सबै कुरा अनियमित । एउटा कुरा भने नियमित जस्तै भएको छ - ब्लग लेख्ने बेला सधैजसो व्यस्तताकै प्रसंग उठाएर शुरु गर्नु :)  केही कथाहरु त छन, अलिकति च्यातिएका, लेख्दा लेख्दै छोडेका अधुरा वा पुरै लेखेर पनि राख्न मन नभएका ।  दिनहरु भिन्न प्रकृतिले व्यतित हुन् थालेका छन, पहिलेको भन्दा बिल्कुल भिन्न । ओह! म हिड्ने, हास्ने, खेल्ने र म रम्ने बिषयहरु कस्तरी बदलिएका ?  पार्थक्यको यो भिषण पर्दा लाउने समयसँग बारम्बार सोधी रहेछु म,  सिर्जनामा हराउन चाहने र प्रतिभा उजागर गर्न चाहने त्यो मन कहाँ गयो ? ए कोही फर्काइदेउ, त्यो कृष्णपक्ष कहाँ गयो ?


रहर र चाहना अनि लक्ष्य उद्देस्य अनगिन्ती हुन्छन मानिसका.. केही पुरा र केही अधुरा । ब्लग र लेखन त्यस्तै एउटा रहर । हामी हरेक दिन इन्टरनेटमा जान्छौं, दिनमा कैयौं पटक गुगललाइ सामाग्री खोज्न अह्राउछौँ ।  फेसबुक त हामी धेरैको आदत नै भएको छ । संसार डिजिटल दुनियामा प्रवेश गरेजस्तो, इन्टरनेट संस्कृतिमा हामी रमाइरहेका छौँ ।  हाम्रो यही इन्टरनेट ट्राफिक यानेकि भिजिट र क्लिकको फाइदा फेसबुक र गुगल जस्ता कम्पनीहरुले उठाइरहेका छन । हामीले प्रयोग गरेको भिजिट ट्राफिकको आधारमा उनीहरुलाई इन्टरनेट एड मिल्ने गर्छ तर त्यो पैसा एक्लै लिइरहेका हुन्छन ।  राम्रा ट्राफिक भएका  ब्लग, साइटहरुलाइ केही विज्ञापन शेयर गरेर नाउँमात्रको आय गुगलले बाडे पनि तपाईं हामी जस्ता सामान्य प्रयोगकर्ता (ट्राफिकको खास श्रोत) लाई भने उनीहरु केही शेयर गरिरहेका हुदैनन् ।

अघिल्लो बर्ष नेपाली ब्लगरहरुको भेलामा मैले गुगल आम्दानीको बिषयमा कुरा उठाएको थिएँ । सबैको जोड स्तरीय सामाग्री सम्प्रेषणमा केन्द्रित रह्यो, पैसामा हैन । हुन त हो, सिर्जना अर्थमुखी हुनुहुन्न र यो पैसामा तुलना हुन पनि सक्दैन  । त्यसमाथि नेपाली भाषामा लेखिएका ब्लगहरुमा गुगलको पैसा आकाशको फलजस्तै हो । तर छिमेकी राष्ट्र भारतका अमित अग्रवालले ब्लगबाट मात्र महिनाको ३६ हजार डलर आम्दानी गर्दा  रहेछन । ३६ हजार डलर ? यो हाम्रो लागि अपत्यारिलो लाग्न सक्छ । तर सत्य हो, उनका थुप्रै प्राविधिक विषयका सक्रिय ब्लगहरु छन, उनीजस्ता भारतमा सिक्स डिजिट आम्दानी हुने असंख्य फुल टाइम ब्लगर/पब्लिशरहरू छन, उनीहरूको पेशा नै व्यवसायिक ब्लगिङ हो ।

नेपाली वेब पब्लिशरले किन सक्दैनन् त? जहाँ ट्राफिक र क्लिक हुन्छ भने त्यहाँ रेभिन्यु हुन्छ, थोरै हुन सक्छ तर हुन्छ । यही सिदान्तलाइ पच्छ्याउदै मैले सानो टार्गेट बनाएँ - टेन डलर टार्गेट पर डे । अर्थात दिनको दश डलर बनाउने । एड्सेन्स र एडवर्ड भन्ने कार्यक्रम अन्तर्गत विज्ञापन राख्न दिन्छ गुगलले । गुगलको अर्बौं आम्दानीको मुख्य श्रोत पनि यही नै हो । पहिलो पब्लिशरलाइ र दोश्रो पब्लिशर + विज्ञापनकर्तालाइ । पहिलो कार्यक्रममा भाग लिएँ जसमा मेरा सर्च इन्जिन र युट्युब होस्टेड विज्ञापन पनि शामिल छन । र इन्टरनेटमा बिताउने फुर्सदको समयलाइ सामाग्री खोजी, पोस्टिङ, शेयरिंग र भिजिटर ग्यादरिंगमा लगाएँ। दश डलर निकै सानो टार्गेट हो, विदेशमा बस्नेहरुलाई एकडेड घन्टाको पारिश्रमिक होला । तर मैले सम्झिएँ - 'स्मल थिंङ्गस क्यान मेक अ बिग डिफरेन्स' । त्यसमाथि म गाउँमा जन्मिएको हुर्केको सामान्य किसानको छोरा । घर फर्केपछि दिनको दश यानेकि महिनाको ३०० मेरो जागिर बन्न सक्छ । फेरी त्यसबेला सम्म त यो टार्गेट दोब्बर हुन पनि के बेर ?
My google adsense overview


म धेरै समय यही  स्मल थिंङ्गमा अल्झिएँ ।

यो सानो टार्गेट त क्रस भएको छ तर यसले मेरो दिनचर्या र सिर्जनामा पारेको असरलाइ न्यून गर्नेपर्ने अर्को आवश्यकता साथसाथै थपिएको पनि छ । समयको व्यवस्थापन कसरी गर्ने  ?

आफुलाई अनुशासन र नियममा नबाँधी केही हुदैन, यो त प्रष्ट छ । त्यसैले  मैले  अब हरेक हप्ताको शुक्रबार एउटा रचना (कथा, कविता, गीत, गज़ल या गन्थन मन्थन जेसुकै ) यही ब्लगमा लेख्ने अर्को टार्गेट बनाएको छु, 'दश डलर टार्गेट' जस्तै त्यो टार्गेट पनि पुरा गर्न सकिएला ?

Next Story: Older Posts Home

जेरुसलायम सेल जहाव

4 comments

Tuesday


(
म भर्खर इजरायल प्रवेश गर्दा लगभग पाँच बर्ष अघि शुरुमा इजरायलबाट प्रकाशित हुने पत्रिका "नेपाल चौतारी"मा प्रकाशित निकै पुरानो लेख ।)




वैजनी रंगका ढकमक्क शिरीषका फूलहरु भूइँभरी पोखिएका छन् । व्यवस्थित घर अनि फराकिला भित्री सडकका ठाउँठाउँमा निर्माण गरिएका उद्यानहरुले यहाँको सुन्दरता मात्र बढाएको छैन्, विदेशबाट आएका हामी जस्ता केयरगिभरहरुको दिनाचर्या सरल र मधुर बनाइदिएको छ । होचा सिसौका पातहरु हल्लाउँदै शीतल हावा बहन थालेपछि प्रायः हरेक साँझ म मेरो बूढो साथीसँग घुम्न निस्कन्छु, अनि ऊ सधैं मर्दै र बाँच्दै गरेको यो शहरको र उसको कथा हिब्रू मिश्रित अंग्रेजीमा मलाई सुनाउन थाल्छ ।

धेरै हिउँद वर्षा काटिसकेको अरबी मूलको यो बुढो ‘जोहारिस’ मेरो अगाडि आफैंमा एउटा सिङ्गो इतिहास बनेर उभिन्छ, जसले इजरायलको विगतलाई आफैले देखेको छ, भोगेको छ र कति–कति अविस्मरणीय पलहरुलाई छातीको भित्री तहमा शिलालेखजस्तै आरुढ गराएर राखेको छ ।

मायासँग भेट नभएको पनि बर्षौ भइसकेछ ।
नेपाली नाम जस्तै लागेर म प्रश्न गर्छु— माया को थिइन ?

माया उसकी बाल्यकालदेखिकी अभिन्न साथी थिइन्, अर्थात खबेरा... लामो सुस्केरा हाल्दै ऊ सम्झन्छ - 'माइ' (मे) मा जन्मिएकीले माया नाम राखेको रे । यसपालीको जन्मदिनमा छोरीको घर बेरशेवा जानु अघि नै धेरै पटक उसले मायासँग फोनमा कुरा गरेको थियो । कतै कुनै सिलसिला मिलाएर भेटन पो सकिन्छ कि ! शायद यस्तै झिनो आशा उसको मनमा हुँदो हो । त्यो धोको फेरि पनि विविध कारणले अधुरै रह्यो, सबै कारणहरुको विश्लेषण गर्ने सामर्थ्र्य पनि उसको उमेरसँगै क्षीण हुँदै गइसकेको छ । माया पनि धेरै बुढी भइसकिन् अब त नभेटी मरिन्छ होला !

समयले ती दुईलाई परस्पर शत्रु राष्ट्रको नागरिक बनाएपछिका शुरुका दिनमा पश्चिम किनारको सिमानामा काँडाको तार बाहिरबाटै भेटेर रुँदै फर्केको तितो अतित सुनाउँदै गर्दा उसको गला अवरुद्ध हुन्छ । देश फाटिए पनि मन र माया त काँ फाटिंदो रहेछ र ?

मन र भावनाको बहाव विपरीत बगेर पनि जिन्दगीले गति त लिंदो नै रहेछ । जीवनको धेरै लामो बाटो हिंडिसकेको छ उसले, यो यात्राका अन्तिम वर्षहरुलाई सजिलो बनाउन भगवानले मलाई पठाइदिएको हो भनेर ऊ मेरो मन जित्छ । मेरो उत्सुक स्वभावको पनि ऊ अत्यन्तै प्रशंसा गर्छ । नेपाली चौतारीको मेरो लेख देखेर मलाई लाग्छ मभन्दा ज्यादा त ऊ नै हर्षित हुन्छ होला । शुरुदेखि अन्त्यसम्मका एक–एक हरफहरु उल्था गरी गरी सुनाउनु पर्छ ।

हामी धेरै अनुभवहरु साटासाट गर्छौं, यिनै बुढाबुढीको मुहारमा देखिने खुशी र आँसुका रेखाहरु पढ्न हामीले अमूल्य समयसँग सम्झौता गरिसकेका छौं– एउटा सुसारे भएर ।





उसको उच्च अध्ययन अमेरिकामा भएको थियो । त्यहाँ पनि माया उसकी सहपाठी थिइन् । क्यालिफोर्निया राज्यको लस एञजल्समा रहँदाका ती स्वर्णीम दिनहरु ऊ सम्झन्छ । अमेरिकी समाजमा ती अनन्य जोडीले यौटै देशको प्रतिनिधित्वको रुपमा आफूलाई स्थापित गराएका थिए । इम्पेरियल राजमार्ग हुँदै साउथवेस्ट कलेजसम्म आउँदा जाँदा प्रायः माया ऊसँगै हुन्थिन् । कति पटक त मायाले उसैको भान्सामा खाना पकाइदिएकी थिइन ।

त्यसबेला मायासँग जोडिएको इस्लाम धर्मले के फरक पारेको थियो ?

उमेरले माया ऊभन्दा अलि जेठी थिइन होला । उनीहरुको घर सँगै थियो, त्यसबेला । सँगै खेलेर हुर्किएर र अनुभवहरु बाँडेर यौवन र जीवनका असीमित आयामहरु मसँग उसले सिक्ने र बुझ्ने  अवसर पाएको थियो । ऊ भन्छ, उसकी पत्नीसँग जति उसको खुशी गाँसिएको छ, त्यसभन्दा कयौंगुणा धेरै मायाका सम्झानाहरू उसभित्र आजसम्म बाँचिरहेको छ । किन, ऊ आफैंलाई थाहा छैन् ।

के ऊ मायालाई मन पराउँथ्यो वा प्रेम गथ्र्यो ? मेरो जिज्ञासालाई पल्टाउँदै यसले यत्ति भन्यो, यदि प्रेमको परिभाषा बदल्न सकिन्छ भने,“उलाइ केन, उलाइ लो” ।

ऊ अरबी मूलको यहुदी थियो र माया इस्लामिक परिवारमा जन्मिएकी थिइन्, उसलाई थाहा थियो उनीहरुको बीचमा सम्बन्ध स्थापना हुनु सामाजिक र धार्मिक अपराध थियो  ।

विदा मनाउँदा प्रायः समुद्रको किनारमा जान्थे उनीहरु । पौडन पनि उनीहरुले लगभग सँगै सिकेका थिए । कतिपटक उनीहरु साँझ घोडामा घर फर्किदाका ती रमाइला दिनहरुको बयान सुनाउँदा सुनाउँदै ऊ भन्छ– म तन्नेरीमा तिमी जस्तै थिएँ ।

“क्रिस के तिमीले कहिल्यै ऊँटको दूध पिएका छौ?”
“अहँ छैन, किन र ?”

कहिलेकाही अचानक यसरी प्रसंग मोडेर कुरा गर्ने स्वभाव प्रायः यताका बुढाहरुको हुने गर्छ । यो बुढ्यौलीको दोष पनि हुनसक्छ । तर ऊ प्रसंगभित्रै रहेछ । एकदिन जेरुसलेम घुम्न निस्कँदा उनीहरुले बेस्करी ऊँटको दूध पिए अरे । त्यो बेला माया पनि अलिकति बहकिएको कुरा उसले स्वीकार ग¥यो तर संगसंगै जीवन बिताउने आँट गर्ने शक्ति उनीहरुलाई न त यो धर्मले दियो न त यो समाजले एकपटक मुस्लिम युवकसँग प्रेम गरेको चलचित्र खेलेकै भरमा मनिषा कोइरालाको हत्या गर्ने प्रयास भएको कुरा म सम्झन्छु ।

मान्छेको समाज जहाँ पनि उस्तै त हुँदो रहेछ  ।

माया स्पष्ट खुला बिचारकी युवती थिइन । मायामा त्यस्तो धार्मिक दृढता उसले कहिल्यै महसुस गरेन । मायाले इस्लाम परिवारमै विवाह गरिन्, उनीहरु इजरायलबाट विस्थापित भए । हुनत यहुदी समाज र साँस्कृतिक सामाजिक थिचोमिचोसँग सम्झौता गरेर अझ धेरै इस्लामिक समुदाय इजरायलमा मिलेरै बसेका छन् दुखेको कुरा माया त्यो भित्र पनि परिनन् ।

मौसम ऋतु र प्रकृतिका साजहरु बदलिदै गए । कैयन अनिश्चित समयहरु स्वतः स्वीकारित भए र उनीहरु आ–आफ्नो संसारमा हराए ।

कसरी कुनै संयोगवश उसकी छोरी मानव अधिकारवादी सामाजिक संस्थाबाट स्थलगत रिपोर्टको लागि केही वर्ष पहिले पश्चिम किनार जाँदा बुबाको उही पुरानो साथी मायासँग परिचय भएको थियो । ऊ भन्छ, त्यसदिन उनीहरुले दिनभर जस्तो टेलिफोनमा कुरा गरे अरे ।

माया एकपटक जसरी पनि जेरुसलेम आउन चाहन्छिन् । जेरुसलेमको पुरानो शहर धीत मर्ने गरी घुम्ने इच्छा भएको कुरा उनी बारम्बार व्यक्त गर्छिन् । जेरुसलेम उनीहरुलाई मुटुको स्पन्दन जत्तिकै प्यारो छ । सन् १९६७ को अरब –इजरायल बीचमा भएको घमासान युद्ध पश्चात जब जेरुसलेम मुक्तिको घोषणा गरियो, त्यसबेला हजारौं सर्वसाधारण र सैनिकहरुसँग हातेमालो गर्दै उनीहरु पनि जेरिचो हुँदै मृतसागरको सडकतर्फ फैलिएको विशाल बिजयोत्सवमा सहभागी भएका थिए ।

आजसम्म जब जब कतै त्यही समयको हृदयस्पर्शी त्यो संगीत गुञ्जन्छ , ऊ भावविभोर भएर मायालाई सम्झन पुग्छ । माउण्ट मन्दिरको आकाशमा टल्किने सुनको गजुरको चमक जरुसलेमको दिव्य ज्योति हो , ऊ भन्दछ तर यो ज्योति, यहुदीहरूको मात्र होइन, १७ औं शताब्दीतिरका इस्लामहरुले नै यहाँ सुन भरेका हुन् ।



यरुसलाइम शेल जहाव
वेशेल निखोसेक
वेसेल ओर...
हो लिखोल शिराइख
आनी किनोर....।


ऊ भन्छ शायद हाम्रो लागि लेखिएको त्यही नै अन्तिम दिन रहेछ, त्यसपछि उनीहरुले कहिल्यै त्यसरी जेरुसलेम घुम्न पाएनन् र त्यो दुर्लभ समयको पुनरावृति केवल मन र स्मृतिमा मात्रै रहिरह्यो त्यसैले पनि हुनसक्छ, त्यो गीत त्यति प्यारो भएको । स्वतन्त्रता दिवस तथा राष्ट्रिय सार्वजनिक समारोहहरुमा प्रायः सुनिने यो गीत इजरायलको राष्ट्रिय गान 'हातिक्भा' भन्दा पनि लोकप्रिय छ । इजरायलीको मनमा बसेकैले हुनुपर्छ यसले दोस्रो राष्ट्रिय गानको मान्यता पाएको छ ।

धेरै गायकगायिकाले यो गीत गाइसकेका छन् । मेरो आँखाको कोतूहलता पढ्दै ऊ मलाई पूरानो बाकसबाट एउटा क्यासेट झिकेर सुनाउँछ । सुली नतानको सुरिलो स्वरमा स्वरबद्ध त्यो गीत बज्न थाले पछि ऊ भन्छ– माया पनि उस्तै गरी गाउँथिन ।


मेरो भाषामा म यसरी बुझ्छु,

ए धिपधिप प्रकाशले 
प्रद्धिप्त भएको
सुनै सुनको सुवर्ण जेरुसलेम
म तिम्रो संगीतको सितार हुँ ।

संगीतको लयसँगै म प्रसंग जेरुसलेमतिर मात्र केन्द्रित गर्न चाहन्थेँ । अद्धितीय शहर जेरुसलेम प्रतिको मोह यहुदीहरुमा मात्र होइन, सबै धर्मावलम्वीहरुमा उत्तिकै छ । संसारका अन्य शहरहरु तिनको विशालता, भौगोलिक सुन्दरता, आर्थिक सम्पन्नता वा यस्तै अन्य कारणले प्रसिद्ध भएका हुन सक्छन तर पवित्र अध्यात्मिक शहर जेरुसलेम किन अतुलनीय छ त ?

 किनकी जेरुसलेम देउताको शहर हो, उनीहरुमा विश्वास छ । जेरुसलेमको अर्थ शान्तिभूमि पनि हो, तर यसैका निमित्त अन्य शहरको तुलनामा सबैभन्दा धेरै वैमनस्य, धेरै संघर्ष र धेरै रक्तपातहरु भएका छन् । धेरै आँसुहरु बगेका छन् । यहाँ बेवोलोनियन, ग्रीक, तुर्की तथा रोमनहरुले एकपछि अर्को गर्दै ३८ पटकसम्म आधिपत्य जमाएका थिए । यही क्रममा यसका संरचनाहरु कैयौंपटक खण्डहरुमा परिणत भए, कतिपटक त बस्ती शुन्य उजाड भयो यो शहर । यद्यपि ईश्वरप्रतिको उच्चतम आस्था भने यो शहरमा सधैंसधैं बाँचिरहेको छ ।

यो धार्मिक क्षेत्र अन्य धेरै राष्ट्रहरुद्वारा पटक पटक अतिक्रमित भई राजनैतिक सार्वभौमिकता अन्तरित भएपनि यहुदी राज्यले मात्र राजधानीको रुपमा स्थापना गरेको हो, यहुदीहरु भन्छन् । यो हाम्रो पूख्र्यौली सम्पदा हो, प्यालेस्टिनीको कदाचित होइन । सन १९४८ अघि जो यहाँ बसोवास गर्थे र आफूलाई प्यालेस्टिनी भन्थे, उनीहरु त कतैबाट आएका आगन्तुक मात्र थिए । तर प्यालेस्टिनीहरु भने यो सत्य नभएको दावी गर्छन । उनीहरुका पिता–पूर्खा र कयौं पुस्ता यहाँ बस्तै आएका थिए। एकाएक सलहसरी आएका यहुदीको जमातले किंवदन्तीको आधारमा आफूहरुलाई जवर्जस्ती धपाएर अन्याय गरेको उनीहरुको भनाई छ ।

मेरो बुढो साथी भन्छ– यूरोपमा यहुदीहरुमाथि भएको क्रूर अत्याचारको बदलामा विनाकारण यहाँ प्यालेस्टिनीहरुले मूल्य चुकाउनु परेको मात्र हो ।

जेरुसलेम र मायासँग सम्बन्धित स्वर्णीम यादहरुलाई थाति राखेर ऊ मलाई अर्को कथा सुनाउँछ । यहुदी र अरबहरु को थिए के तिमीलाई थाहा छ ? डा. विष्णु चापागाईंले यही पत्रिकाको पहिलो अंकमा लेखेका थिए— “इस्लाम र यहुदीका पूर्खा अब्राहमले सृष्टिको शुरुवात यही स्थानबाट गरेको विश्वास गरिन्छ ।”

एकअर्कालार्इृ देखिनसहने यी दुई शत्रुका पूर्खा कसरी एउटै थिए?
ऊ सुनाउँदै जान्छ — यु्गौं पहिले तिनै अब्राहमलाई ईश्वरको अनुकम्पाद्वारा इजिप्ट देखि समस्त कनान क्षेत्र ( जसभित्र जेरुसलेम पनि पर्छ) प्राप्त भयो । “तिमी र तिम्रा सन्तानहरुले यहाँ राज्य गर्नू” भन्ने उनको आज्ञामुताविक उनका पुत्र इज्याक स्वतः यसको उत्तराधिकारी भए उनैका सन्तति यहुदीहरु हुन् ।

अब्राहमको एउटी सुसारेसँग अबैध सम्बन्ध रहेछ । उनेले इस्मायल नाम गरेको पुत्रलाई जन्म दिइन । उनलाई गृह निकाला गरियो, उनी सम्पूर्ण अधिकारिताबाट बहिस्कृत भइन । इस्मायल जवान भए पश्चात पिताको वंशीय अधिकार प्राप्त गर्ने धोको उनमा सधैं प्राप्त भइराख्यो । उनीहरुले विशाल मरुभूमि परान क्षेत्रमाथि अधिपत्य जमाए । उनैका सन्तति इस्लाम भनिए । इज्याकका सन्ततिहरू चाहि यहुदी भए।

त्यसैले जेरुसलेमका लागि भएको संघर्ष दाजुभाइको झगडा बाहेक केही होइन, ऊ प्रष्ट्याउँछ ।

फेरि हाँसो उठ्ने गरी ऊ यो पनि भन्छ— ईश्वरले त हामीलाई बस्नका लागि मात्र ठाउँ दिएका हुन, कुनै ग्रहको एक टुक्रा जमीन पनि कसैको होइन । यदि जेरुसलेमका नाममा सधैं युद्ध भइराख्यो भने उनले यसलाई विशाल पत्थरमा रुपान्तरित गरिदिनेछन् र, अनि जसले यसलाई छुन खोज्छ उसैलाई चोट लाग्नेछ ।


जेरुसलेमबाट पूर्वतर्फ जैतुनको पहाडमाथि हरेक प्रभात चियाउने सूर्यको किरणले सम्पूर्ण विश्वमा आस्थाको ज्योति टल्किरहेझै देखिन्छ । उत्तर दक्षिण फैलिएका पहाडहरुले घेरिएको यो उपत्यका भित्रको सुवर्ण शहर जेरुसलेमलाई इजरायलले अत्यन्त जतनले सुरक्षा र सम्मान गरेर राखेको छ । करीब ३००० वर्ष पहिले राजा डेविडले यहाँ राज्य गरेका थिए । यहुदीहरु भन्छन्— “त्यही बेलादेखि नै हाम्रो राजधानी जेरुसलेम हो ।”

शहरको मध्य भागमा रहेको माउन्ट मन्दिरको रहस्यमय अलौकिकता अवर्णनीय छ । विभिन्न समयमा विभिन्न शासकहरुद्वारा पटकपटक विनाश र पुनर्निर्माण हुँदै आएको यो धार्मिक सम्पदा पुरातात्विक, साँस्कृतिक र राजनैतिक दृष्टिकोणले अत्यन्त संवेदनशील रहेकोले धेरै मुलद्धारहरु निषेधित छन् । यहीँ अवस्थित अल अक्सा अस्जित र इस्लामिक धार्मिक स्थलले गर्दा मुस्लिमहरुका निमित्त पनि माउन्ट मन्दिर (माउण्ट मोरिया) उत्तिकै महत्वपूर्ण छ ।

ईशापूर्व ९६७ मा सोलोमनले बनाएको यो मन्दिर ईशापूर्व ५८६ मा वेविलोनीयनहरुले नष्ट गरेका थिए । फेरि ईशापूर्व ५१६ मा पुनर्निमित दोस्रो मन्दिर पनि ईशापूर्व ७० मा रोमहरुद्वारा भत्काइए पछि तिनका बाँकी अवशेषहरुबाट निर्माण गरिएको लामो पश्चिमी पर्खाल (western wall)ले यहुदीहरुको पराजय, आँसु र शोकमय सम्झनालाई प्रतिविम्वित गर्छ ।

गल्ली गल्लीमा यहुदीहरुको रगतको धारा बगुञ्जेलसम्म टाइटसका निर्दयी सैनिकहरुले आक्रमण गरिराखे । संसारभरिका यहुदीहरू यही दिशातर्फ फर्किएर प्रार्थना गर्छन ऊ भन्दै थियो —प्रत्येक दिनको हाम्रो प्रार्थना तेस्रो  काल्पनिक मन्दिरसँग सम्बन्धित छ, जुन यही स्थानमा निर्माण हुनेछ, जब यहुदी देवदूत यस धर्तीमा प्रकट हुनेछन् ।

जेरुसलेमको बयानभन्दा फेरि उसलाई मायाकै सम्झना गाढा भएर आउँछ । हाइफा, गोलान क्षेत्र तथा पवित्र शहर जेरुसलेमका पर्खाल, चर्च, मन्दिर र मश्जिदहरुमा शायद उनीहरुको पनि कथा लुकेको छ । उनीहरु घुमेका पाइलाका डोबहरु त्यही बेला मेटिएर गएपनि कहिलेकाही एकान्तमा त्यही पदचापको आवाजले ऊ झस्कन्छ ।

मायाविनाको उसको हरेक स्मृति अधुरो–अधुरो छ । डेविड टावरबाट उनीहरु घण्टौ जेरुसलेमको पुरानो शहर नियाल्थे रे कहिलेकाहीँ त जाफा गेटबाट ऊटमा चढेर भित्र पसेपछि साँझ परेको पनि हेक्का रहँदैनथ्यो रे । त्यो निकै पुरानो समयको कुरा थियो । मुस्लिम, यहुदी वा क्रिश्चियनहरुका आ–आफ्ना चोक, क्षेत्र तथा गेटहरु छन् यहाँ । “भाया दोलोरोसा” अर्थात जिसस क्रुसमा टाँगिएर दुख्दै हिडेको त्यो वेदनाको बाटो पछ्याउँदै कति क्रिश्चियन तीर्थयात्री हरेक वर्ष यहाँ आएर उनको दुःखद सम्झना गर्छन् ।

 जिसस क्राइष्टको जन्म र मृत्यु यहीं भएकोले क्रिश्चियनका लागि पनि यो क्षेत्र उस्तै धार्मिक महत्वको छ । त्यसै देउताका शहर कहाँ भनिएको हो र ?

नयाँ वर्ष “रोश हा सना” मा हामी धेरै खशी भयौं । हरेक नयाँवर्ष जस्तै यसपाली पनि शोफारबाट निस्किएको पवित्र त्तयनी धर्म र यसका कथाहरु कुँदिएका यी पहाडका पर्खालहरुमा प्रतिध्वनित हुँदै जेरुसलेम र सम्पूर्ण इजरायलभरी गुञ्जियो । हाम्रो हिन्दू धर्ममा शंख जस्तै महत्व रहेको यो शोफार एक प्रकारको विगुल हो जुन भेडाको सिंगबाट बनाइन्छ । यससँग यिनीहरुको धार्मिक र पारम्परिक महत्व गाँसिएको छ ।

योम किपुरको अन्तिम दिन , शोफार बज्नेबित्तिकै कुन्नी कुन सम्झनाले डो¥याएर हो मेरो बुढो साथी चुपचाप पियानो बजाउँदै थियो । म देख्छु, पुरानो शहर बाहिर हवाइमील अगाडि खिचिएको मायाको तस्वीर सामुन्ने मानौं ऊ कुरा गरिरहेको छ । मुस्काइरहेको उनको तस्वीरको पृष्ठभूमिमा मोन्टोफोरको हवाइपंखा टक्क अडिएको थियो यस्तो प्रतित हुन्थ्यो कि उसको स्मृतिमा त्यो समय पनि त्यसरी नै टक्क रोकिएको छ ।
म सुन्दै जान्छु,

बिस्तारै ऊ त्यही गीत गुनगुनाउँछ,
जेरुसलायम सेल जहाव..............।

Remake Verson by Liel Kolet



Remake Verson By OFRA HAZA


Original verson by Suli Natan
Next Story: Older Posts Home

मित्रताको आयु र गौरी हाउसको सम्झना

3 comments

Wednesday


[आज निकै पुरानो डायरीबाट एउटा सम्झनाको टाँसो राख्दैछु ।]


नोवल्टी सिनेमा घरमा ' LOC कार्गील' लागेको थियो । कार्गीलमा पाकिस्तानी सैनिकहरु संग भएको सीमा संघर्षमा आधारित भारतीय राष्ट्रवादी चलचित्र । गोर्खा राइफलले बगाएका रगतका कथाहरु र तिनले देखाएको बहादुरीका धेरै दृश्यहरु पनि थिए त्यहाँ । त्यसैले पनि होला यो भेगमा यसले खुब चर्चा पाएको थियो, यद्यपि ती सबै भारतीय स्वाभिमानसंग जोडिएर प्रस्तुत गरिएका थिए । हाम्रा जातीय स्वाभिमानका प्रश्नहरु त केवल मेचीपारिका नेपाली छातीभित्र र तिनले कोर्ने साहित्यमा मात्र सिमित थियो ।

घाम धेरै माथि आइसकेको थियो, सबेरै कालिम्पोंगका साँघुरा बजारमा उभिएका सटरहरुले आँखा खोलिसकेका थिए । बिहानै चिन्मयको पसलमा एउटा गीत सुनियो -

बस इतना याद रहे एक साथी और भी था ~~~

----------------------
हिजो साँझ अबेर सम्म खुब रमाइलो गरियो, रेली खोलाको किनारमा । केही समयदेखि दिनदिनै पिकनिक चल्न थालेको थियो हाम्रो । ७/८ जना भेला भयो, गाडी रिजर्भ गर्यो एकतिर कुद्यो । बिहान सम्म ह्याङगओभरले छाडेको थिएन, आज अर्को दिन शुरु भैसकेको थियो, कहाँ जाने र के गर्ने? प्लान तय भएको थिएन ।


प्रमुख योजनाकार बिहानदेखि देखिएन, मैले सोधें, आज 'कविन' खै त? आज भने उ एउटा काममा व्यस्त हुने भयो । हाम्रो योजनाहरूको सुत्रधार हुन्थ्यो कविन । ल यसो गरुँ भनेपछी तुरुन्त चाजोपाजो मिलाई हाल्थ्यो । आधा कालेम्पोंग बस्थ्यो आधा काठमान्डू । "बोर" लागेको भए सिनेमा हेर्न जाम न त ? संगै उभिएको समीरले भन्यो ।

बोर त एक महिना अघि काठमान्डू छँदा लागेको थियो मलाइ । त्यो भिडभाड र उच्चाटलाग्दो दैनिकीबाट फुर्सद निकालेर कतै पर जाउँ, लामो समय बिदा मनाउन निस्कुँ ।

भारतको पश्चिम बंगालस्थित दार्जीलिंग जिल्लाको कालिम्पोंग्मा थिएँ म, नेपाल बाहिरको नेपाल । जीवन यात्राको सिलसिलामा कहिँ कतै भेटिएर घनिष्ट हुनपुगेका यी तिनै साथीहरु थिए, जसलाई काठमान्डूका गल्ली गल्ली घुमाएको थिएँ मैले । स्वयम्भुमाथि चढेर उपत्यका नियाल्दा होस् या साँझ परेपछि ठमेलका गल्लीहरु चक्कर लगाउदा, हामी त्यसताका सधै संगै डुल्ने साथीहरु थियौं । नगरकोट देखि थानकोट वा दामन्सम्म धेरै घुमघाम, भेटघाट र पिकनिकको आयोजना गरेको थिएँ मैले त्यो ग्याङ संग । आज पैचो फर्काउदै त्यहि ग्याङ म संग कालिम्पोंग घुमिरहेको थियो ।


पहाडमा उभिएको, फुलैफूलले सजिएझैँ यो बस्ति, बजार र सबै आफ्नै जस्ता लाग्ने नेपालीभाषी नेपाली अनुहारहरु । यस्तो प्रतित हुन्थ्यो, यो वस्ति मेरो गाउँ हो, यतिखेर म मेरो आफ्नै नेपालको कुनै सुन्दर पहाडमा छु, डाडापाखामा छु र आफ्नै घरमा छु ।

बजारको टाउको जस्तो बनेर बसेको दुर्पिनडाडा माथि उक्लनु, टिष्टा रंजित फाँटहरु नियाल्नु वा उत्तर पश्चिम क्षितिजतिर फैलिएको मनोरम कन्चंजन्घाको लहर हेरेर घन्टौं रोमान्चित हुनु र कुनै कविता कोर्नु, कालेम्पोंग सम्झनाका झल्याक झुलुकहरु हुन् यी । स्मृतिको त्यस खण्डमा विशेष गरि धर्म र शान्तिका मन्त्रहरु गुन्जिरहने पुराना बौद्ध गुम्बाहरुको संगीत पनि मिसिन आइपुग्छन ।

.....
मुभी हेर्न जाने मुड भएन, त्यसै पनि अरुको स्वाधिनतामा हस्तक्षेप गर्ने देशको राष्ट्रवादी फिल्म । जब ठाउँ ठाउँ देशका सिमाहरु मिचिएको खबर फैलन्छ /नेपाली भूभाग खोसिएका, ताछिएका समाचारहरु बारम्बार सुनिन्छ ,अझ वितृष्णा बढेर आउछ यो देश प्रति । अनि जब हृदयका स्पन्दनहरुमा नेपाल र नेपालीपन बोकेर बाँचिरहेका साथीहरु भेटिन्छन, असमान सुगौली सन्धि र नेपालको इतिहास फेरी एकपटक बेस्सरी दुखे जस्तो लाग्छ ।

......


जोस्फिन राइ, पश्चिमाजस्तो लाग्ने नाम । उसंगको मेरो एउटा रमाइलो घटना म विशेषगरि सम्झन्छु ।
"कृष्ण तिमी कसैलाई प्रेम गर्छौ ?'
एकदिन धोबिघाटको एजम्पसन चर्च बाहिर उनले प्रश्न गरिन् ।
मैले भने, 'पहिले आफूलाई र त्यसपछि भगवानलाई ' - त्यसबाहेक कुनै आइमाई मानिस नि ?' उनले भनिन् ।
'अहँ ' मैले जवाफ फर्काएँ । फेरी सोधिन - 'कल्पना त गरेका होलाउ नि ? '
मैले भनेको थिएँ, 'कल्पनामा त कोही मान्छे थियो, तर उनको बिवाह अन्तै भैसकेको छ ।'
त्यसपछि एउटा प्रश्न गरेर उनले लामो प्रवचन दिइन, त्यो म सधै सम्झन्छु - प्रश्न चाहि यस्तो थियो

'प्रेम, मनमा हुन्छ कि मन्दिरमा हुन्छ ?'
....................


यतिखेर ऋषि रोडको पिज्जा हटमा उनै जोश्फिन हामीसँग थिइन। हाम्रो कुराकानी हुदै गर्दा ललिता, पुष्पा र बुद्ध पनि आए ।
'यो जनवरी भरि तिमी यतै बस्छौ नि ?' जोश्फिनले मलाइ प्रश्न गरिन ।
'जनवरी मात्र हैन, फेब्रुअरीको दोश्रो हप्ता पनि उ कतै जादैन, के छ तेरो बिचार ? ' मैले बोल्नुपुर्व समिर आफैले थपिदियो ।
''म पनि त छु, के तिमीले मलाइ चाहि मान्छे नदेखेको ? ' पुष्पा जिस्किई ।


दुर्पिन डाडा जाने बाटोमा थियो पुष्पाको घर, 'आज सबै उतै जाने', प्रस्ताव पारित र निर्णय एकैसाथ भयो ।

अलिकति उकालो लागेपछि गौरीपुर हाउस आउथ्यो । प्रसिद्ध नोबेल पुरस्कार विजेता, भारतीय विख्यात साहित्यकार रविन्द्रनाथ ठाकुरको कालिम्पोंग स्थित घर। शायद उनी यस शान्त भेगमा भ्रमण गर्न, यहाँको मनोरम प्राकृतिक सौन्दर्य नियाल्न धेरै पटक पहिलेदेखि नै आएका थिए र बुढेसकाल व्यतित गर्न यो घर बनाएका थिए । उनले यहाँको शितल हावाले स्फूर्ति भरेर कति मिठा कविताहरु पनि कोरे होलान । ७७ औं जन्मदिवसमा उनले यसै घरबाट 'जन्मदिन' शिर्षकको कविता अल इन्डिया रेडियोमा प्रत्यक्ष प्रसारण गरेर मनाएका पनि थिए ।

गौरी हाउसनेर पुगेपछि हाम्रो बहसले शिर्षक पायो - प्रेम र मित्रता ।
जोस्फिनले यसै बिषयमा एउटा सानो र रमाइलो दृष्टान्त पनि सुनाइन,

'आफू संगै आइरहेको मित्रतालाई देखेर प्रेमले सोधेछ - मेरो पछि पछि तिमी किन आइरहेका छौ ? मित्रताले भन्यो- प्रेम, तिम्रो भर छैन, तिमीले त धोका दिन सक्छौ, आसु र घात पनि दिन सक्छौ, हो त्यो बेला तिमीले छाडेर गएका आसुहरु पुछ्न म त्यहाँ हुनेछु ।'

तर हामी मध्ये कसैलाई थाहा थिएन, प्रेमले छाडेका आसुहरु पुछ्ने मित्रताका ती हातहरु कतिञ्जेलसम्म हामीसंग रहन्छन । मित्रताको साथ रहने अबधि, हद या सिमाना कति सम्म हो ? यो प्रश्नको उत्तर कसैसंग थिएन - "मित्रताको आयु कति हुन्छ ? "

म साहित्यमा रुची राख्छु उनीहरुलाई थाहा छ, भारतीय नेपालीको नाताले नेपाली साहित्यमा उनीहरुको पनि झुकाव छ । गोर्खाल्यान्डको परिकल्पनामा यहाँको राजनीतिवृत्त आजपर्यन्त संघर्षरत छ । पश्चिम बङ्गाल राज्यको यो दार्जिलिंग कालिम्पोंग क्षेत्र उन्नाइसौं शताव्दीपूर्व क्रमश भुटान र नेपालको अधिनमा रहँदै आएको थियो । यसर्थ पनि उनीहरुको साहित्यमा प्रवासी पीडाहरु प्रशस्त लेखिएका छन ।

"धेरै दिन भो, खै त यार, तिमीले केही लेखेका छैनौ आजकल ? कथा कविता लेखी बस्थ्यौ त ?"
"अहँ मैले प्रेम दिवसलाई साँचेको.. त्यही दिन सुनाउँला ।" अब ठट्टा गर्ने पालो मेरो थियो ।

हो, मैले केही लेखेको थिइनँ, त्यतिकै मन चंचल भैरहेको हुन्थ्यो । लेखनीका ड्राफ्टहरु या मनमा सलबलाएका भावनाहरु साँझको मादकतासंगै घुलेर जान्थे । त्यस दिन भने फर्केपछि मैले डायरीमा एउटा कविता लेख्न बसें - 'मित्रताको आयु' । तर त्यो कविता पुरा भने भएन ।

त्यसको केही दिन पछि कविन र म सिक्किम तिर लाग्यौं ।

आज मुश्किलले एक दशक पनि भएको छैन, जिन्दगी बगेर धेरै पर आइपुगी सक्यो जस्तो लाग्छ । समयक्रम संगै हामीले थाहा पायौं, नदीको बहावजस्तै यो एउटा स्वाभाव रहेछ जीवन यात्राको। असंख्य नया परिचय थपिदै गयो ।साथीहरु कति भेटिए, कति छुटिए ...... तर मित्रताको त्यो आयु?

मित्रताको आयु कति लामो हुन्छ ? यसको उत्तर त मसंग आज पनि छैन । तर सम्झनाको उमेर भने जुनी जुनी सम्म हुँदो रहेछ, समयले मलाइ यस्तै सिकाएको छ।

मनको किताब फिजाएर आज विगतका पानाहरु पल्टाउन बसेको छु म ..यतिबेला भन्न मन लागेको छ - ए सम्झना ! मेरो उमेर लिएर तिमी हजार बर्ष बाँच ।

कृष्णपक्ष, इजरायल
http://blog.krishnathapa.com
Next Story: Older Posts Home
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI