व्यस्तताको सिलसिला र भौतिक परिवेशको निरन्तर उतार चढाव भैरहंदा अनौठो संग दैनिकीहरु बेफुर्सदिला बनेका छन,त्यसो त यो व्यस्तताले सकारात्मक र नकारात्मक दुवै पक्ष समेटेको हुनसक्छ यद्यपि यस्तो अवस्थामा केहि कोर्ने अवसर जुटाउन नसक्नु,मित्ररु संग अपडेटेड हुन कठिन हुनु, भावना र अनुभूतिका झिल्काहरुले उज्यालोको कुनै मुर्त आकार लिन नसक्नु मेरो लागि दुखद पक्ष बनेका छन । अस्तव्यस्त दिनचर्या सहज नबनाई भएकै छैन । किस्ता किस्ता बाडिएका फुर्सद हरुलाई तानतुन गरेर एक ढिक्का बनाउने र स्थिति सहज बनाउने प्रयास भने जारी छ (पहिले जस्तै :) धेरै पछि आज प्रेम र सौन्दर्यका दुइ थान गज़ल लिएर आएको छु - सुनाउन । लौ सुनेर जानुस!
पहिलो
बस्यौ बाटो हेरि, र त जुध्यो नज़र ।
फर्किएँ म फेरि, र त जुध्यो नज़र
ओठै नखोलेर, इशाराले बोल्ने
रैछौ माया मेरी, र त जुध्यो नज़र ।
नदेखेझैं गर्दै, मेरै बाटो तिर
चियाउदा खेरि, र त जुध्यो नज़र ।
मलाइ नै पर्ख्यौ बाटो घाटो मेला
कुवा र पधेरी, र त जुध्यो नजर ।
बसिरहुँ भन्छ हजुरकै सामु
आँखै यो अटेरी,र त जुध्यो नजर ।
दोश्रो
उपवन मनको मेरो डुल्न आउनु भयो
फूलजस्तै मुस्काउदै फुल्न आउनु भयो ।
शर्माएर पहिले पहिले, पर जानु हुन्थ्यो
अहिले पो यी यस्तरी, खुल्न आउनु भयो ।
कति कति हासो खुसि, सुख दुख कति
एकै छिन सारासंसार, भुल्न आउनु भयो ।
वादल पारि पिरतीको, घर देखाउदै
कल्पनाको रोटेपिंग, झुल्न आउनु भयो ।
वसन्त झैं रंगिन यो, मेरो यौवनमा
वहारको रंग लिई, घुल्न आउनु भयो ।