जेरुसेलम, माउन्ट ओलिभ, इजरायल ।
बितेका दिनहरु फर्कंदैनन - समयको नियम । तर सम्झनाहरु भने बारम्बार फर्किरहन्छन, हृदयको ढोका ढकढक्याउदै ती फेरि फेरि आइरहन्छन । म सम्झन्छु, जेरुसेलम जैतुनको पहाडैमा अवस्थित रेड क्रिसेन्ट अस्पताल । तिमीले पहिलोपटक यस धर्तीमा पाइला टेक्दा म भित्र जुन खुसिको लहर उर्लिएको थियो, त्यसको उच्चताको मापन संसारका कुनै पनि यन्त्रहरुले गर्न सक्ने छैनन ।
तिमी पहिलो पटक उभिंदा, पाइला सार्दा र तिम्रा कलिला ओठहरुले 'बाबा' भनेर सम्बोधन गर्दा अनि आज कपि र कलम बोकेर तिमी स्कुल जाँदा म भित्र त्यस्तै चरम खुसिहरुको पुनरावृत्ति भैरहेको छ । साच्चै मान्छेको मनलाई रमाउन कुनै न कुनै बहाना चाहिँदो रहेछ । चिन्तित भएको घडी होस् या कुनै कारण उदास भएको बेला पनि जब तिम्रो हसिलो अनुहार देख्छु, म सबैथोक बिर्सिएर त्यसै त्यसै रमाएको हुन्छु । मैले आफ्ना जीवनका धेरै पीडाहरु तिम्रै मुस्कान हेरेर भुलेको छु । तिम्रा चंचल आँखामा मैले धेरै सपनाहरु देखेको छु ।
प्रिय कौस्तुभ,
तिमी नेपाल गएपछि मैले तिमीलाई धेरै 'मिस' गरेको छु । आजभोली म यति व्यस्त भएको छु कि पुराना दिनचर्याहरू विल्कुल बद्लिएका छन मेरा । अझ धेरै एक्लो, अझ धेरै बेखबर अझ धेरै विरानो ... बारम्बार सोच्छु - यस्तो कहिलेसम्म ? अझै कतिन्जेल बस्ने होला यसरी यौवनको उर्जा र पसिनाहरू पराइ भूमिमा सिंचेर ? वैंश र रहर विदेशी माटोमा मिलाएर ? घर कहिले फर्किने होला ?
मैले लेखेका यी हरफहरु पढ्न र बुझ्ने हुन तिमीले अझ केही समय बाकीं नै छ । तर हरेक दिन कम्प्युटरको स्क्रिनबाट ' पापा बल खेल्न आउनुस न' भनेर जब तिमी बोलाउछौ, म बिर्सन्छु यसबेला हाम्रो बिचमा कति अग्ला अग्ला पहाडहरु, खोला नालाहरु, समुन्द्र्हरु र सैयौं माइलको दुरी छ । ती सबै मेटिएझैं लाग्छ र म तिम्रै समिप भएझैं तिमीसंग खेल्न हतारिन्छु ।
तिमी पनि त्यहाँ एक्लै भएको बेला सोच्दा हौ, सधैं किताब पल्टाएर वा कम्प्युटर चलाएर धुमधुम्ती बस्ने पापा आजभोली कता हुनुहुन्छ होला ? अहिले पनि चौरमा निस्किएर बल खेल्नु हुन्छ कि हुन्न होला ?
कौस्तुभ तिमीले हल्ला गरेको, सामानहरु 'बलागान' छरपष्ट पारेर बदमासी गरेको कोठाको प्रत्येक कुना कुनामा अझ ताजै छ, तिमी दौडिएको, उफ़्रिएको । मेरो एकलकाटे स्वभावलाई तिमी च्यालेन्ज दिन्थ्यौ र हास्न सिकाउथ्यौ । तिम्रा ओठबाट निस्कने सुरिला स्वरहरुले मेरो जीवनको गीतमा संगीत भरेका थिए ।
आज तिमी पहिलोपटक स्कुल जान शुरु गर्दा म धेरै हर्षित भएको छु । मध्यरात भएको छ, सारा शहर निदाएको बेला म तिम्रो यादमा हराईरहेको छु र यो रातको समय चोरेर त्यही हर्ष लेखिरहेछु, खुसि लेखिरहेछु । मैले मेरा सपनाहरु अब तिम्रो आँखामा देख्न थालेको छु, जसरी तिम्रा हजुरबुबाले म पढ्न स्कुल जाँदा शायद त्यस्तै सपनाहरु देख्नु भएको थियो ।
छोरा, बुझ्ने भएपछि तिमीले यी प्रश्नहरुको उत्तर आफैं खोज्नू ।
आज किन घरमा हुनुहुन्न बाबा ?
भोली किन घरमा हुने छैन छोरा ?
र यो परदेश नियति हाम्रो भाग्यमा कहिलेसम्म लेखिईरहन्छ ?