सुनसान छ चौतारो, पँधेरो र गाउँसम्म जाने गोरेटो । लाहुरे छोरा फर्कने प्रतिक्षामा छ त्यो झुपडी त्यो आँगन र बाआमाका रसिला आँखाहरु ... तर छोराहरु कतै हराएका छन । किन हराएका छन ?
ती रुखा ताता बालुवामा उँट र भेडाका गोठाला भएका छन, ती रुखा मरुभूमि भएका छन। ती उदास मन भएका व्यस्त शहर भएका छन । ती बाँडिएका छन कतै जुलुस भएर कतै आन्दोलन भएर । ती कतै पसिना बनेर पोखिएका छन या कतै भएका छन राता बाकसका उपहारहरु ...
यद्यपी प्रिय छोराहरु ! सधै-सधैं छ र रहिरहनेछ - तिम्रो प्रतीक्षा ।
--------------------------------
शहरमा छोराहरु हराउनुको कारण छ
नयाँ मान्छे देख्दा गाउँ, डराउनुको कारण छ
भो नसोध किन देशमा, घटदैछन युवाहरु ?
अरबमा उँट भेडा चराउनुको कारण छ
पक्कै केही कारण छ, हाम्रो देश नबन्नुमा
सधैँ बिरोध भाँडभैलो गराउनुको कारण छ
संविधान बनेकोमा खुसी छैन कोही कोही
देश भाँड्न मतियार अह्राउनुको कारण छ
फर्किएनन चुनावपछि सर्वाहारा भन्नेहरु
तिनले पनि दर्बारै मन पराउनुको कारण छ
शहरमा उसको महल त्यसै छैन उभिएको
भ्रष्ट तस्कर मिलि पैँचो भराउनुको कारण छ
भक्ते, माने, वीरबहादुर हरु ज्युँदै मरेका छन
गल्ली गल्ली बहुलाकाजी, कराउनुको कारण छ
कृष्णपक्ष
धादिङ, हाल इजरायल