ग्रीष्म ऋतुको एक साँझ
आइपुगेको छु निकै पर
समुद्रको किनारै किनार ...
बग्दै बग्दै त्यसरी नै
जसरी बगेको हेर्थें सानो हुँदा कागजको डुंगा,
आगनको छेउको कुलै कुलो
त्यसरी नै उड्दै उड्दै
जसरी उडेको हेर्थें आकाशमा चरा
पंख फिजाएर अनन्त यात्रामा
त्यसरी नै आइपुगेको छु म - लहरिदै लहरिदै
जसरी आउँछ समुद्रको किनारसम्म लहर ..।
यो साँझ र म यायावर !
तिम्रो अव्यक्त प्रेमको वहाव जस्तै
बहदै बहदै आइरहेछन, छोइरहेछ्न र भागिरहेछ्न
सुस्तरी सुस्तरी मलाई
तिम्रो मायाको सुवास बोकेर
यी चंचल हावाका झोक्काहरू .. ।
समुद्रको आँगनमा यो शहर
साइप्रसको लिमासोल मरिना
त्यसरी नै तैरिएको छ
जसरी तैरिन्छ
सपनाको स्वर्ग बादल पारीको देशमा
जसरी तैरिन्छ यो सुन्दर धर्ती र सिंगो संसार
प्रेमीहरूका आँखाहरूमा, कल्पनाका क्षितिजहरूमा
र चम्किरहेछ जहाँ रंगी विरंगी वत्तिहरू
जसरी चम्किन्छ्न तिम्रा आँखाका गुलुबहरू
जसरी चम्किन्छ्न आकाशमा नौलाखे ताराहरू ...
भूमध्यसागरको यो चिसो बतास !
जसरी तिमीलाई छोएर चुपचाप फर्किन्छ मध्यपूर्वतिर ..
भोलि म त्यसरी नै फर्किएर गएपनि
तिम्रो यो सुन्दर सहरबाट
प्रिय मरिना !
तर सधैं रहनेछु म तिमीसँगै
अलिकति मनभित्र सधैँ टाँसिने तस्वीर बनेर
अलिकति हामीले साटेको प्रेम र
अनमोल पलहरूको सम्झना बनेर
र तिमीसँग छुट्नु अघि
मैले लेखेको यो कविता बनेर ....।