साथी,
तिमीले प्रत्यक्ष नसोधे पनि मनमनमा धेरै पटक प्रश्न गर्यौ होला कृष्णपक्ष तिमी किन हरायौ ? कहाँ हरायौ ? या तिमीलाई के भयो तिमी कहाँ छौ ? मान्छेका यी भीडहरूमा, कुनै दुर्गम गाउँको अनकन्टार गोरेटाहरू या सहरका असङ्ख्य गल्लीहरू मा , भुलभुलैयाहरूमा तिमी कहाँ अलमलियौ ?
जसरी तिम्रा अनेकन् अनुत्तरित जिज्ञासाहरू छन् त्यसरी नै मेरा पनि हजारौँ प्रश्नहरू थिए आफैँसँग … आफ्नै अस्तित्व सँग । तिमीले मात्र हैन म आफैले आफूलाई राम्रोसँग बुझ्न पाएको छैन । आफ्नै शरीरमा वास गरेको म पात्रलाई चिन्न पाएको छैन । यो सँग बसेर नजिक बाट भलाकुसारी गर्न पाएको छैन । म त हरेक दिन आफैले आफ्नो परिचय खोजिरहेको हुन्छु , सोधिरहेको हुन्छु ।
हुन त यही धर्तीको कुनै कुनामा छु जहाँ बाँच्दै गर्दा मैले थाहा पाए कि मलाई रङ्गहरूमा जीवन खोज्न मन पर्दो रहेछ । मलाई कुची र कलाको घना जङ्गलमा हराउन मन पर्दो रहेछ । मेरो आत्माको वास कथा र कविताहरूको गुनगुनमा भन्दा पनि धेरै पर कुचीका घात र धर्साका आकारहरूको , प्रकाश र छायाहरूको संसारमा रहेछ । मलाई चित्रकलाको यही संसारमा हराउनु जतिको आनन्द अन्त कतै रहेनछ ।
म यतै कतै रमाइरहेको छु ... रमाइरहेको छु … ।