Responsive Ad Slot

Showing posts with label Story. Show all posts
Showing posts with label Story. Show all posts

इश्वरको तस्वीर I

3 comments

Sunday


अर्को पोडकास्ट लिएर आएको छु । प्रेम र भगवानका बिषयमा जति लेखिए, कोरिए या अभिव्यक्तिका अनेकौं माध्यमहरुबाट प्रस्तुत गरिए, बुझाउने कोसिस गरिए ती केवल सागरबाट एक अन्जुली पानी उबाए सरह मात्र हुन् । मलाइ थाहा छ , फेरी पनि जिद्दी मन, त्यसैको सेरोफेरोमा अल्झेर लेखेको छु ।

कथा सुन्न यहाँ प्ले बटन थिच्न्नुस ।




इश्वरको तस्वीर - कृष्णपक्ष

सृष्टिका समस्त अवयवहरु रहस्यमय लाग्दै जान थाले । आफ्नै देह, त्यसभित्र बाँचेको प्राण, आफु उभिएको जमिन, ढुंगा माटो र भित्ताहरु.... । तल्लो मुस्ताङको मुक्तिनाथ स्थित मेब्राक गुफा भित्र भेटिएका ३५०० बर्ष पुराना मानव अवशेषका बारेमा टेलिभिजनले समाचार देखाई रहेको थियो । यो जति रहस्य र अनुसन्धानको बिषय थियो त्यति नै रहस्यमय थिए गुफाभित्र कुँदिएका कलात्मक चित्रहरु ।

'ठ्याक्कै त्यस्तै रैछ है, हामीले बनाउने भगवान जस्तै ?' सुन्तलीले सँगै टिभी हेर्न बसेका सन्तोषका बालाई कोट्याउदै भनी ।

आमा र छोराको कंकाल - वृत्तचित्रमा यस्तो पनि देखाइयो । कंकालको प्रकृति हेर्दा प्रसव वेद्नामा आमाको निधन भएको देखिन्थ्यो, त्यो युगमा नवजात शिशु आमाविना एक्लै बाँच्न सक्ने प्रश्नै थिएन । उ पनि आमासँगै पुरियो। सबै भन्दा जीवन्त चित्र त त्यही थियो । जेठा जन्मदा भएको प्रसव पीडाको स्मरण गरी उसले र मातृत्वभावले द्रविभूत भई ।

तर क्यामाराले भित्तामा कोरिएका भगवानका चित्रहरु धेरैबेर देखाए । टिभीमा सधैंझैं हत्या आतंक र भोका नांगा मानिसका समाचार आउन थाले पछि उसले टिभी बन्द गरी । यस्ता कुरा देखाएर टिभी कहिले थाक्दैनथ्यो ।

सुन्तली तामाङ । धादिङबाट काठमान्डु आउँदा भर्खरकी तरुनी थिई । यिनै सन्तोषका बासँग भागेर पोइला आएकी, त्यो सोह्रबर्षे जवानीको प्रेमकथा त उहिल्यै मेटिईसक्यो । त्यसपछि राजधानीमा हात मुख जोर्ने संघर्षका दिनहरु शुरु भए । स्वयम्भुको भगवान पाउमा थियो डेरा, थाङकामा रंग भर्ने काम । विस्तारै सुन्तलीले पनि सिकी, उसको प्रयोग कोमल थियो - उजस्तै । क्यानभासमा अरुले स्केच कोरेर दिन्थे, उ शेडिंग गर्थी । उसका कुचीका घातहरु नरम हुन्थे। सबै कुरा साधना रहेछ, उसले थान्कामा ज्यान भर्ने कला सिक्दै गई । तर त्यो कला गुजारा गर्ने कर्ममात्र थियो ।

उनीहरुले कुँदेका थान्काहरु ठमेलका शोरुममा गएर टाँगिन्थे। ती कसले कति मुल्यमा किन्थे अनि कुन देशको, कुन शहरको आलिशान महल वा गुम्बाका भित्ताहरुमा गएर सजिन्थे, उनीहरुलाई थाहा हुदैनथ्यो ।

हरेक मानिसभित्र एउटा कलाकार हुन्छ, आदिमकाल देखि उभित्र कलाको अतृप्त प्यास लुकेको छ । रंगसँग खेल्दा कहिलेकाही सुन्तली पनि सोच्थी, शायद अलि सम्पन्न र पढेलेखेकी भए मपनि पेंटिंगको किनारमा आफ्नो नाम लेखेर देश विदेश प्रदर्शनी गर्थें होला । तिनको पत्याउनै नसक्ने मूल्य तोकी दिन्थें होला, अनि हेर्थें कसले किन्न सक्दो रहेछ मेरो कलालाइ ?

चित्र कुद्ने परम्परा उसको कल्पनाको क्षितिजभन्दा निकै पुरानो, युगौंयुग देखि चल्दै आएको थियो यो संसारमा । शव्दमा अभिव्यक्त हुन नसक्ने कैयौं मानवीय संवेदनाहरु, प्रेम, आस्था र विश्वासहरु चित्रका माध्यमबाट प्रस्तुत गरिन्थे । मानव हृदयका अमूर्त भावहरु पनि चित्रकै बाटो भएर बताउन सकिन्थ्यो । सृष्टि स्थिति, प्राकृतिक चक्र जीवन मृत्यु, भौतिक आध्यात्मिक चिन्तन , तिनीहरुको अस्तित्व.. यस्ता अनेकन रहस्यका बारेमा शताब्दियौं देखि खोज र अध्ययनहरु भैरहेका थिए । शिला र धातुका पत्रहरुमा, मन्दिर, गुम्बा र घरका भित्ताहरुमा, पातहरुमा, कागजका पानाहरुमा, मखमली क्यानभासहरुमा र कम्प्युटरका बिटहरुमा करोडौं चित्रहरु कोरिईसकेपछी, करोडौं ग्रन्थहरु लेखिई सकेपछि अझै पनि मान्छे त्यस्ता कैयन रहस्यको ज्ञानबाट वन्चित थियो, यसर्थ उसलाई लाग्थ्यो - यी सम्पूर्ण रहस्यको ज्ञाता अरु नै कोही छ । यो उसको विश्वास थियो, र यही विश्वास नै 'इश्वर' थियो ।

सुन्तली र उसका श्रीमान हरेक दिन थान्कामा इश्वरको चित्र बनाउथे ।

इश्वरका चित्रहरु अनेकौं मुद्रामा, अनेकौं भाव भंगीमा कोरिन्थे। जंगल , आकाश ,वादल वा मण्डलाहरु चित्रको पृष्ठभूमि हुन्थे । उसले बोक्ने वज्र, ध्वजा, माला, पुष्प, शुल, डमरु, मुरली ... उसले चढ्ने वाहन .... चित्र बडो आकर्षक र लाइभ हुनु पर्थ्यो । जो मुर्त देखिन्थे र सजिव प्रतित हुन्थे। थान्कामा आँखा कोर्ने काम अन्त्यमा गरिन्थ्यो, यो प्राण प्रतिस्थापन गरेजस्तै हुन्थ्यो । त्यसपछि भगवानले जीवन पाउथ्यो ।
-----------------



यो निष्ठुरी संसारमा एक्लै दुख गर्न लेखेको रैछ । सुन्तलीका श्रीमानलाइ दैवले यस्तरी चुडेर लग्यो, कि एकदिन खाना खाएर बाहिर निस्केको मान्छे फेरी फर्किएनन । शहरमा न्याय, समानता र अधिकारको नारा लाउनेले गराएको विष्फोटनले उनको प्राणहरेर लग्यो । सुन्तलीको जीवन र सारा संसार नै अँध्यारो भयो । भगवानको चित्र कोर्ने मान्छे मात्र हैन, अब सुन्तलीको भगवान पनि मर्यो ।

तीन सन्तानहरु थिए, शहरमै जन्मेका । गाउँ फर्केर दुख गर्न जाने हैनन्, तिनलाइ लाउनु खुवाउनु, काठमान्डूमा राखेर पढाउनु, डेरा भाडा तिर्नु ... यी सबै जिम्मेवारी अब उसको काँधमा थुप्रिएको थियो ।


"पापी रैछौ नि भगवान ! सँगै दुख गरी खानपनि दिएनौ, उफ!!!.... " यी सुन्तलीका रातका सुस्केराहरु हुन । थान्का कोरेरै पेट पाल्न सक्छेस केही चिन्ता लिनुपर्दैन सुन्तली ! - सम्झाउनेले भन्ने त यही हो । तर उसलाई लागेन, उ एक्लैले खर्च धान्न सक्छे । तैपनि विकल्प थिएन ।


भगवानको अनुहार पहिले जस्तो शान्त र सुन्दर हुन छाड्यो । कुची समाउदा उसलाई हातहरु काँपे जस्तै लाग्न थाले । उसले घरि घरि भगवानको तस्वीरमा सन्तोषका बाको निरिह अनुहार देख्न थाली । भगवान रोएको जस्तो पनि लाग्न थाल्यो, उसले मनमनै भनी- म अब यो काम गर्न सक्दिन । मैले कोरेको इश्वरको तस्वीर अब इश्वर जस्तो छैन ।

तर कसले देखेको छ इश्वरलाई ? उसको स्वरुपलाई ? के थाहा इश्वर मान्छे जस्तो नभएर ढुंगा जस्तो पो छ कि ?

-------

होचो कदकी ३५ बर्षिय सुन्तली तामाङसंग जीवनका धेरै रंगहरु, आयामहरू बाँकी नै थिए । धेरै चाहनाहरु शेष थिए, अब उसको सबै भन्दा ठुलो चाहना आमा भएर बाँच्नु थियो । अब उसले आफ्नो अगाडी दुइटा बाटाहरु देखी, देश छोड्ने या लालाबाला लिएर गाउँ फर्कने । धन कमाउने भन्दा पनि सन्तानलाई कर्म दिने, न्यानो छहारी दिने, तिनका रहरहरु पुरा गरिदिने,आफुले जति दुख पाए पनि सन्तानलाई सुख दिने चाहना थियो उसको ।

चाहनाको यो रंग यति गाढा थियो कि यसले अरु सबै इच्छाहरुलाई छोपी दिएको थियो । जसरी सिन्दुर र चुरापोते असमयमै दैवले उसबाट खोसेर लागेको थियो । मिल्ने भए त उ निथ्रिई सकेको यो यौवन पनि कतै थन्क्याएर निस्फिक्री हिडथी होली, तर प्रकृति हो, त्यसो गर्नु सम्भव थिएन ।
-----

सरकारले राहत दिने भनेको त धेरै भयो, तर कसैले खबर गरेका छैनन् । उसले समाचार हेर्न टिभी खोली, विदेशबाट फर्किएकी भुन्टीमाया मगरको दुखद मृत्युको खबर चिच्याई चिच्याई सुनाइ रहेको थियो त्यो । उ झसंग भई - हिजै मात्र एकजनाले थान्का सान्का छोडेर उसलाई कुवेत जाने सल्लाह दिएको उसले सम्झी ।

समाचार भन्दै थियो - विरामी अवस्थामा कुवेतबाट फर्के लगत्तै गेस्ट हाउसबाट अस्पताल लगिएकी भुन्टीमायाको निधन भएको छ । न्यूमोनिया र कमजोरीका कारण निधन भएकी भुन्टीको गर्भमा आठ महिनाको शिशु समेत रहेको शिक्षण अस्पतालका डाक्टरद्वय अनामिका झा र निता कटुवालले जानकारी दिएका छन । केही समय अघि नै उनको श्रीमानको पनि मृत्यु भएकोले अब उनका चारजना बालबच्चाको रेखदेख कसले गर्ने भन्ने चिन्ता रहेको छ ।"


पछिल्लो खबरले त सुन्तलीको मुटु चिरिएझैँ भयो । उसले एकपटक भुन्टीको ठाउमा आफुलाई राखेर हेरी । उसलाई इश्वरको अस्तित्वप्रति ठूलो शंका भयो ।

झ्यालबाट छिरेको एक झोक्का बतासले छेउमा क्यानभास बाँधिएको काठको फ्रेम भुइमा ढल्यो । सधै जस्तो इश्वर विल्कुल चुपचाप थिए, मौनताको घना जंगलमा हराइरहेका । यो पहिलो पटक हो, उसलाई आफुलाई भन्दा इश्वरप्रति दया जागेर आयो । ओठ बाट केही शव्द बाहिर निस्किए - कठै भगवान कति निरिह तिमी !

उसले नियालेर हेरी ।
आज इश्वरको तस्वीर उसलाई भुन्टीको अभागी अनुहार जस्तै लाग्यो ..... ।

नूर एल आइन (कथा)

4 comments

Friday


 बिगत लामो समयदेखि यो ब्लग अपडेट थिएन । कृष्णपक्षको ब्लगतिर कहिलेकाही चियाउने गर्नु भएको भए पक्कै याद गर्नु भएको होला । 

विदेशको ठाउँ बाध्यताहरू धेरै छन, यद्यपि आफ्नो रुची र रहर पुरा गर्न भने मानिसलाई कुनै पनि कुराले पनि छेक्दैन रहेछ । औपचारिक रुपमै कम्प्युटर सम्बन्धी अनलाइन अध्ययन गर्न थालेको छु । व्यस्तताका हजार बहाना थपिएका छन - क्लास, भिडियो लेक्चर, फोरममा चल्ने शैक्षिक बहसहरू, असाइन्मेन्ट ... त्यसमाथि आफ्नो कामको जिम्मेवारी त छदै नै छ । यतिखेर घरमै बसी बसी सिक्न सकिने  केही छोटा कोर्षहरु गरिरहेको छु । 


रुची त लेखनमा पनि हो, यद्यपी चाहेर पनि यसलाई प्राथमिकतामा पार्न सकिएको छैन । लेख्नुपर्ने बिषयहरु धेरै छन, शब्द बनेर पोखिन आतुर कति भावनाहरु मनभरी उकुशमुकुश भरिएका छन । तर तिनलाई व्यक्त गर्न नजुरेको अवस्था लामो समयसम्म रहिरह्यो । यो कथा पनि धेरै महिना पहिलेको कथा हो । नेपाली तैप गर्न एकदम अल्छी लाग्छ । पहिले जस्तो उत्साह नभएर पनि होला, तर प्रयास सधैं रहनेछ । प्रतिक्रिया लेखेर हौसला दिनु नै हुनेछ भन्ने आशा छ  ।  




गलिलको सामुद्रिक किनार भएर बग्ने चिसो बताससँग ठोकिएर नूरका कपालहरु छालजस्तै तरंगित भैरहेका थिए । बाक्लो आँखीभौं र परेला भएको सुन्दर आँखाको चित्र ट्याटु खोपिएको थियो उसको बायाँ पाखुरीमा, पृष्ठभूमिमा थियो आगो ओकलिरहेको सूर्य । यसबाट सहजै अनुमान लगाउन सकिन्थ्यो नूर पुरै हिप्पी स्वभावकी थिई ।  

 समुन्द्र जस्तै गहिरा नीला तर चञ्चल थिए नूरका आँखाहरु । अरबी भाषामा नूर भनेको ज्योति हो, उसले पहिलो भेटमै बताएकी थिई । र मैले उसकै भाषामा यो गीत गाउन जानिसकेको थिएँ

खबिबी खबिबी या नूर एल आइन, या सकिन खयाली
(प्रिय ! तिमी मेरो आँखाको ज्योती हौ, जो कल्पनामा सधैं छाइरहन्छौ )

मैले यसो भन्दा नूर अलिअलि मुस्काउथी र अलिअलि लजाउथी । उसको  मुस्कान जोर्डनबाट बगेर इजरायलको गालील सागर भेट्न आइपुगेको यार्दन नदीजस्तै पवित्र र निस्छल थियो, कम्तिमा मलाइ यस्तै लाग्थ्यो । मलाइ यो पनि लाग्थ्यो कि यो सुन्दर भूमिको छातीभित्र लुकेको रणसंग्रामको कथा र रगतको इतिहाससँग उ बिल्कुल अनभिज्ञ छे, तर त्यो गलत थियो ।

हामी यतिखेर इजरायलको उत्तरी भूभागमा अवस्थित तिबेरिया जिल्लाको 'एल हाम्मा' मा छौँ । सिरिया , जोर्दान र इजरायल तीन राज्यहरुको मध्यभागमा थियो यो सानो गाउँ, उहिल्यै निर्जनीकृत भएको । यसलाई गाउँ पनि के भन्ने ? वस्ती भन्दा पनि यहाँ पार्क र उद्यान हरु थिए, पर्यटकीय रिसोर्ट थिए र थिए खण्डहर झैं देखिने केही भत्किएका घरहरु .. गैरर्फौजिकृत यो इलाका एल खाम्मामा आइपुगेपछि नूर एकाएक भावुक भई - कुनै कालखण्डमा युद्धको चोटले घाइते भएका निर्जन खण्डहर तिर इशारा गर्दै उसले भनी - यो मेरो पुर्ख्यौली गाउँ हो, यहाँ मेरो पुर्खाको रगत बगेको छ । आउ नियालेर हेर, इजरायली र सिरियाली सैनिकले कुल्चेका बुटका छापहरु ताजै छन ।  

--------------------

कुन संयोगमा कहाँ कसरी यो अरब युवतीसंग भेट भयो यकिनका साथ् भन्न सक्दिन तर यो सत्य थियो कि उसंग भेटेपछि यो परदेश वसाई या मेरा दिनहरु धेरै सहज बनेका थिए ।

पटक पटक रक्तपातपूर्ण संघर्ष र युद्धको रणभूमि बनेको अल- खाम्माका बासिन्दाहरु कसरी विस्थापित भए ? उसले किम्वदन्तीजस्ता लाग्ने इतिहास सुनाइ । कुनै समय अल खाम्मा प्यालेस्टाइन राज्य अन्तर्गत पर्ने अरबी गाउँ थियो । यहुदी र क्रिश्चियन नगन्य थिए । इजरायल सिरियाको संघर्ष चर्कदै जाँदा सिमानाको यो वस्ती पटक पटक किचियो ।  १९४९ पछिको युद्धविराम र सन्धी पश्चात यो इजरायलमै गाभिएपनि सिरियाले पुन कब्जा जमायो र इजरायली घुसपैठ प्रतिबन्ध गरयो । १९६७ मा इजरायलले फेरी यस क्षेत्र अतिक्रमण गर्यो र आफ्नो बनायो ।

इजरायल सिरियाबीच अनेक  संघर्षहरु भए, सन्धीहरु पनि भए । पटक पटक दुवै तर्फका सैनिकहरुले युद्ध विरामका सन्धीहरु भंग गरे घुसपैठ गरे र आआफ्नो स्वामित्वको दावी गरे । अल खाममाको देश कहिले प्यालेस्टाइन लेखियो, कहिले सिरिया त कहिले इजरायल  । यही प्रक्रिया दुखेपछि सैयौं घरपरिवार विस्थापित भए र अरबवस्ती निर्जन भयो ।

------------------

आज संयुक्त राष्ट्र संघद्वारा गैरफौजिकरण गरिएका क्षेत्र अन्तर्गत पर्थ्यो यो भुमि ।जहाँ न इजरायल न सिरिया कसैका तर्फबाट पनि हतियारसहित सैनिक या गैरसैनिक घुसपैठ प्रतिबन्धित थियो । संयुक्त राष्ट्र संघीय संघर्ष विराम पर्यक्षवेक्षण संगठन (UNTSO ) को जागिरेका रुपमा बिभिन्न देशका शान्ति सेना र कर्मचारीहरु थिए । दुइ बर्ष देखि निशस्त्र कार्यरत हुँदा म आफू पनि नेपालको सैनिक अधिकृत हुँ भन्ने बिर्सिन थालिसकेको थिएँ । यस क्षेत्रको सुरक्षा र सम्पदाको संरक्षणार्थ यी दुइ देशबीच भएको सन्धीका प्रत्येक बुँदा र अनुच्छेद हामी निशर्त पालना गरिरहेका थियौं ।

विदेशमा पट्यारलाग्दा कुराहरु धेरै थिए, जहाँ पनि एक्लै भएजस्तो । ठुला शपिंग मल, भिडभाडयुक्त बसपार्क र ट्रेन स्टेशन या हजारतिर पुगिने चौबाटोहरु नै किन नहोउन त्यहाँ ओइरिने मानिसको भीड र ठोक्किन आउने पत्येक आँखाहरु बिराना लाग्थे, चिसा लाग्थे ।

'नूर' भेटिए पछि अलिकति रंग थपियो, खुशी थपियो । गुम्सिएर बसेका मनका भावनाहरु निर्धक्क पोख्न र विश्वास गर्न सक्ने साथी भेटिएजस्तो लाग्न थालेको थियो । मेजरको बारम्बारको चेतावनी बाबजुद पनि म धेरै पटक व्यस्त समय चोरेर निस्कन थालेँ ।

इजरायल अरब संघर्षको इतिहास निकै पुरानो र अनन्त थियो, नूरसँग संगत गरेपछि मेरो यी बिषयहरुमा दिलचस्पी बढ्न थाल्यो । एउटा सैनिक डिमिलिट्राइज जोनमा के गरेर बस्छ ? टहल्नु, संगीत सुन्नु या किताब पढ्नु ... विकल्पहरु यस्तै थिए । बाहिर निस्कदा कहिलेकाहीं नूर भेटिन्थी, तर अधिकांश समय आफ्नो पथप्रदर्शक म आफै भएर हिड़थें ।  इतिहासका बिभिन्न कालखण्डमा इजरायलले आफ्नो स्वाधीनताका लागि रचेका युद्धका अवशेषहरु मैले हिड्ने बाटोमा अझैसम्म ताजा भेटिन्थे । लामो गृहयुद्धको चपेटामा पिल्सिएको मेरो देश नेपालबाट आएको म, अनुभूतिहरु समान थिए तर प्रकृति र परिवेशमा व्यापक  पृथकता थियो ।

उत्तरमा गोलान हाइट्स देखि इलात सम्म भ्रमणका अवसरहरु कति निस्किए कति, नूरसंग नजिकिएपछि..। कहिले हामी संसारकै होचो स्थान मृत्सागरमा पौडी खेल्न पुग्थ्यौं त कहिले तेल अभिभका पार्कहरुमा बार्बिक्यु पोलेर खान्थ्यौं । उ हामी संग घुलमिल भैसकेकी थिई, बिस्तारै नेपालीहरुको जमघटमा पनि उपस्थित हुन थालेकी थिई ।

इजरायलमा अरब जनसंख्या निकै कम छ र ती शिक्षा, प्रशासन, राजनीति लगायत हरेक क्षेत्रमा पछि परेका छन । यदाकदा तिनको बिरोधमा आवाज उठ्छन र सेलाउछ्न । आफूहरुमाथि विभेदकारी नीति र व्यवहार भएको तिक्त अनुभव थिए नूरसंग, तर मलाइ यस्ता बिषयमा कुनै सरोकार थिएन । उसलाई भेट्दा त म यो पनि बिर्संथें कि यो देशमा तनाव छ, संघर्ष छ र अन्त्यहीन युद्धको शृंखला निरन्तर चलिरहेको छ । साच्चै एउटा मान्छेको मायाले कति फरक पर्दोरहेछ ? नूरको साथ् मेरा लागि त्यस्तै भएको थियो ।

साँझ बिहान वैरागी धून गाउदै बहने यी चिसा वतासहरु अब बिल्कुल बद्लिएका थिए, तिनको श्पर्श शितल र मिठो लाग्न थालेको थियो । हिजो पराइ र बिरानोजस्तो लाग्ने यो देशप्रति नजानिँदो आत्मियता बढ्न थाल्यो, हरेक स्थानहरु सुन्दर र रमणीय लाग्दै गए । हामी कहिले रमणीय हिमाल हार्मोनमाथि केबलकार चढेर लेबनान र सिरियालाइ चियायौं त कहिले इलात समुन्द्र भित्र भित्र सबमराइनबाट जोर्दानको इलाका नजिक पुग्यौं । किन्नेरेत तलाउ, याफो किनार, तेल अभिभ शहर या  पवित्र जेरुसेलम आदि अनेक स्थानहरु र त्यहाँ बिताएका क्षणहरु हाम्रो समयको क्यालेन्डर र स्मृतिका पानाहरुमा थपिदै गए । युद्धका संकेतहरु, पदचाप या आवाजहरु अहँ कहिकतै सुनिएन या तिनको आभास सम्म भएन ।

------------------

तर बर्षको अन्त्यतिर अरब इजरायल संघर्ष पुन एकपटक चर्कियो । इजरायली सैनिक कारवाहीमा हमास लडाकु कमान्डर महम्मद अल जब्बारी मारिएपछि दिनदिनै सैयौंको संख्यामा रकेटहरु प्रहार हुन थाले । ठुलै युद्धको संकेत देखा पर्यो, इतिहासमै पहिलोपटक प्यालेस्टाइनबाट निशाना लगाइएका लांग रेञ्ज क्षेप्यास्त्र इजरायलको केन्द्रभाग तेल अभिभ र जेरुसेलम सम्म आइपुगेका थिए ।  यी दिनहरु मैले दश बर्षे गृहयुद्धको चपेटामा पिल्सिएको आफ्नै देश नेपाल सम्झिएँ, मुठभेड र भिडन्तका समाचारहरु ताजा भएर आए ।   विष्फोटनको आवाज होस् या बारुदको पिरो गन्ध ह्वास्स ठोकिँदा मलाइ कालिकोटको सम्झना हुन्थ्यो । रोल्पा र रुकुम जस्तै एउटा नमिठो घाउ छातीभित्र बल्झिएर आउथ्यो ।

अत्यन्त विकसित प्रतिरक्षा संयन्त्रका कारण त्यसले इजरायलमा खासै क्षति भने गर्न सकेको थिएन । पहिलो कुरा रकेट प्रहार हुने बितिकै सम्भावित खतरायुक्त इलाकामा साइरन बज्थ्यो र त्यहाँका मानिसहरु आफुलाई सुरक्षित स्थानमा लुकाउथे । घर घर र सार्वजनिक स्थानमा समेत बंकर निर्माण गरिएका थिए । अर्कोतिर सैयौंको संख्यामा रकेट प्रहार भएपनि स्वाचालित क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ती भुइमा खस्न नपाउदै आकाशमै ध्वस्त पारिरहेका हुन्थे ।

यसर्थ अबको निशाना इजरायल भित्रै रहेका अरब समर्थकहरुबाट आत्मघाती आक्रमण हुन सक्छ भनेर मिडियाले त्रास छर्न थालेका थिए ।  सार्वजनिक यातायात र ठाउँ ठाउँमा बम राखिएको हल्ला फैलियो । अमेरिकी राष्ट्रपति बाराक ओबामा, यु एन महासचिव बान की मुन स्थलगत भ्रमणमा आए, यद्यपि युद्धविराम हुन भने सकेन । छिन छिनमा बज्ने साइरन संगै आइमाई केटाकेटीको चित्कार सुनिन्न्थ्यो । जीवनप्रति कत्रो मोह ? गुड्दै गरेको गाडी सडकमै रोकेर मानिसहरु भागिरहेका हुन्थे । मृत्युको भय  चौतर्फी फैलिएको थियो । शहरमा सम्भावित दुर्घटनाको भयावह चित्र कोरिएको थियो ।

-------------------------

पारिलो घाम लागेको दिन, सडकको छातीमा सवारी र मानिसको घुइचो बढ्दै थियो । इजरायलको मुख्य शहर तेल अभिभ व्यस्त थियो ।

अचानक विष्फोटको आवाज र कोलाहल गुञ्जियो । क्षणभरमै प्रहरी, पत्रकार र सर्वसाधारणको भीडले सडक भरियो । रक्तमुछेल घाइतेहरु बोकेर एम्बुलेन्स कुद्न थाले । सार्वजनिक बसमा बम पड्काइएको थियो । विष्फोट गराउने आतंककारीको व्यापक खोजी भयो ।  उता प्यालेस्टाइनका अरब टेलिभिजन च्यानलका  समाचारहरुमा बिजयोत्सव मनाएझैँ खुशी प्रकट गरेको  देखियो । आतंककारीहरुले अब यसरी नै इजरायलको चोक चोक बम पड्काइन्छ भन्दै आक्रोश ओकल्न भ्याए ।

भोली बिहानै आतंककारी पक्राउ परेको खबर आयो । म छाँगाबाट खसेजस्तो भएँ, उक्त बम विष्फोट गराउने आततायी अरु कोही नभएर नूर' थिई  । त्यही नूर जो संग मैले यो देशमा अविश्मरणीय र अमुल्य समयहरु संगालेको थिएँ । समुद्रको किनारमा प्रेमका अनेक संकेतहरु कोर्ने नूरका ती कोमल हातहरुले कसरी बम बोकेर हिड्न सके ? शहरमा उभिएका यी बालुवाका घरहरूजस्तै भएँ म - निष्प्राण ।

दोहोर्याई दोहोर्याई अखबारमा आँखाहरु पोखिए - हो उ नूर नै थिई, छातीभित्र विद्रोहको कत्रो राँको बोकेर हिडेकी रहिछ उसले ?  तर यति लामो संगतमा पनि किन मैले उसभित्र त्यो बिद्रोह पहिल्याउन सकिन, अनुमान सम्म गर्न सकिन ? किन मैले उसमा केवल प्रेम मात्र देखिरहें ?

यही प्रश्नले म धेरैबेर चिमोटिएँ ।


कृष्णपक्ष,
इजरायल



माइ लाइफ इज अ मिराकल

4 comments

Wednesday

( धेरै समय भैसकेछ केही नलेखी चुपचाप अलप भएको । केही घटनाहरु अवश्य भए, जस्तो घाम लाग्नु, झरी पर्नु वा आकाशबाट रकेट बर्षनु ..... । बितेका दिनहरु निकै चिसा थिए, एउटा अनुभव - हरेक घाउहरुले र तिनका दागहरुले मानिसको स्वरूपलाई त्यसरी बदल्न खोज्दोरहेछ, जो उ बिल्कुल होइन, थिएन र त्यसको परिकल्पना समेत गरेको हुदैन । तर समय हो हरेक घाउहरु पुरिदैं जान्छ- अर्को विश्वास । विश्वासको त्यही छेउमा उभिएर फेरि लेख्ने दुस्साहस गर्दैछु । )

मौनताको नदी चुपचाप बगिरहेको थियो उसको र मेरो बीचमा ...। फेरि सोच्छु, उसले र मैले बनाएको परिचयको, आत्मियता र अपनत्वको पुल अब भत्किएकै हो त ? जब उ संग बोल्थें, हास्थे खेल्थें वा उसलाई लिएर घुम्न निस्कन्थें, त्यो नदीमाथि यस्तो पुल बन्थ्यो जहाँ उभिएर हामी धेरै उदाउदा र अस्ताउंदा सूर्यहरु संगै हेर्ने गर्थ्यौं। म उसका अन्तिम पलहरु सहज बनाउने कोसिस गर्थें, जीवनका गीतहरु सुनाउथेँ ।

विलकुल पृथक परिवेशबाट आएको एउटा नोकर र मालिक बिचको सम्बन्धको पुल थियो त्यो। जहाँ टेकेर मैले उसका जीवनका असंख्य भोगाईहरु, घटना र कथाहहरु सुनिदिएको थिएँ, एउटा पाठक बनेर ।

एउटा कथा यस्तो थियो ।


1942 वार्शा, यहुदी वस्ती, पोल्याण्ड ।

हिटलरका सैनिकहरुले पुरै पोल्याण्ड कब्जामा लिइसकेका थिए । चोकचोकमा यहुदीहरूको डफ्फा जम्मा पारिएको थियो, तिनीहरुलाई बन्दी बनाएर जर्मनी लगिदैछ भन्ने हल्ला चलेको थियो ।चकमन्न अँध्यारोले ढाकेजस्तै त्रासको वातावरण चारैतिर फैलिएको थियो । 
यहुदीको भीडबाट सैनिकले भिन्न भिन्न समुहहरु बनाइरहेका थिए । एकातिर रोगी, आइमाई केटाकेटी, बुढाबुढी  र अर्कोतिर तन्नेरी युवायुवतीहरु । पहिलो समुहमा पर्नेहरुलाइ सिधै यज्ञमा बली दिइन्थ्यो र इहलिला स्वाहा पारिन्थ्यो । दोश्रो समुहमा पर्नेहरुलाइ भने दास बनाइन्थ्यो, आफैँ थाकेर वा कुनै रोगले थलिएर नमरुन्जेल सम्म तिनीहरु कुनै शिविरमा बन्दी भएर बस्थे । 

मानवीयता नै काँप्ने यो कत्रो अन्याय ? के एउटा जातिले अर्को जातिका लाखौँ मानिसलाई यसरी जिउंदै आगोमा होमेर मार्न सक्छ ? तर यो सत्य थियो, लाखौँ यहुदीका देहहरु आफुलाई पवित्र र महान ठान्ने आर्यहरुको अग्निकुन्डमा भष्म भैरहेका थिए ।  

त्यसबेला उसको उमेर 14 बर्षको थियो, आमा र भाइ बैनीहरु लगातार रोइरहेका थिए । बाँच्ने कुनै आधार थिएन, अघिल्लो हप्ता देखि नै पिताको अत्तो पत्तो थिएन । उसको मनमा भाइ बैनी र आमा संग छुट्टिन नपरोस भन्ने थियो तर दास भएरै पनि  कतै बांचिहाल्छ कि भन्ने झिनो आशामा आमाले उसलाई उमेर ढाट्न सिकाएकी थिईन, कसैले सोधे 20 बर्ष भन्नु है । 

"कति बर्ष भईस ? "
पोलीस भाषामा एउटा सैनिकले भन्यो ।
"20 बर्ष ..."

 उ अग्लो र खाइलाग्दो थियो, सबैले पत्याए  । त्यसपछि उ तन्नेरीहरुको  समुहमा मिसियो त्यहीबेला उसले अन्तिम पटक आफ्नी आमाको अनुहार देख्यो, त्यसपछि उनीहरुसंग यो जुनीमा कहिल्यै भेट भएन  । मृत्युको भय भन्दा पनि त्यस घडी उसभित्र बिछोडका पीडाहरु मडारिएका थिए ।
त्यसपछि सैनिकको ट्रकमा ओसारिएर उ जर्मनीको बर्लिन पुग्यो । त्यहाँ पुग्दा उसले आफ्नो अस्तित्व मेटिई सकेको पायो, अब उसको नाम समेत कुनै अंकमा अनुवाद भैसकेको थियो । एक अर्कालाई बोलाउदा 'कैदी नम्बर यति भन्नू' उनीहरु प्रत्येकको शरीरमा नम्बरको ट्याग लगाइयो ।
हजारौं यहुदीहरू दिनदिनै मारिइरहेका थिए । शिविर भित्रै विशाल चिहान बनाइएको थियो, उसले त्यहीं काम पायो ठेलागाडीमा शव ओसार्ने, उ हरदिन आफ्नै शरीर पनि एकदिन यसरी नै गाडीमा राखिएको र आम चिहानमा पुरिएको कल्पना गर्दथ्यो । तर उ त्यसबेला सम्म मृत्युसँग खेल्दै बाचिरहेको थियो । 



एक बर्ष पछि उसलाई चेकोस्लोभाकिया लगियो,  त्यस शिविरमा आएका अधिकांश बन्दीहरुको पालै पालो निर्मम हत्या भैसकेको थियो । हरेक हप्ता रोग र आत्महत्याका कारण सैयौं यहुदीहरू ढलिरहेका थिए । एकदिन उसको पनि पालो आयो, ग्यास च्याम्बरमा राखेर मारिने मितिको घोषणा भयो । उ रातभरी सुत्न सकेन, बिहानको सुर्योदय नहुँदै उसले आफुलाई तयार गरायो । क्रमश उसले भाइ बैनी र आमाको अनुहार सम्झियो । 

तर मृत्युले यसपटक पनि उसलाई अंगाल्न सकेन । शिविर वरिपरी कोलाहल मच्चिएको सुनिन्थ्यो, कैदीहरु भागाभाग गर्दै थिए, उसले पनि त्यसै गर्यो । भाग्नेहरुको हलमा मिसिएर बाहिर पुग्दा, शिबिरका गेटहरु रातिनै  भत्किसकेका थिए । निकै पर सम्म उसले रसियन सैनिकका गाडीको  लश्कर देख्यो । यति बेला सम्म रसियन फौजले बन्दी शिविरका कैदीहरुलाई मुक्त गरिसकेका थिए । 

आफुले भोगेका जीवनका कथाहरु सुनाउदै गर्दा उ बारम्बार भन्थ्यो - "मृत्युले सहजै तान्न नसकेको मेरो जीवन आफैंमा एउटा चमत्कार हो । यु नो क्रिश, माइ लाइफ इज अ मिराकल । "





2012 इखिलोभ हस्पिटल, इजरायल

यसबेला उ अस्पतालमा आखिरी सासहरु गनिरहेको थियो । आखिरी पनि के भनौं ? जीवन र मृत्युको दोसाँधमा उ महिनौं अल्झिरहेको थियो । उसको अनुहारमा अब कुनै भाव थिएन, तन मात्र हैन, आँखापनि संज्ञा शुन्य हुँदै गैरहेका थिए । लाग्थ्यो अब उ बिमारीको त्यो अवस्थामा पुगेको छ, जहाँबाट फर्केर आउने कुनै पनि बाटो छैन । प्रतीक्षा केवल मृत्यको छ, त्यो आवोस र पीडासंग गाँसिएको उसको साइनो तोडिदेओस । दुखको यो सिलसिला सदाको लागि समाप्त होस् ।  

मर्फिन .. होशमा आउँदा उसले बोल्ने शव्द यही थियो - जीवनदेखि यति धेरै पीडा भएको छ कि, पेनकिलरको अर्को डोज लिन चाहन्छु र पुन निदाउन चाहन्छु । अर्को संसारमा हराउन चाहन्छु, मेरो स्वप्नदेवसंग।

यो बुढो मान्छेको सुसारे भएर इजरायलमा धेरै समय बितिसकेको छ । म उसको हात सुम्सुम्याउछु र सबै ठिक हुन्छ भन्छु तर मलाइ थाहा छ अब केही  ठिक हुदैन, उसको यात्रा एकतर्फी भैसकेको छ, जहाँ बाट फर्केर आउन मिल्दैन ।

दिन महिना र हप्ता उफ ! हरेक दिन र हरेक पल ..  यो समयको मोल कति हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि यहि बुढो मान्छेको एकनासे यात्रामा मैले मेरा अमुल्य समयहरु यसरी नै बर्बाद गरिरहेको थिएँ । लामो समयसम्म उसले आँखाबाट आँसु बगाइरहने फुर्सद र मलाइ त्यो पुछिरहने धैर्य कहिले सम्म हुने हो ? म अतालिदै गैरहेको छु ।

कहिले त मनमा यस्तो बिचार पनि आउथ्यो - हे भगवान यो बुढो मान्छेको पीडासँग गाँसिएको अटुट सम्बन्ध छिटै फुकाइदेउ र लैजाउ । फेरी हठात् आफैलाई प्रश्न गर्छु - म किन यति कठोर भएँ हुँला ?अनायास उसको टीठलाग्दो मुहार हेर्थें - जहाँ जीवन र प्रेमको सग्लो आकार अझै बाँचिरहेको थियो ।

शुरुमा केही दिन त उसका आफन्तहरु सधैं आए तर अहिले उसलाई भेट्न कोही आएका छैनन । मलाइ आश्चर्य लाग्छ कि संसारमा यति धेरै एक्लो मानिस पनि हुँदोरहेछ ? आफन्त भएरै पनि जिन्दगीभरी उ एक्लो थियो र जीवन र मरणको यो अन्तिम लडाईमा पनि एक्लै छ । उसको देह मुढोमा परिणत भैसकेको छ, स्नायुले शरीरका कुनै पनि भाग संग समन्वय गर्न सक्ने अवस्था छैन । आँखा र ओठ बाहेक अन्त कतै प्राण बाँकी नभएजस्तो सम्पूर्ण शरीर स्थिर छ । कहिले फेरि मनमा यस्तो पनि विचार आउथ्यो, कि उ जुरुक्क उठ्न सक्छ,बोल्न, हिड्न डुल्न सबै गर्न सक्छ - तर आफै निदाउन चाहन्छ ।

उसको र मेरो बिचमा अब मौनताको नदी झन् झन् बढिरहेको थियो, पटक पटक कुनै दुस्वप्न बाट झस्किए झैं केही आवाज निकालेर पुन उ स्वप्नदेव मर्फिनको नशामा हराउथ्यो ।


'क्रिश !'
उ केही बोल्न खोज्छ, विल यू प्लिज होल्ड माइ ह्याण्ड ? '
मलाइ थाहा थियो उसको हातले कुनै स्पर्शको महसुस गर्न सक्दैन तर मलाइ लाग्यो  कि स्पर्श त्वचाले नभई मनले महसुस गर्छ शायद ।

मेरो अन्तिम सास सम्म तिमी मेरै समिप बस ल ?
उसको अनुरोधले म फेरि स्तब्ध हुन्छु। अहोरात्र घर अस्पताल धाउँदा धाउँदै म आफै बिमारी हुनमात्र बाँकी छ, यद्यपि सान्त्वनाको मुन्टो हलाउछु र भन्छु -  म यही छु तिम्रै छेउमा, तिमीलाई छोडेर कतै जाँदिन, ढुक्क होउ ।

थाहा छैन उसको यो यात्रा र मेरो प्रतीक्षा अझै कति लामो हुनेछ तर मेरो कानमा अझै उसका शव्दहरु गुन्जिरहन्छ - "यु नो क्रिश, माइ लाइफ इज अ मिराकल ।"





पर्खाल पारिको त्यो देश - इजरायल I

3 comments

Thursday


पराजय र मृत्युका कथा नलेख्न आग्रह गर्नेहरुसँग एकदम असहमत छु ... ।

विस्थापित् भएर आफैं सँग परिचय माग्नेहरुको कथा कहिलेदेखि लेखिन थाल्यो थाहा छैन । आफ्नै घरबाट खेदिएर आफ्नै आँगनमा भौतारिन विवश धेरै मानिसहरु छन यहाँ ।

देश भन्दा पहिले मान्छेले ओत खोज्छ, छानो खोज्छ, अधिकार भन्दा पहिले उसले गास वास र कपास खोज्छ । जिउधनको खतरा बढ्दै गएपछि इजिप्टको बोर्डर हुँदै लुकिछिपी इजरायल भित्रिएर शरणार्थीको लश्करमा उभिएका सुडानीका कथा व्यथाहरु इजरायलका गल्ली गल्लीमा छरिएका छन , सामाजिक संथाका दस्तावेज र अखवारका पानाहरुमा तिनका विवरणहरु लेखिएका छन । तर आफ्नो देश र भूमिको हक भन्दा पनि केवल रोजीरोटीको संघर्षमा भौतारिदै इजरायल प्रवेश गर्ने प्यालेस्टिनीका कथाहरु कतै लेखिएको छैन । तिनलाई राजनैतिक रंग दिएर इजरायल दिनदिनै मेटिरहेछ उनीहरुको अस्तित्व ... ।

यसरी नै भौतारिदै इजरायल प्रवेश गर्ने एउटा प्यालेस्टिनी किशोरको कथा हो यो ।

----------------------------------------------------------------------------------


त्यो साझ उसले मसक्क आँट गर्येा। दिउसो परेको सिमिसम पानीले जमिन अँझै ओभानो भएको थिएन। मलिन हुदै घामले बिदा माग्दै गरेको बेलामा पश्चिम किनारको त्यो सानेा शहर पुरै रातेा रातेा रंगको देखिएको थियो। आज यो रंगको तुलना उसले कुनै अपीय वस्तुसग पटक्कै गर्न चाहेन। बादल खुलेर सफा भएको आकाश झै उसले मनभित्रका दोधारे विचारहरूको धमिलो बादल सबै पन्छाएको थियो । ऊ स्पष्ट थियो - सुटुक्क पर्खाल नाघ्ने।

समय स्थान र परिबेशको कत्रो सम्वन्ध मान्छेको जीवनमा? भर्खर १६ पुगेर १७ लागेको त्यो किशेार यति छिटै यस्तो परिपक्व हुनुमा उसको भुगेाल र राजनीति नै प्रमुख कारण थिए।


नाम शेरिफ
घर प्यालेस्टायनको पश्चिम किनार
विस्थापित हुदै जादा सुर्को जस्तेा साँधुरेा मानचित्रमा बाँचेको उसको देश।


धेरै भयो पश्चिम किनारमा इजरायलले गाजामा जस्तेा वमबारी गरेको छैन। यूध्दक विमान र ट्यांकका ताँतीहरू पनि त्यहाँ देखिदैनन यसर्थ यस भेगमा प्यालेस्टिनीले उस्तेा त्रासदी भेाग्नु परेको छैन्, तर त्यो मैानता भित्र राजनीतिक कुण्ठा र अप्रस्फुटित विद्रेाहको अधिबेहरी लुकेको छ, जसलाई लुकाएर नै बाँचेका छन निरीह प्यालेस्टिनीहरू।

शेरिफलाई राजनीतिमा विल्कुल रूची छैन। इजरायली सैनिकको गाडी वा टंयाक आएको बेला अरूजस्तेा हुरूरू ढुङा वर्षाउन ऊ कहिल्यै गएको पनि छैन। न त पर्खाल पारि देखिने त्यो देशलाई उसले शत्रुको देश भनेर नै मानेको छ। हो, अलि अलि दुख त उसलाई जरूर लाग्छ, जब उसको हजुरबा पर्खालपारि इशारा गर्दै सुनाउछन- 'उ त्यो करेाडैको व्यापार हुने कारखाना छ नि, त्यो जग्गा पहिले हाम्रो खेत थियो ।'

पराधिनता स्वीकार्न नसकेर विस्थापित हुनु पुगेका त्यस्ता अरू धेरै प्यालेस्टिनीका सन्तति झैँ देश फर्काउने लहैलहैमा लागेर ऊ कुनै मुक्तिमेार्चामा शामिल कुन पनि गएन । नेताहरूले बेला बेला भाषण गरेको सुन्थ्यो 'जवसम्म एउटै मात्र प्यलिस्टिनि यो धर्तीमा बाँकीरहन्छ इजरायलका विरूध्द लडेरै मर्छ तर कदापि हार मान्ने छैन।'

उसलाइ लाग्थ्येा जसले जित्छ उसैको हुन्छ देश, इतिहासमा उसले त्यस्तै पढेको थियो। हारजितको खेल खेलेरै विभिन्न शासकहरूले यो धर्तिको माटो आ आफ्नो नाउमा कोर्न भ्याएका न हुन । नत्र यो धर्ति कस्को? यो श्रृस्टि कसैको पनि हैन। न इजरायलीको न प्यालेस्टिनिको। यो जमिन कस्को ? यदि हो भने सवैको साझा हुनुपर्छ।


शेरिफ जस्तै किशेारका रगत उमाल्ने यास्ता भाषणहरू, राष्र्ट्रीय गानहरू वा अभिव्याक्तिहरू, सबै राजनीति गर्नेका चालहरू मात्र हुन। जसले हामीलाई युद्धमा होम्छन र ज्यानको बाजी थाप्न लागाउछन। उसले बुझेको राष्ट्रियता सारै फितलो थियो ।

निसिम उसको मिल्ने साथी । २ साल भयो निसिमको दाजु त्यो पर्खाल पारीको देशमा काम गर्न थालेको । अहिले उनीहरूको शान बेग्लै छ। नयाँ घर बनाएका छन, ट्याक्टर किनेका छन। ऊ कहिलेकाही सोच्थ्यो त्यहाँका मान्छेहरू किन धनी छन, हामी किन गरिब ? उनीहरू यस विषयमा गफ गर्थे । 'बुझिस त्यहाँ त सबै युरेाप र अमेरिकाबाट भागेर अाएका व्यापारीहरू छन धनी त हने नै भयो नि। अनि तिनीहरूलाई किन भाग्न परेछ त? यिनीहरू साह्रै धूर्त, बाठा र ओभर इन्टेलिजेन्ट भएकाले त्यहाँका मानिसले लखेटेका रे ।

अर्को भन्थ्येा यिनीहरू 'सियो बनेर पस्ने र मुशल भएर निस्कने जात हुन' जहाँ गयो त्यहाँको कारोबार सबै आफ्नै पार्ने भएकाले यिनीहरूलाई खेदेर पठाएको रे।

सुलेमानलाई यो विषयमा अलि बढी ज्ञान थियो, ऊ भन्थ्येा त्यसो हैन तिनीहरू यहुदी हुन, जसका पितापुर्खा यतैका रैथाने थिए, बिस्तारै युरोपतिर लाखापाखा लागेर बिभिन्न ठाउँ पुगेका बेला तिनीहरूमाथि दोस्रो विश्वयुद्धताका अत्याचार बढेकाले फेरि पुख्यैाली थातथलो फर्किएका हुन। यिनीहरूको सम्वन्ध व्यापार अहिले पनि युरोप अमेरिका लगायत विकसित देशहरूसँगै भएकाले यिनीहरू धनी छन् ।

शेरिफ पटक पटक पर्खालपारिको स्वर्णिम देश धुस्ने इच्छा जाहेर गर्थ्येा। उसको काँधमा परिवारको जिम्मेवारि पनि त थियो।

उसका साथीहरू सुनाउथे, हाम्रो जग्गा हडपेर खानेहरूकोमा फेरि लुकिछिपि बस्न जानु ? मेरो त स्वभिमानले दिँदैन बरू यिनीहरूलाई जहाँबाट आएको हो, उतै खेदनुपो पर्छ। तलाई थाहा छ ? कतिजना ठुला मान्छेले यो इजरायल भन्ने देशै छैन भनेका छन। यो त हाम्रो हो, प्यालेस्टिनीको।

इस हाम्रो ? बरू हामीलाई चै लाखापाखा लगाइसके, सम्पन्न र शक्तिशाली भएपछि कसको के लाग्छ ?

यस्ता सम्वादहरू शेरिफका दिनचर्याका अभिन्न क्षण बन्दै आएका थिए।

त्यो पर्खाल नाघ्न सजिलो थिएन, इजरायल प्यालेस्टाइन संधर्ष लम्बिदै गएपछि बारम्बार प्यालेस्टिनी आत्मघाती आक्रमण हुन थालेपछि सन् २००७ देखि इजरायली सरकारले प्यालेस्टिनी कामदारमाथि नियन्त्रण र प्रतिबन्ध लागायो । आवश्यक जनशक्तिको आपुर्ति रसिया, चिन, थाइल्यान्ड, फिलिपिन्स, नेपाल, भारत लगायतका अन्य देशबाट हुन थाले। यी मध्येपनि अहिले धेरै राष्ट्रमाथि बन्देज लगाइएको छ।

जहीँतहीँ सादा पोशाकका इमिग्रेसन प्रहरीहरू छन । अफ्रिकन तथा रशियन मूलका भिजिलान्तेहरू समेत विदेशी कामदारको हरक्षण निगरानी गरिबस्छन् । सीमा तथा प्रबेषाज्ञा जाँच यस्तेा कडा गरिएको भएपनि धेरै प्यालेस्टिनी तन्नेरीहरू रातारात पहाड, जंगल र भरूभूमिको अनेकैँ चेारबाटो हुदै पर्खाल नाघ्छन र इजरायलमा लुकिछिपी काम गर्छन्।

धरै किशेारहरू प्यालेस्टाइनको राजनीतिक अस्थिरता, अर्थिक गिरावट र अभावको सम्पूर्ण दोष इजरायललाई दिएर घरघरबाटै रकेट बनाउदै पर्खालपारिको देशमा हिर्काउने एकातिर छन भने अर्कातिर शेरिफ जस्ता धेरैलाई थाहा छ कालो अरिँगालको गोलामा ढुङ्गा वर्षाउनु, आफै खतरा निम्ताउनु हो। बरू त्यसको विपरित सुटुक्क इजरायल छिर्नु, लुकिछिपि बस्नु, टन्न पैसा कमाउनु र टाप कस्नु अर्को विकल्प। 'कि खान्छ आँटले, कि खान्छ ढाँटले' - शेरिफलाई यो उक्ति निकै सही लागेको छ। अब उसले यी २वटा कुरा गर्नुपर्नेछ। भेाक र गरिबीबाट सताइएका धेरै प्यालेस्टिनी मध्ये ऊ पनि एक हो । भाइ बहिनीलाई स्कुल पठाउने र परिवार पाल्ने जिम्मेवारी छ उसको।

उसले एकपटक आबुसँग कुरा गर्ने सोचेको थियो, आबु अेमार जेा प्यालेस्टिनी किशोरलाई अवैध कामदारको रूपमा इजरायल भित्रयाउने दलाल हो। अनेकौँ ट्याक्टिस र नाका प्रयोग गर्दै प्यालेस्टिनी कामदारलाई इजरायल प्रबेश गराउने मानव तस्कर दलालहरू छन, नक्कली पर्यटन कम्पनीहरू छन। तिनीहरूलाई तिर्ने पैसा उसँग छैन । तर कुन बाटोबाट कसरी पारि पठाइन्छ, शेरिफलाई स्पष्ट थाहा छ।

हिडनु अघि एकपटक उसले फेरि दाह्रा किट्यो "कि खान्छ आँटले ….........................."

हजारौँ प्यालेस्टिनी कामदार छन इजरायलमा, अधिकांश अवैध तरिकाले प्रवेश गर्ने नै छन र जोसँग काम गर्ने अनुमति छैन ।त्यसमा म एक जना थपिन्छु त के भयो ?

पानीले ओस्सिएको धुलो जबर्जस्ती उडाउँदै ऊ बसेको गाडी गुडयो। आधा धन्टा नबित्दै बेत-इक्षा आइपुग्यो ।

बेत-इक्षा सानो अरब गाउँ, जहाँबाट अब इजरायलको जेरूसेलम शहर पुग्न ३ किलोमीटर मात्र बाकी छ। बेतइक्सा पुगेपछि उसले पैदल हिडनुपर्ने छ । अबको बाटो ढुङ्गा र पहाडको ।

पश्चिम किनार, इजरायल प्रवेश गर्न सजिलो ठाउँ हो,त्यसो त प्रत्येक कुना कुनाबाट हरेक दिन सयौँको संख्यामा प्यालेस्टिनी कामदार सीमा नाघ्ने ठाउँ हेरेर बसेका हुन्छन्। ती मध्ये ५० प्रतिशत पुलिस देखेर मरूभूमिको धुलै धुलो जसरी आएका थिए उसरी नै फर्किन्छन्। अहिले त बेत इक्षामा पनि ठाउँ ठाउँमा चेक प्वाइन्ट राखिएका छन्। वरिपरि यहुदी वस्ती पनि छ,त्यसैले पर्खाल भने लगाइएको छैन्। तर अर्ध सैनिक प्रहरीको गस्ती दिनभरजस्तो भइरहन्छ। आठ नौ किलोमीटरको यो बाटो यति जेाखिमपूर्ण छ कि रिसाहा सु्रक्षाकर्मी पर्यो भने टाढैबाट नै गोली हान्न के बेर? ऊ चुपचाप पाइला अघि बढाउँछ, सैनिकका बुटका पदचापहरू सुन्न कान तिखो बनाउदै, अप्ठ्यारा ढुङ्गाहरूमा ठेसलाग्दा उसलाई लाग्छ ..शायद यो अन्तिम परिक्षा हो र यो परिक्षा मैले पास गर्नैपर्छ।

बाटो छिचेालिँदै गयो। अब टाढाबाट साँझको झिलिमिली बत्तीले सजिएको सुनको सहर जेरूसेलम देखिन थाल्येा । त्यसै कहाँ गाइएको रहेछ र यसको महिमा .. जेरूसेलायम शेल जहाव( jerusalem of gold) सुवर्ण जेरूसेलम। उसको खुसीको सीमा फैलँदै गयो।

हो परिक्षा अँझै सकिएको थिएन सायद। एउटा अस्पष्ट आवाज बेाकेर ल्याएको एक झेाक्का चिसो बतास उसको कानैमा ठोकियो । कोही कराए जस्तेा, केही भनेजस्तो । नबुझिने तर चर्को, केही सुनियो। कसैले देख्यो जस्तेा छ, अघिदेखि नियालिरहेको खम्बामाथि टाँगिएको पिलपिल बत्तीले उसलाई कतै लुक्न पनि दिएन । अब के गर्नेहोला? हात उठाउने त उसमा झन होश नै भएन । अकस्मात कत्तिखेर खुट्टाले दच्किएको हरिणको गति लियो उसले पत्तै पाएन । एकैछिनपछि बन्दुक पड्केको चर्को आवाज सुनियो ।

..........................................................

भोलि पल्ट समाचारमा उसको फोटो छापियो।
हेडलाइनमा नै लेखिएको थियो...............
वेष्टबैंकबाट इजरायल प्रबेश गर्ने प्येलिस्टिनी आतंककारीसँगको मुठभेडमा एकको मृत्यु ।


नाम-शेरिफ
उमेर- १७
घर-पश्चिम किनार


शुरुमै भने नि - पराजय र मृत्युका कथा नलेख्न आग्रह गर्नेहरूसँग एकदम असहमत छु ।
समाप्त..................................................।

ज्वोरो

3 comments

Friday



'तिम्रो धेरै याद आउछ यति धेरै की जति तिमी कल्पनासम्म गर्दैनौ । वा जति म तिमीबाट लुकाउने कोसिस गर्छु त्यसभन्दा पनि धेरै ।'

उसले सधैंझैं ईमेल लेखी - व्यस्त मान्छेलाई डिस्टर्ब गर्न मन लाग्छ, सोध्न मन लाग्छ - मेरा सपनाहरूले किन सधैं मलाई तिम्रैतिर डोर्याईरहन्छ? मेरा आँखाहरूले किन सधैं तिम्रै बाटो कुरिरहन्छन ?

---------
एउटी केटी ज्वोरोले बर्बराइरहेकी थिई र उसका ओठबाट यस्तै शव्दहरु उच्चारित भैरहेका थिए ।
--------

'तिमी झुठ बोल्छौ, एकदम झुठ ...
थाहा छ तिमीलाई, सात सुर्यको ताप जस्तो जिउभरी ज्वोरो बढ्दै जाँदा मुटुभित्र बाहिर यो रातो रगत भरिएर नशा नशा सल्बलाउन थाल्छ । मलाइ आफ्नै अन्तरको रापले जलाई रहेको छ। मन मुटु र सारा शरीर ....। कुनैबेला स्कुलमा पढेको अर्थहीन वाक्यांशको याद गर्छु - हाम्रो शरीरका सप्पै नशाहरु जोडेर एकै रेखामा मिलाउदा त्यसले यो संसारलाइ नै दुइ फन्को मार्न सकिन्छ रे ..., हरे कस्तो काल्पनिक कुरा! तिम्रो शहरसम्म पुगेर तिमीलाई एकै फन्को बेर्न पाए ।

यस्तै घाम चर्किएका दिनहरु हुन्थे र म नाङ्गो पैताला दौडिएर त्यहाँ त्यहाँ पुग्थें जहाँ जहाँ तिमी आउछौ भन्ने लाग्थ्यो । तर भ्रम , तिम्रो आगमनको त मात्र भ्रम हुन्थ्यो । यो मन जो पागल भएको थियो, कहिलेकाही छिटो छिटो धड्कदा पनि लाग्थ्यो कि यो तिम्रै पदचापको ध्वनी हो ।

सुटुक्क तिम्रो घरको झ्याल्संम पुगेर तिमी निदाई रहेको चियाउनु, चप्पल र पाउजु फुकालेर नाङ्गो पैताला चुपचाप ... नत्र के थाहा वसन्तले भर्खर पलाएको पालुवा भित्र लुकेर बसेकी कोइलीले यो सब थाहा पाउछे अनि गाउभरी हल्ला गरिदिन्छे - कि म लुकी छिपी तिमीलाई भेट्न जानेगर्छु ।

तिमीलाई त के फरक पर्छ र ? हप्तै भरि बिरामी भएर थलिंदा पनि एकपटक भेट्न आउदैनौ । त्यही खलेगरामा डण्डी बियो खेल्दैमा कहाँ फुर्सद हुन्छ तिमीलाई ? हेरी राख न, खेत सबै मैदान बनायो भनेर तिमीहरुलाई कुन दिन ठुलाबाले पाता फर्काउनेछन, अनि थाहा पाउनेछौ ।
----------------------



धेरै बर्ष भयो, यस्तरी ज्वोरो आएको । अहिले त त्यो केटाकेटीपना कहाँ रह्यो र?  हेर्दाहेर्दै बालापनले डाडा काटेर गयो । शाश्वत सत्य - समय अविरल बगी रह्यो, बगिरहन्छ ।

तर आजपनि जब परदेशबाट फोनमा कोही उसलाई सम्झाउने कोसिश गर्छ कि - 'तिमीसंग मेरो कहिल्यै प्रेम भएकै थिएन' । तब उभित्र भक्कानो बनेर जमेको मुटुको बाँध फेरी भत्कन्छ र एकाएक बेस्सरी ज्वोरो फुटेर आउछ ।

अर्को मृत्युको कथा [आफ्नै आवाजमा ]

4 comments

Tuesday



आज मैले आफ्नै आवाजमा कथावाचन पोडकास्ट गरेको छु, कस्तो लाग्यो सुन्नु होला ।



(यस कथाका घटना तथा पात्रहरु लेखकको कल्पनामा आधारित छन , कसैसँग मिल्न गएमा त्यो केवल संयोग मात्र हुनेछ।)

डिसेम्बरको अन्तिम साता, रियाद शहरमा नयाँ बर्षको रौनक पुरै छाई सकेको थियो तर बाहिरको यो रौनकतासँग विल्कुल अनभिज्ञ थियो उ केही बर्ष देखि ।

कारागारको झ्यालबाट उसले फेरी एकपटक बाहिरको संसार चियाउने असफल चेष्टा गर्यो । बिहान उघ्रिसकेको थिएन, यता उता गरिरहेका कालजस्ता अरबी सैनिकहरु, काँडेतार सिउरिएका अग्ला पर्खाल र त्यसमाथिको धमिलो क्षितिज बाहेक उसले अरु केही देख्न सकेन ।

रियाददेखि २५ माइल दक्षिणमा अवस्थित अल हायर बन्दीगृहका भित्ताहरुमा कैद भएर सास फेरिरहंदा उ धेरै पटक आफै सँग प्रश्न गर्छ - यसरी शरीरमात्र बाँचिदिनुको के अर्थ छ जीवनमा ?

चारबर्ष अघि उसलाई यहाँ ल्याउदा उसले भेटेका कैदीहरु पनि आज कोही साथमा थिएनन जो सँग उनीहरु एक आपसमा आफूले गरेका अपराधका कथाहरु सुनाएर दिन बिताउन सकुन । त्यसबेला उसले अरु कथाहरु पनि सुन्न पाएको थियो । कैदीलाइ दिईने 'राजकीय आम माफीका कुरा' उसलाई सबै भन्दा धेरै सुन्न मन लाग्ने प्रसंगहरु हुन्थे, तर यतिखेर उ ' 2003 मा यही झ्यालखाना जलेको इतिहास सोचिरहेछ - जुनबेला धेरै कैदीहरु आगोले जलेर जेलभित्रै मरेका थिए ।

हजारौं सपना सहित खुल्ला आकाशमा स्वतन्त्र भएर उडेका कल्पनाहरु आउनै छाडेका थिए । तर छातीभित्र कतै शेष रहेको जिजिविषाले भने बेलाबेला पत्नी, छोराछोरी र घर सम्झाईरहन्थ्यो र भविष्य सोच्न बाध्य बनाउथ्यो ।

मलाइ देख्ने बित्तिकै उसका आँखाहरु विस्फारित भए,
'अदालतले मेरो बारे कस्तो निर्णय गर्यो ? के सुनुवाई भयो ?'
यो प्रश्न सोध्दा उसका ओठहरु लुगलुग काँपिरहेका थिए । अनुहार भरी भय र त्रासको बादल मडारिएको थियो । उ निकै आत्तिएको थियो ।

मैले भनिन कि ' हेर, तिमीलाई मृत्युदण्ड दिईयो, तरवारले काटेर तिम्रो शरीरबाट शिर अलग गराउने आदेश भएको छ । अब केही दिनमै यहाँको कानुनले तिम्रो पनि हत्या गर्नेछ र इहलिला समाप्त गरिदिनेछ ।' मैले यति भने - ' चिन्ता नलिउ, केही भएको छैन, सबै ठिक हुन्छ ।'


उ एउटा हत्यारा हो, एकजना विदेशीको हत्या गरेको अभियोगमा यहाँ कैद भएको थियो । यद्यपि मेरो मनमा असंख्य दया र सहानुभूतिका भावहरु उर्लिरहेका थिए । स्वदेशी भएको नाताले हो या यो कारणले कि केही दिनभित्रै सजायको नाउँमा अब उसको पनि हत्या गरिनेछ ।

उ भनिरहेको थियो - 'मैले प्रत्याक्रमण मात्र गरेको हुँ, के थाहा त्यसको ज्यानै जाला भनेर ?' शायद उ ढाँटिरहेको पनि हुनसक्थ्यो ।' भन्दै थियो - ' यो घटना मेरो हातबाट त्यो स्थितिमा पुगेपछि भयो जहाँ या त मैले उसलाई सिध्याउनु पर्थ्यो या त उसले मलाइ मार्न सक्थ्यो, मैले पहिलो बाटो रोजें ।

अस्ताउने बेला नभई घाम लुकेजस्तो आकाशमा अन्धमुष्टि कालो बादल छाएको थियो । बर्षा हुने सम्भावना बढेकोले म छिटो फर्कनु थियो ।

"लाग्छ मलाइ मृत्युदण्डको सजाय भैसकेको छ तर तपाईं ढाटिरहनु भएको छ । भनिदिनुस न मलाइ अब के गर्ने भए अरबीहरुले ?
यो प्रश्न सोधी सक्दा उसको आँखामा आसुँ टिलपिलाएका थिए, तैपनि रुन्चे स्वरमा उ भनिरहेको थियो - 'अब मलाइ मर्नु सँग डर छैन, त्यसै पनि म अहिले यहाँ के बाचेको छु र ?

'यदि मलाइ डर छ भने मेरो मृत्युको समाचार सँग मात्र छ, जुन समाचार म मरेपछि मेरो साथीभाइ र मैले यसअघि बाँचेको समाजमा फैलनेछ । मानिसहरुले भन्ने छन एउटा अपराधीको टाउको काटियो।' उसको मुहारमा अब जीवनको कुनै कान्ति थिएन । मृत्युदण्डको खबरसँग अनभिज्ञ भएपनि यस्तो लाग्थ्यो उसलाई यो आभास भैसकेको छ कि उ मृत्युको ज्यादै नजिक पुगिसकेको छ ।

फराकिलो सडक र फुटपाथहरु ...घर फर्कदा देख्छु - कालो बुर्का भित्र आफ्नो यौवन र सुन्दरतालाई छोपेर हिड्ने आँखाहरुलाइ टाइट जिन्स र स्कर्टमा सजिएका युवतीहरुले चुनौती दिन थालिसकेका छन । पश्चिमा संस्कृतिको प्रभाव र वहाव यहाँका गल्ली गल्लीहरुमा बग्न थालेको स्पष्ट देख्न सकिन्छ । तर 'मान्छे मार्ने कानुन' यहाँ अझै किन बाचिरहेको छ ?

जीवन र मृत्युलाई नश्वर देहसँग जोडेर मात्र नहेरौं । म यतिखेर फ्रान्सेली चिन्तक रोलाँ बार्थलाई सम्झन्छु, जसले लेखकको मृत्युको घोषणा गरेर साहित्यिक समालोचना र सिद्धान्तमा चर्को बहस निम्त्याईदिएका थिए । उनको आशय थियो, लेखकको रचनामा आफ्नो स्वार्थभन्दा पाठकको स्वार्थ या बोध महत्वपूर्ण हुन्छ। पाठकको बुझाइमा निर्भर हुने हुँदा आफ्नो सिर्जना पस्किसकेपछि लेखकको मृत्यु हुन्छ र पाठकको जन्म । तर उनले उल्लेख गरेको मृत्युको बयानलाइ यो टिप्पणीले पुग्दैन ।

जिउँदो हुनु चेतना हो, अरुले उसको विचार र चेतना अस्तित्वको रुपमा स्वीकार गर्नु, महसुस गर्नु हो । उसका भावनाहरु आत्मसात गर्नु हो र उसलाई छ भनेर सम्झनु हो । जसरी बर्षौं अघि नै मरेका शहिदहरु हामीभित्र आजपर्यन्त बाँची रहेका छन ।


बाहिर आँगनमा पानी दर्कन थालिसकेको थियो, मेरो मनमा भने अझै उसले बोलेका वाणीहरु दर्किरहेका थिए -- 'दाइ, म त उहिल्यै मरिसकेको छु, जिउनुको सबै उत्साह र रहरहरुको हत्या भैसकेको छ यहाँ । यो अग्लो पर्खाल भित्र थुनिएको कैदी होइन म एउटा लाश बाचिरहेको छु । बरु छिटै होस् मलाइ मृत्युदण्डको घोषणा ... । दुख यसमा छ कि पराइ देशमा पराइको हातबाट मर्ने भएँ र सधैं अपराधी कहलिने भएँ । बिन्ती - यदि यस्तै भयो भने ढाकछोप गरेर लेखिदिनु है -- मेरो मृत्युको खबर ।'

उसलाई मृत्युदण्ड दिईने समय अनिश्चित थियो, मृतकका परिवारले 'ब्लड मनी' स्वीकार्ने सम्भावना पनि उत्तिकै थियो । मृत्युदण्ड पाइसकेको त्यो व्यक्तिमा पनि एउटै चिन्ता थियो, कि आफू मरिसकेपछि अरुले कसरी सम्झने हुन?

यो अरब भूमिमा असंख्य परदेशीका मृत्युका कथाहरु पुरिएका छन, यो आकाशबाट धेरै निस्प्राण शरीरहरु काठको वाकसमा कैद भएर उडेका छन ।

तर कथाले यस्तरी मोड लियो कि म आफै अचम्मित भएँ । अचानक जेलभित्रै उसको प्राण पखेरु उडेर गयो, एउटा रहस्यमय मृत्यु ... । राति सद्दे सुतेको मान्छे बिहान उठ्दा मरिसकेको थियो । उसको त्यो मृत्यु हत्या, आत्महत्या वा स्वाभाविक मृत्यु कुनै पनि थिएन । कुनै लक्षण नै नदेखाई अचानक मुटुका मांशपेशिहरुले काम गर्न नसकेर रक्तसंचार बन्द भई हुने यस्तो अज्ञात मृत्युलाई 'आकस्मिक निधन' भनिन्छ । मृत्युको कारणमा 'Sudden Cardiac Arrest' लेखेर अस्पतालका डाक्टरहरुले उसको मृत्युको घोषणा गरिसकेका थिए ।

अब उसको मृत्युलाई म कसरी लेखुँ?

इसरत

1 comment

Sunday

धेरै दिनपछि कथावाचनको अडियो सहित ब्लगमा उपस्थित भाको छु । मेरो अर्को कथा 'इसरत'लाई रेडियो राजधानीको साहित्यिक कार्यक्रम स्पन्दनमा संचालिका इक्षाजीले मिठा मिठा हिन्दी गीतहरु सहित सुमधुर स्वरमा प्रस्तुत गर्नु भएको छ । तपाईं पनि सुन्नुहोस ।


[Click the play button to listen the audio.]



इसरत र अरु केटीहरुमा खासै फरक थिएन । किशोरावस्थामा हुने सबैखाले स्वाभाविक अनुराग, चंचलता या नारीसुलभ लज्जा, उसमा पनि उस्तै विद्यमान थिए, जसरी अरु युवतीहरुमा हुने गर्छन, तर जातले उ इस्लाम परिवारकी सदस्य थिई ।

त्यसबेला भर्खर राजधानी प्रवेश गरेको थिएँ, अलि अलि काठमान्डूको हावाले छुन थालेको थियो र त्यो स्वाभाविक थियो । क्रमश: अनेक बहानामा क्याम्पसका कक्षाहरु 'मिस' हुन् थाले , त्यहाँ हुने बन्द, राजनीति या यस्तै अन्य कारणहरुले पढाइ नै हुदैन भन्ने मानसिकता हामीमा विकसित हुदै गयो । त्यसैले प्राक्टिकल सकिने बित्तिकै सुइकुच्चा ठोकिन्थ्यो, हाम्रो पर्खाइमा बागबजार तिर छपक्कै ट्युसन सेन्टर खुलेका हुन्थे ।

साँझपख फिजिक्स, केमेस्ट्री लगायत सबै मुख्य बिषयहरुमा ट्युसन पढ्न थालेको थिएँ, त्यही बेला धारामा पानी आउथ्यो र डेरामा बस्नेहरु पालैपालो पानी भर्थे । कहिले त कोठामा फर्कंदा पानी बन्द भै सकेको हुन्थ्यो र भाँडाहरु रित्तै हुन्थे ।

मेरो डेराको सामुन्नेमा इसरत र उसको परिवार बस्थे । उ नेपाली राम्रो संग बोल्थी, उसका बा-आमाको नेपालीमा चाहिँ हिन्दी मिसिएको हुन्थ्यो । बर्षौं अगाडी कुनै भारतीय व्यापारीको उद्योगमा कामदारको रुपमा आएको हुनुपर्थ्यो उसको परिवार । उनीहरुसँग परिचय बढेपछि भने मलाइ पानी भर्ने देखि अन्य धेरै कुरामा सहयोग हुन थालेको थियो ।

इसरतलाइ मेहन्दीको खुब शौख थियो, सधैंजसो उसका औंला र हातहरुमा हेर्थें, जहाँ अनेक आकृतिका लता र पुष्पहरु कुँदिएका हुन्थे जुन कुनै कलाकारको सुन्दर चित्रकारिता भन्दा कम हुदैनथ्यो । बिदामा उ घाम तापेर आमा संगै मिथिला चित्र पनि बनाउथी ।

एकदिन उ दौडेर मेरो कोठामा आई - 'तिमीलाई आज ममीले हाम्रोमा खान बोलाउनु भएको छ, आउ रे ... ।' भर्खर उनीहरुको एक महिना लामो रमजानको व्रत सकिएको थियो । उनीहरुले 'ईद' मनाउन डेरामा बस्ने अरुलाई पनि निम्ता गरेका थिए ।

चाडपर्व र खुसि बाड्ने अवसरहरुमा आफन्तहरुबाट टाढा भएको बेला यस्तै यस्तै चिनजान र परिचयहरुबाट मन बुझाउछ मान्छे । यही सोचेर मन नहुदानहुदै पनि उनीहरुको 'इद'को खुसिमा सरिक भएँ म । त्यसपछि त म एउटै परिवारको सदस्य जस्तो भएँ ।

म साँझ घर फर्किंदा उ ढोकाको सिढीमै बसिरहेकी हुन्थी र आखा जुधेपछि स्वाभाविक मुस्कुराउथी । निकै सुन्दर लाग्थ्यो उसको मुस्कान । हरेक पटक आँखा जुध्दा उसको ओठमा पोखिने आधा मुस्कानको म 'फ्यान' हुन थालेको थिएँ।

गणितका समस्याहरु लिएर होस् या मिठो मसिनो खानेकुरा बाड्न .. इसरतलाई मेरोमा आउन जान कुनै रोकतोक थिएन ।

एकदिन मैले यतिकै सोधें - 'तिमीहरु किन यति कट्टर हुन्छौ इसरत ?'
उसले भनी 'त्यो हामीलाई हेर्ने आँखा मात्र हो । हाम्रो धर्मलाई कसैले छुँदा धार्मिक अतिवादीहरुले गर्ने प्रतिक्रियालाइ आधार मानेर आम इस्लाममाथि गरिने भ्रामक विश्लेषण हो यो । यस्तो कर्मले सिंगो इस्लाम जातिको प्रतिनिधित्व पटक्कै गर्दैन ।' हिन्दु र मुस्लिम युवायुवतीबीच भएको प्रेमलाई लिएर समुदाय नै झडपमा उत्रिएका समाचारहरु धेरै थिए,

त्यसो गर्नु त महापाप होला हैन ?' मैले हास्दै सोधें । "हामीलाई छुन त कसैको आँट पनि हुनु पर्यो नि! " उसले आँखा झिम्क्याई र अलप भई ।

जाडो यामको कुनै एक दिन । बाहिर साँझ ढल्न लागेको हुँदो हो , जाडो बढेकोले कोठामै सिरकभित्र आफुलाई लुकाएर म संगीत सुनिरहेको थिएँ । इसरत कुनबेला भित्र आई मैले पत्तै पाइन ।

उसको हातमा एउटा डायरी थियो, मलाइ थमाउदै उसले भनी, गज़ल लेख्न सिक्दैछु, पुरा गरिदिने हो ? यति भनेर उ फेरी त्यसरी नै आधा मुस्काई, उसको मुस्कान कुनै शृङ्गारिक गज़लको एक लहर शेरझैँ सुन्दर देखिएका थिए ।

"ए तिमी गज़ल पनि लेख्छौ ?" मैले डायरी पल्टाएँ, एउटा गज़लको मत्लामात्र थियो त्यहाँ,

छाती भित्र कहाँ हुन्छ, कस्ले देख्न सक्छ माया
परम्परा जात धर्म, के ले छेक्न सक्छ माया ?

म पाना पल्टाउदै गएँ, कविता र मुक्तकजस्ता अरु केही टुक्राहरू पनि थिए । साथै प्रत्येक पानाको शिरानमा बायापट्टि उसले मेरो नाम लेखेकी थिई । त्यसको अगाडी लेखिएको थियो - मेरो प्यारो .............. ।

मैले सोधें - इसरत यो सब के हो ? उसले कुनै संकोच नमानी उत्तर दिई - 'त्यही, जे तिमी देख्दैछौ ।'

के गरेको इसरत तिमीले यो, तिम्रा बा आमा र अरुले थाहा पाए भने ? त्यसभन्दा पनि म त अध्ययनका लागि आएको यो शहरमा । परिक्षामा राम्रो अंक ल्याएर एम बीबीएस भिड्नु थियो मैले । मेरो सपनाको पहिलो तगारो उभिएझैं देखें इसरतलाई । अनेक भावहरुले एकैपटक घेर्न थालेपछि मैले उसलाई हकारेँ - यो पढ्ने समय हो मेरो र तिम्रोपनि, जाउ ।

उसले बचाउ गरी - "कृष्ण त मेरो भगवानको नाम हो, कुनै जाति र धर्म भन्दा पनि मैले प्रेमको भगवानको रुपमा स्वीकार गरेकी छु उनलाई । उनको नाम म दिनरात जपुँ या कापीभरि लेखुँ, तिमीलाई कुनै टेन्सन ? "

"अनि मलाइ देखाउनुको मतलब ? "
"यति हेर्दैमा तिम्रो के बिग्रियो त ? केही दिन अघि देखि यो गज़ल तिमीलाई देखाउन चाहेको थिएँ, मन भए पुरा गर्नु.. नभए पर्दैन ।" यति भनेर उ बाहिरिई ।

त्यसपछिका दिनहरु सामान्य भए । न त उसले कुनै आग्रह्भावको गज़ल लेखी न डिस्टर्ब नै गर्न आई । न मैले उसको गज़ल नै पुरा गरिदिएँ ? आउँदा जाँदा भने सधै उसले मलाइ उस्तै सुन्दर आधा मुस्कानले स्वागत गरिरहन्थी । उसलाई नदेखेको दिन म आफूलाइ पनि अधुरो अधुरो महसुस हुन थालेको थियो ।

अन्तिम पटक छुट्टीमा गाउँबाट काठमाडौँ फर्कदा उनीहरु त्यहाँ थिएनन, कुनै कारणले अन्तै डेरा सरेका थिए । त्यसपछि इसरतलाई कतै भेटिएन, भेट्नु पर्ने कुनै कारण पनि थिएन ।

थाहा थिएन किन, तैपनि मलाइ मनमा भने लागिरहन्थ्यो - हिड्दा हिड्दै शहरको कुनै भीडमा या जीवनको कुनै मोडमा पुगेपछि म उसलाई भेट्छु होला - एकै छिनको लागि सही, तर पक्कै भेट्नेछु ।

अहँ, त्यो दिन कहिले आएन ।

यद्यपि जब जब म कुनै गज़लका शेरहरु बुन्न थाल्छु, इसरतको आधा मुस्कान सधै मेरो आँखा अगाडी हासिरहेको हुन्छ ।

कहाँ गइस दिदी ?

13 comments
यो कथा तिहारमा लेखिएको हो, तर खै केमा व्यस्त रहेर हो, विविध कारणले समयमा पोष्ट गर्न सकिन । अनगिन्ती घटनाहरुको संकलन हो मानिसको जीवन । बिचमा धेरै घटनाहरु भए, र धेरथोर सिर्जनाहरु पनि । यहाँ जोड्न मिल्ने केही घटनालाई समय मिल्यो भने अवश्य शेयर गर्ने नै छु । यस अघि नै दुइ कथाहरु क्रमश: "दौराको फेर" र "इसरत" पनि लेखेर राखेको छु, टाइप गर्न भ्याएको छैन, समय मिलाएर छिटै टाइप गरी पस्कने छु । अहिलेलाइ यो कथा --







कहाँ गइस दिदी?

सम्झनाको धमिलो छाया पछ्याउदै म त्यो हदसम्म विगतलाई छुन सक्छु अनि दिदीको प्रेम र आत्मियता महसुस गर्न सक्छु, जुनबेला मैले भर्खर बोल्न शुरु गरेको थिएँ । म स्कुल जान अझै थालेको थिईनँ तर दिदी स्कुल जान थालेको चाहि दुई बर्ष भैसकेको थियो । छुट्टी हुने बेला दिदी स्कुलबाट फर्किएको हेर्दै म आँगनको डिलमा बसेर कुरिरहेको हुन्थें । दिदी सबै भन्दा पहिले आउथी, पिढीमा झोला फुत्त फ्याकेर दुवै हातले हावामा घुमाउदै उचाल्थी उ मलाइ । उसको झोलाबाट हलुवाको मीठो वासना आइरहेको हुन्थ्यो, अघिदेखि जसको प्रतिक्षामा म बसेको हुन्थें ।

त्यसताका दुर्गम भेगका सरकारी विद्यालयहरुमा हलुवा दिईन्थ्यो । आफ्नो भागको हलुवा नखाइकन घर ल्याउथी दिदी । उसले ल्याएका हलुवाबाट हेर्दा हेर्दै चरा बाघ भालु बिरालो जस्ता अनेक आकृतिहरु बनाउथी र बुट्टे थालमा लश्करै राख्थी । अनि पालैपालो मलाइ खुवाउदै भन्थी अब भाइले चरा खायो, बिरालो खायो, भालु खायो, बाघ पनि खायो । अनि म उसले बनाएका बाघ भालु खाएर भकुल्ले हुदै गईरहेको थिएँ ।

दिदीको सम्झना हुने बित्तिकै म हलुवाबाट बनेका तिनै बाघभालुका आकृतिहरु सम्झन्छु ।

एकदिन दिदी घर फर्कंदा उसँग सधैं जस्तो हलुवा थिएन। मलाइ उचाल्दै उसले कथा सुनाइ - घर फर्कंदा एउटा केटासँग उसको भनाभन पर्यो, अनि त्यो सँग झगडा गर्दा हलुवा भुईमा खस्यो ।

जहिले देखि म बुझ्ने भएँ, मैले थाहा पाएका मेरो जीवनका प्रारम्भिक कथाहरु हुन् यी। विस्तारै हामी संगै स्कुल जान थाल्यौं । त्यही बेला देखि नै मलाइ थाहा थियो - दिदी कडा मिजाजकी थिई, कसै सँग पनि झुक्दिनथी, डराउदिनथी, पछि हट्दिनथी । उसँग प्राय केटाहरु पनि त्यतिकै बोल्न डराउथे ।

नेपालको एउटा विकट जिल्लाको विकट गाउँमा हुर्किएका थियौं हामी, रुढीवादी परम्परा र संस्कारले व्याप्त थियो समाज । भेदभाव अशिक्षा र वर्गीय असमानताका अनेकन समस्याहरु विद्यमान थिए । उ यस्ता कुरीतिहरुको जरो उखेलेर फ्याक्ने सपना देख्थी र उसका सपनाहरु हामीलाई पनि सुनाउथी । ती सपनाहरु सुन्दर हुन्थे, दन्त्यकथाका नायिकाको जीवनजस्तै साहसी र रोमान्चक हुन्थे ।

दशैं तिहारको उमंग बोकेर धेरै शरदहरु आए, पहेलपुर सयपत्रीहरु फक्रिए । सप्तरंगी टिका र मखमली मालामा सजिएर धेरै अविष्मरणीय तिहारहरु संगै मनायौं । बरण्डाको रेलिंगभरि सँगै मैनबत्ती र दियो बालेर दिपावली गरेका अनमोल सम्झनाहरु बोकेर घुमिफिरी बर्षैपिच्छे आउछ तिहार। तेलको रेखाले वरिपरी घेर्दै हरेक भाइटिकाको साइतमा उसले भनेको सम्झन्छु - अब मेरो भाइलाई कसैले छुन सक्दैन ।


दिदीहरुको भैली खेल्ने समूह ठूलो थियो ।कहिलेकाही हामी पनि मिस्सिएर जान्थ्यौं, खुब रमाइलो हुन्थ्यो । गाउँको सिरानमा रहेको डाडाघरेको घरमा पुगेपछि सबैलाई बराबरी पैसा बाडथी उ, तर एउटा तिहार भैली खेल्नेहरु कसैले पनि पैसा पाएनन् । बाहिर चुपचाप भए पनि भित्र भित्र रिसाउनेहरु धेरै थिए भन्ने मलाइ लाग्यो ।

त्यो पैसाले उसले खोल्न र बन्द गरेर साँचो लगाउन मिल्ने झ्याल्जस्तो शिसाको खापा भएको बाकस किनेर ल्याई र भित्तामा झुन्ड्याई । केटाकेटी देखि ठुला मान्छेहरु पनि पढिरहेका थिए । त्यस्तै सातमा पढ्थी उ, उनीहरुले त्यो भित्ते पत्रिका चलाएका थिए । वाकस भित्रको भित्तेपत्रिकामा सबैभन्दा माथि लेखिएको थियो " बिगुल" । छेउ छेउमा दुइतिर फर्किएका विगुलका चित्रहरु थिए । त्यसको मुनितिर राखिएका रचना, जानकारी, सुचना, समाचार र अन्य सामाग्रीहरु हरेक हप्ता फेरिदै जान्थे । हामी पनि उसलाई सघाउथ्यौं ।

दिदी कसैसँग पनि लजाइन, डराइन र झुकिन । यसै बिषयमा घरमा बारम्बार उसैको चर्चा हुन्थ्यो, छिमेकीहरू पनि सुनाउथे - यो केटाजस्ती छ, नारीसुलभ लज्जा यसमा पटक्कै छैन, अलिकति त नरम हुनुपर्छ नि, कस्ती कडा मिजाजकी केटी, यसले दुख पाउछे.... आदि इत्यादि ।


दिदी र ममा धेरै बर्षको अन्तर थिएन
हामी तँ भनेरै सम्बोधन गर्थ्यौं, उ साथी जस्ती थिई तर उसको भूमिका चाहि परिपक्व र अभिभावकको जस्तो थियो । उमेरसंगै पछि त म दिदी भन्दा पनि अग्लो भएँ । हामीलाई को दिदी र को भाइ छुट्याउन पनि गाह्रो पर्थ्यो ।

त्यो दिन स्कुल बाट फर्किंदा घरभरि मानिसहरु थिए, भित्तामा झुन्ड्याइएको भित्ते पत्रिका त्यहाँ थिएन । केही दिन अगाडी दिदीले बुजुर्वा शिक्षाको बिरोधमा एउटा लेख राखेकी थिई र एउटा कविता । कविताको शिर्षक थियो "रातो तारा" । शायद त्यही बिषयमा घरमा सोधपुछ भैरहेको थियो, आमा खुब डराउनु भयो । भित्ते पत्रिका झिकिएको बिषयमा दिदीले बहस गर्न चाही । आमाले बोल्न दिनु भएन, सबैजना गए पछि गाउँलेहरुले उल्टो दिदीलाई नै सम्झाए ।

घरमा दिदीका साथीहरु आउँथे, केही परिचित, केही अपरिचित । एकदिन मैले उनीहरुको कुराकानी चियाएर सुनें । दिदी बारम्बार भनिरहेकी थिई - कुरा मात्र गर्ने हैन साथीहरु, अब साच्चिकै लड्ने समय आएको छ, देशका लागि रगत बगाउने समय आएको छ ।

कस्तो थियो त्यो लडाई ?

त्यसको केहीदिन पछि दिदी हराई । दिदी हराएको दिनदेखि आमाको आँखा कहिले ओभाएन । हराएको मान्छे भेटिने कथा भएको श्री स्वास्थानिको व्रत लिनु भयो आमाले । अनेक संकल्प र भाकल राख्नुभयो, तर दिदी घर फ़र्किईन ।

त्यसपछिको तिहार म एक्लै भएँ तर दोश्रो बर्षको औंसी, उ यसरी झुल्किई मानौं घरमा चहकिलो बत्ति बलेको छ र उसको आगमनले पुरै घर जगमग उज्यालो भएको छ । बा आमा गम्लंग अँगालो मारेर रुनु भयो । उसले काँधमा झोला भिरेकी थिई र खुट्टामा क्यानभास जुत्ता लगाएकी । मेरो पनि छाती भक्कानियो। खुसि हो या गुनासो, भावनाको एउटा विशाल सगरमाथा छातीभित्र पसारिएझैँ भयो । उसँग भन्नुपर्ने, पोख्नुपर्ने कति कुराहरु छातीभित्र तँछाड मछाड गर्न थाले, तर केही बोल्न सकिन ।

मैले यत्ति भनेँ,
किन गइस दिदी, अब नजा ल ?

भाइटिकाको साइत, उसले पहिले जस्तै तेल र पानीको धारा लगाउदै भनी - अब यमराज पनि यो घेरा भित्र पस्न सक्दैन, मेरो भाइलाई अब कसैले छुन सक्दैन ।
"दिदी, यस्तै आस्था र विश्वासको घेराभित्र के मैलेचाही तँलाई सुरक्षित राख्न सकुँला ?" मलाइ डाको छोडेर रुन मन लाग्यो । केटो मान्छे भएर पनि रुन्छ? दिदीले मेरो आँखामा बग्न थालेको नदीमा चियाउदै बेस्सरी हकारी ।

त्यसपछि मेरा कुनै पनि तिहारहरु उज्याला भएनन् र भाइटिका सधै उदास र एक्लो हुन थाल्यो । दिदी सधैका लागि हराई । उसको र उसले देखेको उज्यालो सपनाको प्रतिक्षामा धेरै हिउँद बर्षा र चाड पर्वहरु बितेर गए । झोला भिरेकी, क्यानभास जुत्ता लगाएकी, गहिरा आँखा भएकी, लिखुरी मेरी दिदीको त्यही अन्तिम सम्झना बाहेक उसको आगमनको पुनरावृत्ति हाम्रो जीवनमा अहँ फेरि कहिलै भएन । उसको र मेरो बिचमा कति अन्जान पहाडहरु, नदी जंघार र बाटोहरु थिए होलान ? वा कति कोश, कति माइल लामो दुरी टाढा पुगेकी होली दिदी ? सोच्दा सोच्दै म अत्तालिन पुग्थेँ कि यी सम्पूर्ण भौगोलिक दुरीहरु भन्दा पनि धेरै पर कहिले नफर्किने अज्ञात संसारमा पुगीसकी उ ।

मखमली र सयपत्री फुल्न थाले पछि, घरघरमा हरेक बर्षको तिहार दिपावलीको उज्यालो रङ्गले रङ्गिन थालेपछि मलाइ चिच्याई चिच्याई सोध्न मन लाग्छ - कहाँ गइस दिदी ?

मनोरम वस्ती

5 comments

Tuesday




मनोरम वस्ती
-यो सुन्दर नाम कुनै स्थानको नभई एक जना मानिसको हो ।

पत्रिका प्रकाशनको संघारमै भए पनि हरेक अंकमा उसका केही न केही रचनाहरु आइ पुगेकै हुन्थे, खुब तारिफयोग्य, ओजपूर्ण र प्रभावशाली लेख्थ्यो उ । कति पाठकहरु के सम्म भन्थे भने, मनोरमले नलेख्ने हो भने तिमीहरुको पत्रिका नै चल्दैन ।

पत्रिकाका धेरै अंकहरु गैसकेका थिए । यो तेश्रो पटक हो उसको कुनै रचना आएको थिएन । आज अचानक मनोरम टुप्लुक्क झुल्किएपछी खुसि हुदै मैले सोधें
"के छ मनोरम ! लेउ के लेखेका छौ यसपाली ? "

"के तिमीलाई भेट्न लेख नै लेख्न पर्ने हो र ? मैले केही लेखेर ल्याएको छैन कृष्ण .....!"
लामो सास तान्दै उसले भन्यो -
"एक हिसाबले भन्नु पर्दा मैले लेख्नै छाडी दिएँ भन्दा पनि हुन्छ ।"

म दुखि भएँ ।
"किन र मनोरम ?"
उ मेरो मात्र हैन धेरैको मनले खाएको लेखक । उसको लेखाइमा डुब्नुको आनन्द निकै पृथक र अर्थपूर्ण लाग्थ्यो । मेरो मौसमी लेखनको त उ प्रेरणा श्रोत जतिकै थियो ।सोही कुरा मैले उसलाई सुनाएँ ।

उ आलोचनासहित आएको थियो, एकै पटक आक्रामक प्रस्तुत भयो ।

" तिमी के लेख्छौ कृष्ण ? तिम्रो लेखन अमूर्ततातिर ढल्किदै गएको छ, जुन आख्यानमा पटक्कै सुहाउदैन जसलाई बोध गर्न पाठकले निधार खुम्च्याउनु परोस । काव्यले नै पहिरियोस - अमुर्त सौन्दर्यको गहना, आख्यानमा स्पष्ट बिषय विचार र धेय हुनुपर्छ ।प्रस्तुति जीवन्त हुनु पर्छ, कलात्मक हुनु पर्छ, बहाव हुनु पर्छ । कथा पढेर पाठक बगोस त्यो बहावमा ।"

मैले भने -
मनोरम,त्यो लेखाईको आ आफ्नो शैलीमात्र हो । फेरी म प्रयोगधर्मी पनि हुँ । प्रयोगले साहित्यलाई गति दिन्छ । प्रतिक्रियाको लागि धन्यवाद ।

उ थामिएन, उसले स्पष्टतामा अझ जोड दिदै भन्यो -
"मैले पछिल्लो कथा पढें तिम्रो " पात्र भेटिएन " भन्ने । यो कस्तो आख्यान हो ? तिमी कहिले पात्रै भेट्दैनौ , कहिले सबै पात्रको भूमिका आफै निभाउछौ ? पात्र चयन र चरीत्र निर्धारणमै अन्योल भएपछि आख्यानले कसरी गति लिन सक्छ ? भावना र बिचारको सम्प्रेषण कसरी हुन्छ ?

साहित्यप्रतिको प्रेमले यसो भनिरहेको छु कृष्ण! निश्चित भूमिकाका निश्चित पात्रहरु राख र कथा लेख । सिर्जनामा तिम्रो भावनाको बोधगम्य सम्प्रेषण हुनु पर्छ । पाठक केन्द्रित हुनुपर्छ। बजारमा नबिक्ने खालका छन तिम्रा रचनाहरु ।"

म भन्छु -मनोरम ! पात्रहरु आफै अनिश्चित छन यसबेला । बाहिर जे देखिन्छन, त्यो हुदैनन् । एउटाको नजरमा मुर्ख मानिस अर्कोको नजरमा देउता बराबर हुन्छ । पात्रका अनुहारहरु अनेकौं आवरणले ढाकिएका छन मनोरम । रुप र चरीत्र दुवै अस्पष्ट । मैले कसैलाई असल बनाएको पात्र नै पाठकको नजरमा खराब भैरहेको हुन्छ । यसर्थ मैले बिषय बदल्न खोजेको मात्र हो मनोरम, त्यस्ता बिषयहरु जसका बारेमा निर्धक्क आफ्नो बिचार बनाउन सकियोस ।

जस्तो कि म अहिले रातको कथा लेख्दैछु । शिर्षक नै "अँध्यारो" छ । जसका पात्रहरु भन्नु आकाश, चन्द्रमा, वादल र ताराहरु इत्यादि छन । यो प्रयोग हो, कसैले पढ्ला, नपढ़ला,नबुझला वा बुझ्ने चेष्टा र स्वीकार्ने हिम्मत नगर्ला तर त्यो भय ममा छैन मनोरम । के म त्यही भयलाइ अंगालेर एकादेशकै कथा लेखिरहूँ त ?

त्यसपछि भने एकछिन मौनता छायो । तर मेरो स्पष्टोक्तिले उसको चित्त भने अझै बुझेन ।
" किन भेटिदैन स्पष्ट चरित्रका पात्रहरु, ल मलाइ पात्र बनाउ र मेरो कथा लेख । म तिम्रो अगाडी उभिएको छु सग्लो, लेख मलाइ । " उ आवेशमा आए जस्तो दाया हातको चोर औलाले आफ्नै छातितिर इशारा गरिरहेको थियो ।

"हैन मनोरम ! यसरी लेख्दा त कथा झनै मर्छ । त्यो अस्वाभाविक र कृतिम हुन्छ । कथा कसैले थाहै नपाइ लेखिनु पर्छ, कम्तिमा कथाको पात्रले । उसले थाहा पाउने बित्तिकै कथा बनावटी हुन्छ" । ठिकै छ कुनै समय त्यो पनि लेखुँला ।
अरु सुनाउ के के चल्दैछ ? भेटघाट नभएको धेरै भयो । किन लेखन छाड्यौ ?" मैले सोधें ।

मैले कहाँ लेख्न छाडेँ र कृष्ण ? म अझै लेख्छु तर पत्रिकामा हैन । कतिले पढ्छन तिम्रो पत्रिका ? एउटा सिमित पाठक, कतिले पढ्छन ब्लग ? कतिले चलाउछन फेसबुक ? त्यसबाहिरको संसारको बारेमा कल्पना गरेका छौ ? त्यो विशाल छ अपार छ । हो म त्यहीं लेख्छु ती मान्छेहरुलाई सुनाउछु ।


मनोरमको कुरा एकदम अस्वाभाविक लागिरहेको थियो । उ भन्दै गयो -

मैले मान्छे हिड्ने बाटोमा लेख्न थालेको छु । नदी नाला, खोलाका ढुंगाहरु र बगरमा लेख्छु म । हरियो चौरमा लेख्छु, मन्दीर पाटी पौवा, धारो पधेरोमा लेख्छु । जीवनको गीत सुनाउछु, मेरा भावनाहरु अभिव्यक्त गर्न मलाइ कापी र कलम पनि चाहिदैन , शव्दहरु बाटै अभिव्यक्त हुनु पर्छ पनि भन्दिन म । म सूर्यको जिउबाट उज्यालो पोखिए जस्तै अनुभव गर्न थालेको छु, म आँखा बाट पोखिन्छु, हाँसो वा अनुहारका भाव /भंगीमाबाट पोखिन्छु । कतिपटक मैले मेरा आवाजहरुलाई अग्ला पहाड र समथर तराइहरुमा सुनाएको छु, हरिया जंगल होस् या मरुभूमिको उष्णता .... ! कुनै विधा बिषय र सिमा चाहिदैन म लेखिन, म आफै अभिव्यक्ति भएको छु - अभिव्यक्त हुन्छु, बस !

लेखन शैलीको बिषयमा भर्खर उसले म संग राखेको तर्कसंग आफै विरोधाभास हुने गरी उ अमुर्त बोलिरहेको थियो । मनोरमको कुरा र अभिव्यक्तिको उन्मुक्त स्वरुपले मलाइ डर लाग्न थाल्यो, कस्तो अनौठो र अस्वाभाविक कुरा गर्दैछ उ ? यस्तो त पहिले कहिले पनि थिएन ।

कि उसको बिचार मेरो चेतनाको स्तर भन्दा नै माथि उचालिएर कतै उ दार्शनिक्ताको बाटो त हिडिरहेको छैन ? या त उसप्रतिको मेरो सम्मान र दृष्टिकोण केवल भ्रम साबित गर्दै अचानक उ कुनै कारणले विक्षिप्त भयो ?


उ गए पछि मनमा एकपछि अनेक सवालहरु खेलिरहे । उसले के भन्न खोजेको थियो ? उसको ज्ञान र चेतनाको फैलावट मैले महसुस गर्न नसकेको कि उसले मलाइ बुझाउन नसकेको ? पहिले त यस्तो रहस्यमय कहिले थिएन मनोरम एकदम सामान्य थियो । विल्कुल अरु लेखक जस्तै ।

अचानक टिभीमा प्रसारित एउटा सुचनाले मेरो सोचाईको आकाश भरि मडारिएका वादलहरु सबै एकैसाथ भुइमा झरे ।

मानिस हराएको सुचना
नाम -मनोरम वस्ती
हुलिया -..... अरु अगाडी एक शव्द पनि सुन्नु परेन, तस्विर उसैको थियो हाँसिरहेको ।

त्यसपछि म दुखि हुदै एउटा कथा लेख्न बसेँ, जसको शिर्षक राखें - "मनोरम वस्ती" ।

पलायन र अनुत्तरित प्रश्न

5 comments




आकाश घुर्मैलो देखिएको थियो, भूमध्यसागर माथि माथि उडेका बादलका पातला धर्साहरु सागरका छालहरुमा एना हेरेर जिस्किरहेझैं लाग्थे । असारसाउन महिनाको चरम वैंशमा थियो याम, तर त्यो उर्लदो जवानीको एक अंश पनि कतै देखिएको थिएन यो मरुभूमिको देशमा .... ।


न बर्षा, न झरी, न हिलाम्य खेत न पर पर सम्म गुन्जने लैबरीका भाकाहरु । कृषि कामदारको रुपमा केही बर्ष अघि इजरायल भित्रिए पछि उसले खेत र खेतालाका बुझाइ र परिभाषामा व्यापक अन्तर पाएको थियो । नजर भरी फैलिएको जग्गा, फलफूलहरुको अपार जंगल र सयौं खेतालाहरु ।


उ एउटा खेताला, बेला बेला क्षितिजतिर बादलले कोरेका रंगी बिरंगी पछयौराका आकारहरु झुल्किदै ओझेल पर्दै गरेको देख्दा उ सोच्छ - यो असार साउनको बर्खामास, किन झरी पर्दैन यो देशमा ? एक झर निथ्रुक्क रुझ्ने गरी किन बर्षा हुदैन यहाँ ?

उ बसेको देशमा असार साउन र भदौका महिनाहरुमा कहिलै पानी परेन, बरु हिउँदका चिसा कठाङ्ग्रिँदा मौसमहरुमा कक्रिएको धरतीमाथि मुटु छेड्ने गरी असिना बर्षा र हिउँ खसाउथ्यो आकाश । उसलाई लाग्थ्यो यहाँको प्रकृति पनि निष्ठुरी छ ।

यस्तो बेला उस भित्र कतै घर भन्ने चिज दुख्थ्यो , घरमुनिको गैह्री खेत, रोपाइँ र खेताला भएर संगै हिड्ने दौतरीहरुको संझना हुन्थ्यो । कहिलेकाही सम्झनाको त्यो भक्कानो आसु बनेर पग्लिन्थ्यो ।


तर अरु झैं सम्झनाको त्यो लहरमा साइली माइलीका स्मृतिहरू मात्र ताजा भएर आउदैनथे, बरु यदाकदा उ अचम्मसँग आफैलाई देख्थ्यो। उ' कतै हुन्थ्यो उसको सम्झनाको गाउँमा । आफ्नै छायाका हजारौं आकारहरु उसभित्र खेल्न थाल्थे, ति छायाहरू विदेशिनु अगाडिका उसैका तस्विरहरु हुन्थे । घुम ओढेर जोगिनु वा निथ्रुक्क भिजेर बाउसे गर्नु दुवै स्मृतिहरू सुखद लाग्थे । स्मृतिका ती तस्विरहरुमा उ अहिले जस्तो उदास कहाँ थियो र ?



"धडाम
sssssम्म ~~~ "


ग्रीन हाउसको छानोमाथि एउटा बज्र खसेको अप्रत्याशित आवाजले उसका मनका तार र तर्कनाहरु सबै चुडिए । वरिपरी मृत्युको छाया घुमिरहे जस्तो महसुस भयो । छातीको ढोका छेडेर मुटु भागुंला झैं ढक ढकाउन थाल्यो ।


भर्खर प्यालेस्टाइनको आकाशबाट उडेर आएको क्षेप्यास्त्रको प्रहारले ग्रीन हाउस ध्वस्त भएको थियो । एकाएक चारैतिर चित्कारको ध्वनी गुन्जियो । ग्रीन हाउसको छानो र एकतिरको पाखो पुरै भत्किएको थियो । भग्न खण्डहर भित्र पुरिएझैँ केही आर्तनाद र चिच्याहटले वातावरण अझै भयावह र हृदयविदारक लागिरहेको थियो । अस्थिपन्जरजस्तो त्रासदी ओकलिरहेको अर्को भित्तामुनी उसले सामानहरु छरिएको स्पष्ट देखिन्थ्यो । बाहिर आँगनमा उछिट्टिएको थियो, उजस्तै एउटा खेतालाको शरीर ।


उसले नियालेर हेर्यो भर्खर ढलेको त्यो शरीर बुन्चुको हो, आँखा मुख नाक कान सबै सग्ला नै थिए । बुन्चु अर्थात उसको एकजना हसिलो रसिलो थाई सहकर्मी, जसको देह लम्पसार परेर भुइमा झरेको थियो, छेवैमा उसको काल बनेर आएको रकेट, दुम्सीले खोस्रेझैं माटोको थुप्रो निकालेर जमिन मुनि जोतिएको थियो ।


केही साथीहरु भागेर पर पुगे, उसले सोच्यो भागेर कहाँ, कति पर सम्म जाने ? आफू पुगेको ठाउमै निशाना गरेर अर्को क्षेप्यास्त्र बज्रियो भने ? उ चुपचाप ठिङ्ग उभियो मुर्तिवत । तर एक पटक छाती छामेर हेर्यो, उसलाई लाग्यो उसको मन भने दौडिरहेको थियो, इजरायलका गल्ली गल्ली यताउता भड्किरहेको थियो ।


आँखै अगाडी विदेशी कामदार मरेको एउटा अप्रत्याशित घटनाको साक्षी बनेको थियो उ यसबेला । यो घटना सत्य नभई दिए पनि त हुन्थ्यो, एउटा असम्भव कल्पनाले पनि घरी घरी विथोल्न आउथे उसलाई । आफ्नै आँखामाथि पनि विश्वास गर्न मन हुदैनथ्यो ।

--------------------------------------------

इजरायलको सिमानामा रहेको प्यालेस्टाइन तर्फको तनावग्रस्त क्षेत्र गाजा नजिकैको नेटिभ हासरा भन्ने गाउँमा रहेको एउटा फार्ममा काम गर्ने विदेशी कामदार थियो उ ।


उकाली ओरालीहरु थिएनन्, न मलिलो रसिलो माटो, न सिंचाई गर्ने लामा लामा नहरहरू । कुनै उजाड मरुभूमिको मध्यभागमा बार लगाएर खेती गरेजस्तो थियो रोनेन अल्मर्टको त्यो कृषि फार्म । इजरायलको कृषि प्रविधि विश्वमै प्रख्यात थियो । उसले त्यहीँ हुने उब्जनीबाट बर्षेनी लाखौँ डलरको कारोबार गर्थ्यो । सुख्खा जमिनमाथि एउटा हरियो र अपत्यारिलो सत्य ।


पहिले त्यहाँका सबै खेतालाहरु प्यालेस्टिनी हुन्थे, इजरायलमा खतरा बढ्दै गए पश्चात प्यालिस्तिनी कामदार माथि पूर्ण प्रतिबन्ध लगाइएको थियो । परिणाम स्वरूप बिभिन्न देशबाट विदेशी कामदार यहाँ झिकाइए । कृषिमा काम गर्न विशेष गरि थाइल्याण्ड र चीनबाट कामदार आयातित गरिए। बिचमा नेपाल लगायत देशबाट पनि झिकाइए तर ती बन्द भए । त्यही समयमा हो उ इजरायल छिरेको ।


रोनेनको फार्ममा थाई र चिनी पनि उत्तिकै थिए, सबैको आ आफ्नो जिम्मेवारी, कार्य विभाजन र समुह थियो । थाई साह्रै 'मेहनेती' हुन्थे, त्यो इजरायलमा उनीहरुले कमाएको इज्जत । कृषिमा काम गर्न सजिलो थिएन, जाडोमा अति नै जाडो हुने, र गर्मीमा अति नै गर्मि हुने भएकाले पनि आउटडोर काम गर्न परेको बेला दिक्क लाग्थ्यो, बिस्तारै त्यो दिक्दारी अब अभ्यस्ततामा रुपान्तरित हुदै थियो ।



बेला बेला भड्किने हिँसा र अशान्ति संग या इजरायल प्यालेस्टाइनको अन्तहीन दुश्मनीसंग उसको कुनै लेनदेन थिएन, उसलाई डलर कमाउनु थियो, घर फर्कनु थियो । यहाँको प्रविधि सिकेर बुझेर कृषिमै लगानी गर्ने अनेकन सुन्दर योजनाहरुले उसको दिमागमा डेरा जमाउन पनि थालेका थिए ।



अलि अगाडी इजरायलले गाजा पट्टिमा केही हप्ता गरेको लामो कार्यवाही पश्चात प्यालेस्तिनिका तर्फबाट रकेट आक्रमण धेरै नै पातलिएको थियो ।खतराको सुचना दिदै साइरन बजेको बेला दक्षिण इजरायलमा वसोवास गर्नेहरु छिटो भन्दा छिटो आफूलाई सुरक्षित स्थानमा लुकाउथे, उनीहरुलाई पनि यस्तै सिकाइएको थियो । तर अब यस्तो खतरा टरेको पनि धेरै नै भै सकेको थियो ।

तर आज अचानक अप्रत्याशित रुपमा आएको क्षेप्यास्त्रले ढलेको बुन्चुको अनुहारले उसलाई विचलित बनाइ रहेको थियो ।

"बुन्चु, याला लकुम !" (बुन्चु, ल उठ अब ! )
उसको मनले पटक पटक यस्तो भने जस्तो लाग्यो तर अोठबाट केही आवाज निस्किएन ।

घरी घरी बुन्चुको हँसिलो अनुहार सम्झंदै उसको मनमा यस्ता असम्भव आग्रह्भाव र कल्पनाहरु पलाए, बुन्चु जुरुक्क उठे पनि हुन्थ्यो । तर निर्मोही बज्रपातले विदेशमा काम गर्न आएको बुन्चुलाइ यस्तरी ढालिसकेको थियो, त्यसपछि उ कहिल्यै उठेन ।

परदेशी भूमिमा देहावसान हुनु, कति दुखद हुदो रहेछ यस्तो घटना ! एकै ठाउमा खाने, खेल्ने र काम गर्ने भएर बसी सकेपछी को स्वदेशी को विदेशी आत्मीयताको डोरीले त्यसै त्यसै बाँधेर राख्दो रहेछ । सबै खेताला साथीहरु बुन्चुको शोकमा डुबे । भोलिपल्ट इजरायलले गाजामा प्रत्याक्रमण गर्यो, संचारकर्मीले विदेशी कामदार मारिएको घटनाको नमिठो कथा लेख्न भ्याए । ग्रीन हाउसको पुनर्निर्माण भयो, फेरी नर्सरीहरुमा कलिला हरित मुस्कानहरु खुल्न थाले अनि विदेशी कामदारहरु उसको कृषि फार्ममा यताउता गर्न थाले ।


तर कामदारको त्यो लहरमा 'उ' पात्र देखिएन, उ कतै अलप भयो । बुन्चुसंग बिताएका क्षणहरु र उसको भूतकाल संग तर्सेर उ भाग्यो, तर कहाँ ? उ यसरी बेपत्ता भयो, सागरमा गन्तव्यहीन बगिरहेको कागजको जहाजजस्तो , जो केही पर पुगेर कता अलप हुन्छ थाहा हुन्न । त्यसपछि उसंग सम्पर्क हुने सकेन । सेन्गेन भिषा लगाएर उ युरोप भास्सियो कि शरणार्थी बनेर हात उठाई यतै बसेको छ वा लुकेर अबैध भइ गल्ली गल्ली रुमल्लिई रहेछ । तर एउटा कुरा पक्का थियो न त उ नेपाल नै फर्कियो, न उसका खेतहरूमा आधुनिक कृषि प्रणालीका हरिया नर्सरीहरु उम्रिए ।

घर फर्कने, विदेशमा सिकेका सीप र प्रविधि आफ्नै माटोमा पोख्ने ती उत्साह्हरुलाई किन र कसले बाटो छेक्यो ? पलायनको कुन रकेटले ध्वस्त बनायो ?

अनुत्तरित प्रश्न बोकेरै मैले कथा टुङ्ग्याएँ - आज विदेशी मुलुकका अज्ञात शहरहरुमा यसरी बेखबर भौतारिई रहने 'उ' पात्रहरुको संख्या कति छ ? कति नामहरु दिनहु यसरी गुमनाम हुदै छन ? अहँ कुनै नियोगमा, कहिँ कतै, केही गणना छैन, यस्ता प्रश्नहरुको असंख्य घाउ बाँचेको उसको देश नेपाल पनि यो कथाकार जस्तै जस्तै अनुत्तरित छ ।

अनुहार (कथा) आवाजमा सुन्नुहोस ।

8 comments

Friday

"अनुहार" रेडियो नेपालको गीति कथामा



साँझ बढ्दै गएपछि उनको मुहारमा एउटा अनौठो गंभीरता भरिन्थ्यो । निलो आकाशको विराट क्षितिजतिर एकोहोरो कतै हराए झैं, केही खोजिरहे झैं, केही सोचिरहे झैं । उमेरको दोष पनि हुन् सक्छ। आउदा जादा पटक पटक देख्ने गर्छु उनलाई, बार्दलीको डिलमा अडेस लगाएर उभिरहेकी, बादलले छेकेको उदास जुन जस्तो देखिन्थ्यो त्यो अनुहार ।

पहिलो पटक हाम्रो भेट एउटा सांस्कृतिक कार्यक्रममा भएको थियो, नेपालबाट कलाकारहरु आएका थिए । कुनै अपरिचित व्यक्तिसंग भेट हुनु या नहुनुको के महत्व हुन्छ र ? यद्यपि त्यो व्यक्तिसंग म निकै घुलमिल भएझैं या त्यो अनुहारसंग म धेरै पहिले देखि परिचित थिएँ जस्तो लागिरह्यो । भेटेर एकै पटक धेरै प्रश्नहरु सोध्न मन थियो, त्यो दिन त्यतिकै थाती रह्यो ।

अर्को पटक सुपर मार्केटमा फेरी उसै गरि भेट भयो, मैले बोलाए
"एक्सक्युज मि यहाँको शुभनाम ?"
"साधना.. साधना शर्मा । किन र महाशय ?"
हेर्दै नहेरी प्रश्न र जवाफ एकैपटक फर्काइन् ।


हैन त्यतिकै, म अलि रातो भएँ, अल्लारे केटाकेटी जस्तो कुनै अपरिचितको पिछा गरेझैं भान भयो आफुलाई । विषय खोतल्दै मैले भनेँ - " मेरी एउटी मित्र थिईन, कलेजकी सहपाठी .. उनको अनुहार दुरुस्त तपाईं संग मिल्ने भएर सोधेको । हाम्रो भेट नभएको पनि बर्षौं भयो ।

शायद उनलाई यो बहाना जस्तो लाग्यो कि, प्रसंग अगाडी बढेन । त्यसपछि पनि परिचयको कुनै उत्सुकता देखाइनन उनले । घर फर्के पछि लाग्यो, संसारमा धेरै अनुहारहरु मिल्दा जुल्दा हुँदा रहेछन ।


त्यसपछिको अर्को भेट ।
"अनि उहाँको नाम चाहि के थियो त ? " मेरो हराएको साथीको बारेमा उनी आफैले जिज्ञासा राखिन ।
"साधनाजी, उनको कथा अलि अनौठो छ.. म भन्दै गएँ ।"


नाम श्वेता अधिकारी, श्वेताको सम्झना हुनासाथ म एकपटक पुराना याद्हरुको भिडमा हराउछु ।


घन्टाघरको टिंग टिंग आवाज, पारिलो घाम र मुंगफली बदाम । त्रि चन्द्र क्याम्पसमा पढ्दाका ती दिनहरु हुने गर्थे, भित्र कक्षा चलिरहेको हुन्थ्यो । बाहिर हामी गफिइरहेका हुन्थ्यौं । अमृता लोकेन्द्र, बिरेन श्वेता र म ..। कहिलेकाही अरु पनि थपिन्थे तर हामी चाहि प्राय संगै हुन्थ्यौं । कहिले त दिनभर एउटै पनि कक्षामा शामिल नभईकन बितेका उदाहरण कति थिए कति हामीसंग ।

"यो समाज के हो ? समाजको डर वा समाजले उठाउने औंला भनेको कस्तो हुन्छ ? यसले कोर्ने परिधिको आकार कत्रो हो ? " एकदिन कुरै कुरामा श्वेताले भनी ।

" ल श्वेताले के उपद्रो गर्न आँटी है केटा हो, अमृतले प्वाक्क थप्यो -भने पछि चाला माला ठिक छैन ।" सबै हाँसे ।

"तल्लो जात या अमिल्दो खानदानको मान्छेसंग भाग्न खोज्यौ कि कसो ? तर ती त अब सामान्य भैसके है श्वेता । यस्ता बिषयहरुमा त हाम्रो समय र समाज आफै रुपान्तरण हुने अभ्यासमा छ । " बिरेन अलि गम्भीर थियो हाम्रो समुहमा ।

"त्यस्तो केही हैन, बिहे नै गर्नु पर्ने, नारीले जन्मिएको घर भन्ने कुरा छाडेरै जानु पर्ने या नया घर बसाउनै पर्ने, म त यो नियमको बारेमा पो सोचिरहेकी छु । कहिले देखि र कसले बनायो होला है यो नियम ?" लाग्यो, आज श्वेता धेरै कुरा भन्न गैरहेकी छ ।

"कसरी बदल्छ्यौ? बिहे नगरी बस्छ्यौ? त्यो पनि पाइन्छ तर तिमीले भनेजस्तो चेन्ज सेन्ज चाहि केही पनि हुदैन है ।" अर्काले थप्यो, "तर अबको पाँच बर्षमा श्वेताले बिहे गरिनन भने मलाइ भन्नु, म बाजी राख्छु ।"


"पाँच बर्षको कुरा छोडी देउ, मैले त आजीवन बिहे नै नगरी बस्ने निर्णय गरेकी छु, " । अलि अलि उक्साउनु मात्र पर्थ्यो, भए नभएको कुरा गर्न थाल्थी ऊ । आज अलि धेरै नै हाउडे भई । " रह्यो घरजमको कुरा, मलाइ छोरा छोरी जन्माउन, एक्लै घर बसाउन कसले रोकेको हुन्छ ? ल केटा हो बाजी राख, म यो पनि गरेर देखाइदिन्छु, बिहे नगरी ।" फेरी एकपटक सबै हलल्ल हाँसे ।

ल यो चाहि अति नै भयो, यस्तो भयो भने मेरो घरबार सबै श्वेतालाइ ... मैले पनि बाजी राखेँ ।

पश्चिमा समाज र संस्कृतिले यसलाइ स्वीकार गरेको होला या यी कुराहरू सामान्य होलान, तर बिना पुरूष कुनै स्त्री आमा हुने बाटो हिड्न हाम्रो समाजमा सजिलो छैन । या त उसले जीवनभर कलंकित भएरै जिउनु पर्छ या त जीन्दगीको यात्रा नै टुङ्ग्याउनु पर्छ ।



अब त यी सम्वादका सम्झनाहरू पनि धमिराले धुलो पारेको पुस्तक जस्तै निकै पुराना भइसके। थाहै नपाइ समयले धेरै घुम्ती र जंघारहूरू पार गराइसकेको छ, फर्केर हेर्दा कहाँबाट आएको हुँ, आफै हिडेर आएका ति गोरेटाहरू नै नदेखिने गरी । यो पराइ मुलुकमा गैर आवासीय नेपालीको रूपमा आफुलाइ उभ्याएको पनि लगभग लगभग दुइ दशक र केही बर्षहूरू नाघिसकेको छ ।

साधनाजी श्वेताका यी प्रसंगहरू चुपचाप सुनिरहनु भएको थियो, उत्सुक हुँदै सोध्नुभयो, अनि त्यसपछि के भयो? कहाँ कसरी छुटिनु भयो त ?

समयक्रममा श्वेतासँग मेरो सामिप्यता बढ्दै गयो । बारम्बार हामी एक अर्काको घर जान्थ्यैाँ । सिनेमा होस, नाटक या संगीतका हरेक अनुभवहरूमा एउटा छायाँजस्तो यदि कसैको साथ मसँग हुन्थ्यो भने त्यो श्वेताको हुन्थ्यो, मेरो वरिपरि हरदम घुमिरहेको । कतिपटक केही कुरा भन्न चाहन्थेँ तर आवाज कतै अवरूद्ध भएझैँ लाग्थ्यो, यस्तो बेला केही नबोली धण्टैाँ रानीपोखरीको किनारमा नजर बिसाउनु वा अगम्य क्षितिजतिर टोलाउनु हाम्रो दिनचर्या हुन्थ्यो ।


त्यति नजीक भएर या दिनभर सँगै रहेर पनि अभिव्यक्त गर्न बाँकी कति कुराहरू हुन्थे मसँग । फर्केपछि जब उसलाइ फोन गर्थेँ तर उसको आवाज सुनेपछि म निशब्द हुन्थेँ, त्यसपछि दुवैतिर कोही केही बोल्दैनथ्यो, एउटा अनाैठो मैानता छाउँथ्यो ।
......
अब त हाम्रो मनको सामिप्यता यति धेरै बढिसकेको थियो कि, "तिमीलाइ मन पराउछु", भन्नु टाढा भएको हुनु जस्तो लाग्न थालेको थियो । अर्थात त्यो अभिव्यक्त गर्नुपर्ने दुरी या सिमानाहरू सबै आफसे आफ भत्किसकेका थिए । हामी एक अर्कामा हराइसकेका थियैाँ।
एक अर्काका भइसकेका थियौँ ।

कति विहानहरू त म आफुलाइ श्वेताको न्यानो अङ्गालोमा बाँधिएको पाउथेँ । झ्यालमाथि सूर्य मुस्काइरहेको हुन्थ्यो ।
[song]


...........................

कथा लेख्ने र मेट्ने आखिर समय नै रहेछ। समयले नै हामीलाइ आ आफनो जीन्दगी जिउन सिकायो । कसरी टाढा भयैाँ, भन्न सक्तिन तर सम्पर्क टुटेपछिका धेरै समय उसको खोजीमा बिताएको छु । तर त्यो खोजी जति तीव्र हुनुपर्थ्यो कार्यव्यस्तता या अन्य कारणले हुन सकेन होला, र त्यसमा आजसम्म पनि म आफुलाइ दोषी पाउँछु। पश्चाताप हुन्छ । म अरू कसैको भएँ, उनी पनि अरू कसैकी भइन होला, मलाइ लाग्छ ।

श्वेताको अतितलाइ, उनको छाँया वा माया सबैलाइ अरू कसैमा अनुवाद गरेर जिउन अभ्यस्त हुदै गएँ,यसरी जिउछु भन्ने शायद मैले सोचेको पनि थिईन । तर यसरी जिउने धेरै हुन्छन संसारमा, मन बुझाउथेँ - यस्तै यस्तै सोचेर ।


इन्द्रेणीको आकार जस्तै श्वेता मेरो जीवनमा उदाइन र अस्ताइन । श्वेता नामको इन्द्रेणी मेरो जीवनबाट अलप भएको पनि आज बर्षैाँ भइसकेको छ, समय कति छिटो बित्दोरहेछ । तर साधनाजीको अनुहार, कपाल, आँखा सबै सबैले मलाइ श्वेताको सून्दर यादहरूको चित्र कोर्न सघाइरहेका छन यतिखेर । श्वेता र साधनामा एउटै फरक थियो, साधनाजीको गम्भीरता । श्वेता धेरै चञ्चल थिइन्।
.............


भर्खरै छोरो पेरिसबाट घर फर्किएको छ, एउटा पर्दर्शनी थियो उसको । चित्रकारितामा असाध्यै दिलचस्पी राख्छ उ। घरभरि उसले कोरेका पेन्टिङ्हूरू टाँगिएका छन । आज उसले कोरेको एउटा पोट्रेटमा टक्क अडिन्छु म । हावामा उडिरहेको कपाल, नीलो आँखा, धेरै कुरा भन्न खोजिरहेझैँ चञ्चल अनुहार .... दुरूस्त श्वेता । २५ बर्ष अगाडीकी मेरी सहपाठी । कसरी उतार्यो उसले मेरो छातिभित्र बर्षैाँ दबिएर बसेको सपनाजस्तो त्यो आकृति ? कहाँबाट भेट्यो उसले श्वेताको तस्वीर ?


"बाबा, यो त सिमाको तस्वीर हो, राम्रो चित्रकार हुनुहुन्छ उहाँ। हाम्रो आर्ट स्कूलमा एउटा क्लास उहाँको पनि छ । आज उहाँकै पोट्रेट बनाउने मुड चल्यो मलाइ " छोरो भन्दै थियो ।

कुनै कलाकारले कसैको मुहारको चित्र उतार्नु कुन ठुलो कुरा थियो? तर अनुहार कस्तो श्वेतासँग मिलेको ? श्वेता, साधना, सिमा, आ... संसारमा कति अनुहार मिल्दा जुल्दा हुन्छन तिनको के हिसाबकिताब छ र यहाँ ?

धेरैदिन पछि आज अचानक साधनाजीसँग भेट भयो, कुराको क्रममा सोधेँ, अँ साच्ची यहाँको परिवारका बिषयमा त सोध्नै बिर्सेको को को हुनुहुन्छ नि तपाइहरू ?



" एउटी छोरी छे, सिमा, चित्रकारिता गर्छे ।"

"सिमा ? " मेरो आँखाभरि त्यो पोट्रेट झल्झली नाच्न थाल्यो, कुतुहलता र छटपटीको चिरचिरे कमिला शरीरभरि कुदे्झैँ महशुस भयो ।

अनि तपाइको श्रीमान ?
......
......


केही नबोली साधनाजी मतिर फर्किएर मुस्काइरहनु मात्र भयो ।
आँखा उस्तै नीला थिए ,
कपाल हावामा तैरिइरहेको थियो,
र मैले पहिले कहिल्यै पढ्न नसकेका अक्षरहूरू आज अनुहारमा स्पष्ट कोरिएका थिए ।
म पढ्दै गएँ ,




"यही प्रश्न धेरैले सोधेपछि त म यहाँ बसाइ आउनु परेको हो, आफनो नाम र परीचय सबै बदलेर । एक्लै जिउनु त कहाँ सजिलो हुँदोरहेछ र .....?

पहिलो प्रेम मैले बिर्सन सकिन, अरु कसैकी हुन् सकिन । किनकी म उसैकी भैसकेकी थिएँ, उसले मलाइ बिर्से पनि । उसले मलाइ बिर्से पनि , मैले उसलाई निश्चल अनि पवित्र माया गरेकी थिएँ । निस्वार्थ थियो मेरो माया ... अनि त म जति पिडा भए पनि त्यही मायाको आडमा जिन्दगी जिई रहेकी छु । हो, जिई रहेकी छु ।

भनेजस्तो त कहाँ छ र ? तर यतिका बर्षसम्म त म यो राज लुकाएरै बाँचिरहेकी छु भने आज अर्कैको भइसकेका तिमीलाइ कसरी भनुँ मेरो श्रीमान तिमी नै हो भनेर ...... जीवनमा हारेँ या जितेँ थाहा छैन यद्यपी मैले क्याम्पस पढ्दाको त्यो बाजीचाहि जितेकी छु.. देख्यैा ?"

वसन्तको रंग र साकुराको स्मृति ...

No comments

Thursday




ओ साकुरा !
तिम्रो हाँगाभरि मुस्काएका फूलहरु
र यो वसन्तको मौसम
स्मृतिको सुदुर वस्तिबाट
म सापटी मागी रहेछु
केही गुलाफी रंगहरु,
दिन्छौ ?

यसपाली मेरो 'फागु'
म तिम्रै सम्झनामा खेल्न चाहन्छु ।





के लेखुं ? रात छिप्पिदैछ .... फेरी यो पाना पनि च्यात्छु । म कविता लेखिरहेको छैन । भोली बिहान सम्म मैले एउटा गतिलो आर्टिकल लेखी सक्नु पर्नेछ ..।

अब नेपालमै बस्छु भनेर विदेशबाट फर्किएको यी तीन बर्षहरु म यही पत्रिकामा काम गरिरहेछु । सम्पादक झोक्की छन, कहिलेकाही धम्की र अल्टिमेटम पनि दिन्छन - हाम्रो पत्रिका नाफामा छैन, पब्लिकमा हामी रुचाईएका छैनौं, के लेख्छौ तिमेरु ? अब यसपाली आधा भन्दा बढी कर्मचारी कटौतीमा पर्छन , हेरिराख को को निस्कन पर्ने हो ।

यस्तो समय मलाइ अलि अलि पछुतो पनि नलाग्ने हैन, फर्किएर यतै बसेकोमा । तर, आफ्नै आगनमा पसिना बगाउनुको आत्म सन्तुष्टि र गौरवानुभुतिले यस्ता सबै भावनाहरु आफ से आफ परास्त हुन्छन । यही तुष्टि र तृप्ति एउटा मिठो प्रेरणा र उत्साह बनेर आउछ र हरेक पटक लाग्छ म यस्तो जल्दोबल्दो र आकर्षक लेख लेख्न सकु ताकी सम्पादकले पनि बुझ्न सकोस पत्रिकाको लागि मेरो कत्रो महत्व वा भूमिका छ ?


तर आज शब्दहरु अलप भएका छन, घाम अस्ताए पछि छायाको अस्तित्व हराए जस्तो ।
दिमाग शुन्य छ उफ रातको बाह्र बजिसकेछ ।

"ढक ढक.." कसैले धोका ढक-ढकाएको आवाज आयो ।
को आयो फेरि दिमाग खान, को हो यति राति ?

"मुना ! यो के अचम्म कसरी आइस तँ यति राति, मेरो कोठामा ?"

पत्रिकाको टेन्सनले मेरो दिमाग नै शर्ट सर्किट त भएन, के लेखुँ भनेर सोच्दा सोच्दै ? म चकित भएँ, ढोकामा मुना उभिएकी थिई, मेरी वाल्यकालदेखिकी साथी । तीन बर्ष देखि हाम्रो भेट भएको थिएन, आज अचानक कहाँबाट आइपुगी यसरी ? न कुनै फोन, न कुनै ईमेल । आश्चर्यको हद नाघ्छ ।

"त्यत्तिकै छक्क परेर बस्छ्स कि भित्र पनि बोलाउँछ्स, बब्लु ? " मलाइ बब्लु भनेर सम्बोधन गर्ने यो शहरमा, अरु को हुनसक्छ ? म चकित हुन्छु, अनि कसरी थाहा पाइस त मेरो ठेगाना तैले ? अनि यति राति,कैले फर्किस तँ जापानबाट ? "

" लौ तँ त साँच्चीको पत्रकार भैछस बब्लु । बल्ल बल्ल भेट भएकोमा खुसि हुनुको साटो प्रश्नका प्रश्न सोध्छ्स त, म मान्छे मारेर भागेको अपराधी जस्तो लाग्यो कि के हो तँलाई ? बिस्तारै भनुला नि सबै ।

कहिलेकाही मान्छेको जीवनमा अस्वभाविक घटनाहरु घट्छन । अहिले भर्खरको घटना जस्तै, जसका बारेमा हामी बिल्कुल अनभिज्ञ हुन्छौं । यस्ता घटनाहरु, जसले जीवन र यो हिड्दै गरेको बाटो पनि बदली दिन्छन, जीवन यात्राको घुम्ती वा मोड, कहाँ कुनबेला मोडिन्छ थाहै नहुने ।

साकुराका मनोहर रुखहरु, वालसखी मुना र मेरो किशोरवयमा कुनैबेला मैले देखेको सपना .... यी सबैलाइ त्यहीं छाडेर तीन बर्ष अघि म नेपाल फर्कनु शायद यस्तै एउटा मोड थियो मेरो जीवनको । सुकिला सडक छेउ, लहरै उभिएका हुन्थे साकुराका रुखहरु । एउटा फ्ल्यास्ब्याक दोहोरिन्छ मेरो मस्तिष्कमा, जापानमा रहँदाका ती दिनहरु खुबै रमाइला थिए । वसन्तको याममा त झन् साकुराका फूलहरुको यौवन र गुलाफी रंगले छपक्क ढाकिन्थ्यो शहर ..। (चेरीलाइ जापानीमा साकुरा भनिन्छ। )

मौसम सधै जस्तो प्रेमिल हुन्थ्यो , मुनाको उपस्थिति र ठट्टेउलो स्वभावले त जस्तोसुकै टेन्सन भएको बेला पनि रमाइलोमा परिणत हुन्थ्यो । फर्कने बेला उसले भनेको अझै बिर्सेको छैन । " नेपालमा तेरो केटी होला नि पर्खीरा'की, सम्झिरा'छस होला, अनि किन बस्छस त यहाँ ? आफु त अझै बसिन्छ २/४ वर्ष, पढाइ पनि सकिएको छैन फेरि नेपालको स्थिति त्यही हो ।"

कैयौं ऋतु, मौसमहरु आए अनि गए, खुसीको बहार र दुखको झरी स्वाभाविक गुज्रिए । कति असाध्य नजिक भयौं हामी, ..आत्मिक र भौतिक सामिप्यताका धेरै पलहरु लिएर आयो समयले तर प्रेम" नामको त्यो अमुल्य वाणी न त मेरो ओठले उच्चारण गर्न सक्यो न त उसले नै ।

"ओइ बब्लु तैले गर्लफ्रेन्ड बनाइस ? कोठा त निकै सफा छ त ?"
" अँ बनाएँ त, के आरिस लाग्यो तँलाई ?"
" ल ल धेर ठट्टा नगर .. खानेकुरा के छ केही ख्वाउदैनस ?"
"राति राति चोर जसरी आउनेले के खान पाउछेस, जा आफै हेर किचनमा केही छकि ?"

घरभरि लोला हान्ने प्लास्टिक र रंगको थुप्रो लागेको छ । सोचेँ यो बर्षको होली सबै भन्दा पहिले मुना संगै खेलेर शुरु गर्न पर्ला । फर्किछ, खुब रमाइलो हुने भयो । सानै हुँदा पिचकारी बोकेर गल्लि गल्लि लखेटेको सम्झना आउछ । लखेट्नेमा धेरै जसो चाहि उसकै ग्यांगले जित्थ्यो, यसपाली पालाको पैंचो तिर्नु पर्छ ।


"बबिन, तसंग एउटा कुरा गर्नु थियो ।"

मुनाको आवाज अचानक गम्भीर भएजस्तो सुन्छु । उसले मेरो वास्तविक नामले शायद पहिलो पटक बोलाइ रहेकी छ मलाइ । उसले बोलाउदा आफ्नै नाम नै अनौठो सुन्छु, हैन जस्तो भान हुन्छ ।

"बबिन, तैले कहिले त्यस्तो सपना देखेको छस जुन बिपना जस्तै साक्षात् र स्पष्ट देखिएको होस् ? "
"मुना सपना त भ्रम हो र बिपना यथार्थ । भ्रम र यथार्थ चेतनाका दुइ विपरित ध्रुवहरु हुन् । यिनीहरु उस्तै र एकै जस्तो देखिनु असम्भव छ । सपना भन्नु हामी निदाएको बेला वा अचेत भएको अवस्थामा मष्तिस्कले गरेका कल्पनाहरु हुन् जो हाम्रो नियन्त्रणमा रहदैन । विपनासंग त्यसको कुनै सम्बन्ध हुदैन । "

" तर मैले कति प्रसंग र दृष्टान्तमा के पढेकी छु भने हाम्रो अवचेतन मष्तिस्क धेरै रहस्यमय छ, कहिलेकाही यो यति शक्तिशाली हुन्छ कि यसले नै हाम्रो सम्पूर्ण स्थिति संचालन र नियन्त्रण गरिरहेको हुन्छ । यसको सक्रियता र वलले मान्छेले भविष्यमाथि नियन्त्रण गर्न सक्छ र भूतलाई वर्तमानमा डाक्न सक्छ ।"

"ल भयो मरेको मान्छे डाकेर आत्मा बोलाउने जस्तो तेरो बकम्फुसे र अर्थहीन कुराले मेरो पत्रिकाको डेडलाइन गुज्रने बेला भैसक्यो । त यही बहस गर्न आइस कि के हो जापान देखि ? भ्रम र यथार्थता बिचको सिमाना त्यति बेलामात्र मेटिएको आभास हुन्छ जतिबेला मान्छेको दिमागले नै काम गर्दैन अर्थात यी सबै पागलपनका कुराहरु हुन् ।

"पागल त तैले मलाइ पागल नै बनाइस नि बब्लु ! नत्र यसरी आउथे त तेरोमा ? "

मैले भन्न सकिन .. "मुना, पागल त मैले पो बनाएको छु आफूलाइ । यतिका बर्ष तँलाई सुनाउनु पर्ने तँसंग मात्र पोख्नु पर्ने कति अनुभूतिहरु आफै भित्र थुनेर राखेको छु मैले ।" तर अहँ मेरा ओठबाट कुनै शव्दहरु निस्केनन । सोचें यो वसन्त मेरा भावनाका ती सबै रंगहरु पोख्ने छु म ।

" ल बब्लु, सरप्राइज दिन आ'को, तँलाइ डिस्टर्ब गरें मैले । तँ आर्टिकल लेख, म अहिले जान्छु । "

पुर्याउन दिईन मलाइ उसले ।

"त्यहीं त हो नि, उ तल सडकमा ट्याक्सी छ, म जान्छु आफ्नो ख्याल राख । एक्लै बस्नुको कारण थाहा पाएँ नि मैले, किचनभरि बियर र रक्सीको बोतल देख्या'थें । भुँड़े भइसकिस, धेरै बियर नखा । "

ट्याक्सी सम्म छोड्न गएँ म, जाने बेला उसले भनि - "बब्लु !"
"के ?"
"आइ लभ यु, बब्लु"

फर्कदा कोठामा फोनको घन्टी बजिरहेको थियो ।

"हेल्लो ! " कामिरहे जस्तो रुन्चे आवाजमा कोही बोलेको सुनियो ।
"हेल्लो बबिन, म बिनय, जापानबाट, भूकम्प पछि सुनामी आएको खबर थाहा पायौ कि पाएनौ ? साह्रै दुखद समाचार छ बबिन, सेन्दाई सबै सुनामीले बगायो .. मुना छ नि मुना .. उसको त अन द स्पट डेथ भयो ।" ..

"मुना ....~~~~"
म चिच्याउदै झ्यालबाट बाहिर हेर्छु ।
बाहिर सडकमा, अँध्यारो बाहेक केही थिएन ।

अपरिभाषित प्रेम

9 comments

Tuesday

फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा उभिएको यो अग्लो भवनको पाँचौ तल्लाको झ्यालबाट एकपटक भुइँतिर नियाल्छु । एउटा भुवादार स्विटर र मफलरले हिउँ खस्ला जस्तो सिरेटोलाई छेक्दै भ्यालेन्टिना रातो गुलाफ लिएर अघिदेखि पर्खिरहेकी छ ।

जाडो याम भ्यालेन्टिनालाइ शत्रु जत्तिकै लाग्छ । किन ? यसो भन्न उसलाई पटक्कै संकोच लाग्दैन कि उसले यी चिसा मौसमहरुमा आफ्नो जवानीलाई उनीका बाक्ला लुगाभित्र कैद गर्नु पर्छ र आफ्नो रहर लाग्दो यौवन यसरी गुम्सिएलाझैं थुन्नु परेको उसलाई पटक्क मन पर्दैन ।


हाइ भ्यालेन्टिना !
हाइ ! किन ढिला गर्यौ त ओर्लन ?
माथिबाट केहीबेर तिमीलाई हेरेर बसेँ, मलाइ पर्खिरहेको ।
त्यसो भए मेरो कविता पनि लेख्यौ कि ?

भ्यालेन्टिना ओभिलिन्स्की, यो रसियन युवतीलाई थाहा छ, म कविता लेख्छु मेरो भाषामा । पारिला घामका धर्काहरु पछ्याउदै पार्कमा बिताएका स्वर्णिम पलहरु हुन् या मुखबाट उठेका बाफका धुँवाहरु साट्दै कुनै रेस्टुराँमा बितेका अनमोल क्षणहरु , कत्रो खुसीको कुरा ! नबुझे पनि बुझेझैं गरी भ्यालेन्टिना मेरा कविताहरु सुन्न मन पराउँछे, र म उल्था गरी गरी उसलाई सुनाउछु ।

पार्कबाट बहेको मिठो सुवास, भ्यालेन्टिनाको तनको सुगन्धसंग मिसिएर वातावरण मोहक बनिरहेको थियो । फुलको हांगा माथिमाथि उचाल्दै छाता ओढेर पर्खिएझैं पार्कको एउटा कुनामा रहेको खाली बेन्चमा जिउ बिसाउने बित्तिकै भ्यालेन्टिनाले आज पनि प्रश्न गरी - तिम्रो साच्चिकै बिहे भएको छैन ?

'होइन'को भावमा टाउको हल्लाउदै म भन्छु - तर कसैसँग मेरो प्रेम भएको चाहिं म स्वीकार गर्छु ।
को हो नि त्यो ? कस्ती छ म पनि चिन्छु कि ?
यी, यो गुलाफ जस्तै मेरै आँखा अगाडी उभिएकी, उसको आँखामा हेरेर म भनिदिन्छु - मेरी प्रेमिका उही हो।
भ्यालेन्टिना शर्माएर रातो हुदै भन्छे - फेरी ढाँट्यौ तिमीले ।

......................................

हो भ्यालेन्टिना, शायद तिमी सही छ्यौ.. यो सम्बन्धको नाम प्रेम नहुन सक्छ । प्रेम कस्तो हुन्छ ? यसको आकार स्वरूप या अनुभूतिका कुनै पनि रंगहरु मैले केलाउन सकेको छैन । एउटा लेखक भएर मैले प्रेम र यसका परिभाषाहरुलाई अनेकौं तरहमा व्याख्या गरें हुँला यद्यपि म आफू चाहिं कहिले प्रष्ट भईन कि प्रेम के हो ?

हरेक पटक प्रेमको वहसले गहिराइ लिदै गए पछि म त्यही स्मृतिको सागरमा डुब्न पुग्छु जुन स्मृति करिब एक दशक देखि म भित्र थुनिएर रहेको छ ।

हँ फेरी कता हरायौ ? आफ्नै सम्झनाको समुन्द्रमा डुबेको मेरो आँखा अगाडी हात हल्लाउदै उ भन्छे - भनि हालें नि मैले, तिम्रो कोही छ जसलाई तिमी सम्झिरहेका छौ, को हो त्यो ?

प्रिय भ्यालेन्टिना ! बर्षैादेखि एउटा अन्जान, अज्ञात अन्धकारले थुनिएर म आफै बसेको बेला कसरी भनुँ, मेरो छाती भित्र कैद भएका ती स्मृतिहरु प्रेमका डोबहरू हुन् या होइनन ? सुन्छैा भने सुन, यो उसैको कहानी हो जसलाई तिमी यतिखेर मेरी प्रेमिका भनेर सोची रहेकी छ्यौ ।


त्यो समय थियो जुनबेला अहिले झैं छपक्क इन्टरनेट, वेव्डायरी या विद्युतीय संजालहरु थिएनन । यसर्थ लेखकले प्रतिक्रिया कुर्न महिनौं पर्खनु पर्थ्यो, पत्रिका या पोस्ट बाकसमा ती पाठक प्रतिक्रिया बनेर आउँथे । म आफै पनि मन परेको लेखकलाई यसरी पत्र कोर्थे र प्रसंशा गर्थें या उनका रचनाहरुमा टिप्पणी गर्थें । लेखक र पाठकको भावनात्मक सम्बन्ध गहिरो हुन्थ्यो ।

म त्यस्ताका एउटा सामान्य लेखक थिएँ, समयले बनाएको । पत्रिकामा साहित्यिक स्तम्भ चलाउथेँ । साहित्यिक अभिरूचि भन्दापनि अनेकैाँ सपना बोकेर गाउँदेखि शहर पस्ने एउटा प्रतिनिधि किशोरले गर्ने अभावसंगको संघर्ष या जिविकोपार्जनको उपक्रम मात्र थियो मेरो लेखन । यद्यपि प्रतिक्रियाहरुबाट के अनुमान गर्न सक्थें भने, पत्रिकाको मेरो जागिरे साहित्यकर्मले एउटा बहाव बनाई सकेको छ । म मान्छेको प्रेम र जीवन, भोगाई, घटनाक्रम र आवृत्तिहरुको एउटा अटुट सिलसिला लेखिरहेको छु जुन सिलसिला प्रत्येक अंकका स्तम्भमा कुँदिएर कहिले नटुंगिने धारावाहिक उपन्यासमा परिणत भएको होस् ।

अचानक कुनै विशेष कारणले पत्रिकामा लेख्ने क्रम टुटेको मात्र थिएन, मेरो लेखन यात्रा र साहित्यिक गतिबिधि निमिट्यान्न भयो । दिन, हप्ता गर्दै महिनौं बित्यो । म लेखनमा फर्किनँ । मैले रमाउने बिषय अरु नै केही पाउन थालें ।

त्यसपछि, एकदिन एउटा लामो पत्र आयो ।



प्रिय लेखक!

म तपाईकी प्रशंसक । सम्झनुहोस यत्ति हो मेरो परिचय । जो तपाईले कुँदेका शब्दहरुसंग मोहित भएकी छे । तपाईका श्रृजनाहरुको प्रभाव मेरो मनको भित्री सतहमा प्रेम भन्दा गहिरोसंग बसेका छन्, कोरिएका छन् । तपाईले किन लेख्न छाड्नु भयो ? मेरो मनभित्र उर्लिरहेको यही प्रश्न र अस्वीकृति यो पत्रको कारण हो । तपाई यसरी पाठकसंग लयात्मक सामिप्यता राखी सकेर एकाएक आफै विमुख कसरी हुन पाउनु हुन्छ ?

साच्चै भनौँ मेरो उमेर र यो यौवनको चञ्चलताले कुनै ठुला ग्लामर क्षेत्रका कलाकार या रंगिन दुनियाका स्टारहरु प्रति कहिल्यै आकर्षण राखेन । मेरो आकर्षण भन्नु आदर्श भन्नु सधै लेखक साहित्यकारहरुमात्र भए । मेरो कोठाका भित्ता देखि लिएर मनका कुनाकुनामा भानुभक्त देखी लक्ष्मी प्रसाद पारिजातका तस्वीरहरु टाँसिएका छन । एउटा तस्वीर तपाईको पनि यसरी टाँसिएको छ, मानौ तपाईको शब्द साह्रित्य भाव वा शैलीले मेरो मन सुटुक्कै चोरेर लगेको होस, कुनै प्रेमिले प्रेमिकालाई चोरे जस्तै ।

प्रिय लेखक! म यो सब किन लेखी रहेको छु थाहा छैन । हुन सक्छ हाम्रो भेट कहिल्यै हुने छैन र यो एउटा साधारण पाठक पत्र बाहेक अरु केही पनि होइन । पत्रिकामा छापिने तपाईका हरेक स्तम्भहरुको पर्खाइमा सधै अधीर भैरहेकी हुन्थेँ र त्यो धैर्यताको सिमाना आज टुटेकोले यो पत्र लेख्न विवश भएकी हुँ । त्यसो त मेरो मनको डायरीमा तपाईका कविताहरु र कथाहरु कहिल्ये नउप्किने गरी सजिएका छन् । तपाईका ती पँक्तिहरु,पत्रिकाका कटिङ्गहरु मैले मेरो शयन कक्षका भित्ता दराज र ऐना भरी पनि टाँसेको छु । तपाइका कति कथाहरुहमा मैले आफूलाई नायिकाको रुपमा उभ्याएकी छु । आफै हाँसेकी छु र आफै रोएकी पनि छु । साथीहरुले संगित फिल्म वा फेसनका कुरा गरिरहँदा मैले तपाईका कुरा गरेकी छु र साहित्यका कुरा गरेकी छु ।

एक हिसावले ती शब्दहरुसंग मेरो प्रेम भएको छ, एकतर्फी प्रेम । कुनै पाठकले यतिका प्रेम गर्दागर्दै पनि तपाई किन साहित्यबाट भाग्दै हुनुहुन्छ ? म यही बुझाउन चाहान्छु ।
प्रिय लेखक, तपाईले लेख्न छाड्नु भयो भने तपाईका शब्दसंग त्यो मेरो अनुराग सबै मर्नेछ । त्यसको हत्या हुनेछ र तपाईलाई पाप लाग्ने छ ।

पत्र रहस्यमय थियो ।
न पत्र प्रेषकको नाम थियो न ठेगाना । खुलदुलीका बादलहरु छाती भरी मडाडीइरहे धेरे दिन सम्म । पत्र मेरो कथाको मख्य विषय जस्तो बन्यो । साहित्यमा फर्कन उत्साह बढेजस्तो भयो । मान्छेको मन न हो । सानै कुराले कति छिटो प्रेरित हुदो रहेछ । मैले फेरी लेख्न थालेँ ।

दोस्रो तेस्रो चौथो उसका पत्रहरु आउन थाले । प्रत्येक पत्रहरुले उत्साहको नयाँ संचार बोकेर ल्याउँथे । लेखनमा निरन्तरता आउन थालेपछि उ सबै भन्दा धेरै खुशी भएकी थिर्इ । एउटा अब्यक्त खुशी ममा पनि छाउन थालेको थियो उसका पत्रहरु आउन थाले पछि । कहिलेकाही त लाग्थ्यो उसैको मीठो प्रतिकृयाकै लागि यो सब लेखी रहेको पो छु की ? पोष्ट बक्सहरु घरिघरी खोल्दै म उस्का पत्रहरु पढ्न बर्षौदेखी आतुर भै रहेको छु जस्तो लाग्थ्यो । केवल एउटा पाठकपत्रले मेरो स्वभाव पुरै बद्ली दिएको थियो । तर, दुखको कुरा, पत्र एकतर्फी हुन्थ्यो । मेरो मनमा उसप्रति उठेका भावनाहरु पठाउने उसको कुनै ठेगाना थिएन ।

धेरै पछि मैले थाहा पाएँ मलाई प्रेम भएको छ, त्यो पत्रसंग, त्यो पत्रलेख्ने मनसंग, मान्छेसंग र भावनासंग । यस्तै भावनाले भरिएको मैले केही लेखेर छपाएँ “मेरो पहिलो प्रेम” ताकी उसले बुझोस । जसमा मैले उसलार्इ जान्न चाहे, "को हौ तिमी ?"

लगत्तै अर्को पत्र आयो, त्यही पत्र थियो जस्ले मेरो प्रेमको दृष्टिकोण पुरै बद्ली दियो । – निर्णायक र अन्तीम पत्र ।
पत्र यस्तो थियो ।

प्रिय लेखक!
एकैसाथ खुशी वा दुखी दुवै भर्इ रहेकी छु । प्रेमको कुनै परिधि हुदैन यसर्थ तपाई भित्र अंकुरित प्रेम प्रति मेरो कुनै गुनासो छैन । यद्यपी “तिमी को हौ” भन्ने प्रश्नले र मेरो भौतिक खोजीले म यतिखेर विचलित भै रहेकी छु । त्यसमा प्राप्तीको अभिलाषा निहित छ जुन मेरो प्रेमको परिभाषामा पर्दैन । तपाईको आग्रह अनुसार यदी म प्रस्तुत हुने हो भने म एउटा आम पाठकबाट तपाइकी विशेष कोही बनौला तर त्यसले मेरो पाठकीय प्रेम र तपाई प्रतिको लेखकीय सम्मानको न्याय गर्न सक्छ ? कदापी सक्दैन । मानिलिनुस मेरो नाम क, ख वा कुनै होला र मेरो ठेगाना कतै होला त्यसले के फरक पार्छ ? म तपाईकी प्रेमिका होइन । म तपाईको भौतिक उपस्थितिलाई प्रेम पनि गर्दिन यदि मेरो प्रेम छ भने तिनै शब्दहरुसंग मात्रै छ, जो तपाई लेख्नुहुन्छ ।

र तपाई पनि मेरो प्रेमको खोजी मेरै पत्रहरुमा गर्नुहोला । तपाईका हरेक प्रश्नहरूको उत्तर त्यहीँ खोज्नुहोला । ल ! सम्वोधनकै लागि सोध्नुहुन्छ भने भनिदिएँ मेरो नाम 'प्रेरणा' । एउटा आम पाठक बनेर भ्याएसम्म तपाईलाई लेख्दै गर्नेछु ।

प्रेरणा

अधुरो लाग्यो उसको पत्र । तथापी त्यसपछिका दिनहरुमा अझ गाढा हुदै गयो उसका प्रेमका आभास । खै किन थाहा भएन । प्रेरणा, त्यो नाम छातीभित्र सजिए झैँ लाग्न थाल्यो । जब जब म लेख्न बस्थेँ उसैको प्रेमको आभासले तरंगित भएको पाउन थालेँ । सायद त्यही थियो मेरो पहिलो प्रेम । उसले स्वीकारोस नस्वीकारोस तर मेरो स्मृतिको घरबाट त्यो नाम कहिल्यै मेटिएन । मेरो पहिलो प्रेमको रंग बनेर बस्यो जो अझ गाढा गाढा हुदै गयो ।


...............

भ्यालेन्टिनाको मुहारमा खासै परिवर्तन देखिन मैले हुन सक्थ्यो उसलाई मेरो पहिलो प्रेम कथा बनाउटी लागिरहेको छ । उसमा न त प्रेरणा प्रति इर्ष्या थियो न म प्रति सहानुभुति । उसले सहजै प्रश्न गरी, अनि आजकल उसको पत्र आउदैन त ?

भ्यालेन्टिना, म स्पष्ट छैन, तर यो इन्टरनेटको जमानामा अहिले पनि आउदो हो उसका पत्रहरु । टिप्पणी, इमेल, कमेन्ट वा थम्प्सअपहरु बनेर । तर, म आफैले पहिचान गर्न नसकेको मात्र हुँला ।

उसको संकेतलाई अहिले बुझ्दा मैले के थाहा पाएँ भने प्रेरणा कुनै भौतिक शरीर होइन, यो त एउटा आभास मात्र हो । जसरी प्रेमको कुने आकार या मुर्तस्वरुप छैन, जो देखिँदैन, जसलार्इ मनले मात्र अनुभव गर्न सकिन्छ । ज–जस्ले मलाई पढ्छन्, सुन्छन् मेरा कथाहरुमा डुब्छन् ती सवै मेरा 'प्रेरणा' हुन् । र, मेरो पहिलो प्रेम साहित्य हो ।

ड्रामाको कक्षा छ भ्यालेन्टिनाको, उसले कक्षा लिन नगर्इ हुदैन । पारिपट्टि माउन्ट ओलिभ उभिएको छ साँगुरो र घुमाउरो कुइनेटोनेर पुगेपछि सधै झै छुट्टिनेबेला भ्यालेन्टिनाका ताता ओठका स्पर्शहरू महशुस गर्छु म, जो हिउँदका घाम जत्तिकै प्यारा हुन्छन् ।

.......................

भोलि दिउसो फुर्सदमा म उसकोमा गएँ । उ तलसम्म लिन आर्इ ।

यो के अचम्म ! भ्यालेन्टिनाका कोठाको सजावट अचम्मसँग परिवर्तन भएको थियो । उसका प्रिय कलाकारका तस्वीर सधैँ मुस्काइरहने भित्तामा आज रूसी साहित्यकारहरू म्याक्सिम गोर्की, लियो टोल्सटाय, एन्टोन चेखोभ तथा अलेक्जेण्डर पुस्किनका तस्वीरहरु टाँसिएका थिए र महत्वपुर्ण वाणीहरु फ्रेमभित्र सजाएर राखिएका थिए । दराजको ऐनामा टाँसिएको थियो - मेरो एउटा तस्वीर र मेरो नेपाली हस्ताक्षरमा सजिएको कुनै कविताको टुक्रा । कोठाको यो परिवर्तन देखेर मैले भने भ्यालेन्टिना, के हो यो ? तिमी ‘प्रेरणा’को नक्कल गरिरहेकी छौ ?

हैन लेखक ! तिम्रो पहिलो प्रेमको नक्कल गरेर मैले तिम्रो त्यो पहिलो र संग्लो अनुभुतिलाई धमिल्याउन खोजेकी होइन। तर तिमी मलाई पनि एकपटक प्रेरणाप्रति हेर्ने नजरले हेर, जस्ले तिम्रा साहित्यहरु नपढेपनि, नबुझे पनि तिमीलाइ पढेकी छ, तिम्रो प्रेमलाई पढेकी छ । तिमीलाई थाहा छ प्रेमको कुनै भाषा हुदैन ।

अनुनयका शव्द बनेर यतिखेर भ्यालेन्टिनाको प्रेम पोखिई रहेको थियो मेरो अगाडी, प्रेमको नदीमा नुहाएर भिजेका जस्ता थिए उसका प्रत्येक वाणीहरु! सुस्केराहरु, जहाँ उसकै नदी भोल्गाको सुसाइ मिसिएको होस् ।

प्रेम के हो ? कस्तो हुन्छ प्रेमको रङ्ग ? म भित्र जुलुस बनेर उभिन्छन प्रश्नहरु । भ्यालेन्टिनाको आखाँको सागरमा छाल जसरी उर्लिएको जे देखी रहेको छु, प्रेम त्यो हो या प्रेरणाको पत्रमा कोरिएका शब्दहरु ? आज मेरो आखा अगाडि यी दुबै अनुभुतिहरु एउटै रङ्गमा रुपान्तरित भर्इ रहेका थिए । र मभित्र त्यो प्रेमको रङ्ग अझ गाढा गाढा हुदै गइरहेको थियो ।



(अडियो यशजीको आवाजमा)



कृष्णपक्ष
http://krishnathapa.com/


Don't Miss
© all rights reserved
Crafted with by NetKUTI