Responsive Ad Slot

Training

latest

श्रव्य दृश्य सामाग्री

Media

ब्लग यात्रा

Blog

xoxoxo

krishna thapa

कथा

Story

कविता

Poetry

गीत

Musings

गज़ल

Ghazal

Diaspora

Musings



कुची र क्यानभास

Artwork

राजनीति र युद्ध

भूमिका

तिर्खाभित्रको शीर्ष कथा - रेडियो नेपाल

No comments
अग्रज श्रष्टाका सुन्दर रचनाका साथमा उद्गार सुन्दैछु ... रेडियो नेपालको चर्चित साहित्यिक कार्यक्रम उद्गारको यो भेटमा नेपाली साहित्यकारहरु कवि मञ्जु काँचुली, श्रवण मुकारुङ, प्रतीक ढकाल, बुद्धि मोक्तान र चेतनाथ कणेल 'हरित' का कविताहरू र कथाकार कृष्णपक्षको 'तिर्खा' कथा संग्रह बाट शीर्षकथा 'तिर्खा' प्रस्तुत भएको छ । तिर्खाको कथा वाचन र यो मिठो प्रेमका लागि आदरणीय दाजु कार्यक्रम संचालक साहित्यकार रमेश पौडेल र कथावाचन गरिदिनु हुने प्रस्तोता बबिता ढकाललाई हार्दिक हार्दिक धन्यवाद । कथा यहाँ सुन्नुहोस ।

मृग रमाउने जङ्गल

No comments

 साथी,


तिमीले प्रत्यक्ष नसोधे पनि मनमनमा धेरै पटक प्रश्न गर्‍यौ होला   कृष्णपक्ष तिमी किन हरायौ ?  कहाँ हरायौ ?  या तिमीलाई के भयो तिमी कहाँ छौ ?  मान्छेका यी भीडहरूमा, कुनै दुर्गम गाउँको अनकन्टार गोरेटाहरू या सहरका असङ्ख्य गल्लीहरू मा , भुलभुलैयाहरूमा तिमी कहाँ अलमलियौ ?   

जसरी तिम्रा अनेकन् अनुत्तरित जिज्ञासाहरू छन् त्यसरी नै मेरा पनि हजारौँ प्रश्नहरू थिए आफैँसँग … आफ्नै अस्तित्व सँग ।  तिमीले मात्र हैन म आफैले  आफूलाई राम्रोसँग बुझ्न पाएको छैन ।  आफ्नै शरीरमा वास गरेको म पात्रलाई चिन्न पाएको छैन ।  यो सँग बसेर नजिक बाट भलाकुसारी गर्न पाएको छैन ।  म त हरेक दिन  आफैले आफ्नो परिचय खोजिरहेको हुन्छु , सोधिरहेको हुन्छु ।   

 हुन त यही धर्तीको कुनै कुनामा छु जहाँ बाँच्दै गर्दा मैले थाहा पाए कि मलाई रङ्गहरूमा जीवन खोज्न मन पर्दो रहेछ ।  मलाई कुची र  कलाको घना जङ्गलमा हराउन मन पर्दो रहेछ ।  मेरो आत्माको वास कथा र कविताहरूको गुनगुनमा भन्दा पनि धेरै पर कुचीका घात र धर्साका आकारहरूको , प्रकाश र  छायाहरूको संसारमा रहेछ ।  मलाई चित्रकलाको यही संसारमा हराउनु जतिको आनन्द अन्त कतै रहेनछ ।    

म यतै कतै रमाइरहेको छु ... रमाइरहेको छु … । 



कोरोना नाउँको सन्त्रास ..

No comments

 मौसमले वसन्त बोलाइसकेको छ, धर्तीमा हरियो रङ्ग र सडक छेउका घाँसहरूमाथि गुलाबी रङ्गको सघनता बढ्न थालिसकेको छ । यस्तो बेला इजरायलमा पारिला घाम र पार्कका रमणहरू निकै मिठा हुन्छन् तर यसपालि यो पारिला घाम ताप्न कोही पनि वृद्ध वृद्धा या गृहिणीहरू निस्किएका छैनन् । न त सहरमा फेरिएको रङ्ग र उद्यानमा फक्रिएको प्रकृतिको यौवन नियाल्न मजस्ता प्रकृतिप्रेमीहरु नै बाहिर आएका छन । कारण एउटै छ कोरोनाको सन्त्रास ..।

सन २०२० को आगमनमा हामीले बाँचेको युगले एउटा अस्वाभाविक अनौठो त्रास र पीडा बोकेर आयो । कोरोना नाउँको यो महामारी क्रमशः चीनबाट सुरु भएर युरोप अमेरिका हुँदै पुरै विश्वभर व्याप्त भयो । 



मानव सभ्यतामाथि नै सङ्कट मडारिएको आभास हुन थाल्यो, मान्छेका मनहरू यसरी आक्रान्त बने मानौँ भर्खर टुसा पलाएको बिरुवामाथि तुसारापात भएको छ । उद्योग , प्रविधि र विज्ञानको चरम उच्चतामा चुलिएको मानव सभ्यता यतिखेर प्रकृतिको विनाशकारी भाइरससँग नतमस्तक र निरीह बन्न पुग्यो । 

बाहिर लकडाउन छ सहरमा पुरै सन्नाटा छाएको छ । बाक्लो जनघनत्व भएको यस सहरमा जब जब बिरामी बोकेर दौडने एम्बुलेन्सका चित्कार गुन्जिन्छन् लाग्छ अर्को कोरोनाको बिरामी थपियो तर रेडियो टेलिभिजन र अनलाइनहरुमा चिच्याइ चिच्याइ छाएका मिडियाका आर्तनाद जस्तो भयावह स्थिति भने यहाँ छैन । सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागे पनि मृत्युदर अत्यन्त न्यून रहेको तथ्याङ्कले केही राहत दिन्छ । 

यो घडीमा परदेशमा रहेका हामीजस्ता धेरैको मन अतालिनु अस्वाभाविक होइन यद्यपि लकडाउनको नियम पालना गरी बाह्य सम्पर्कलाई यथाशक्य न्यूनीकरण गर्दा यो व्याधि आफै तपाइको ढोका ढकढकाउन आइपुग्दैन । सुरक्षित रहन सकिने प्रशस्त आधारहरू भएकोले मन बुझाउन सकिएको छ । सोच्छु यस्तो बेला परिवारसँग स्वदेशमै रहन पाएको भए कति जाति हुन्थ्यो होला । 

जसरी समयसँगै घाउहरू पुरिँदै जान्छन त्यसरी नै यो महामारी एक दिन हराउने छ । यस बेला धैर्य गर्नु र सुरक्षित हुने उपाय अवलम्बन गर्नुको विकल्प छैन । नितान्त आवश्यक कार्यबाहेक अनावश्यक रूपमा बाहिर ननिस्कन भनिएको छ । मास्क, पन्जा र सामाजिक दूरी अनिवार्य छन । यो समय अन्य व्यस्तताले गर्दा गर्न नभ्याइएका अपुरा कामहरू गर्ने , साहित्य अध्ययन / लेखन तथा केही सृजनशीलतामा रमाउने यत्न गर्दै छु । 

आखिर समय भन्दा बलवान कोही पनि छैन, यो सङ्कटको सामना गर्ने अस्त्र नै आत्मसंयम, परहेज र धैर्यता हो । विश्वव्यापी रूपमा साहित्य अध्ययन र सृजनशीलता बढेको छ । स्रष्टाहरू अन्तरक्रियाका अनेक स्वरूपमा पाठकहरूसँग साक्षात्कार गरिरहनु भएको छ । भाग दौड र व्यस्तताले गाँज्दै लगेको समयमा यतिखेर अनायास निम्तिएको लकडाउनको यो परिस्थितिले पठन संस्कृतिमा सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ । 

सङ्कटको यो घडी भोली आफैमा एउटा इतिहास बन्नेछ । हाम्रा सन्ततिहरू र आफ्नै मनलाई सुनाउने एउटा कटु स्मृति बन्नेछ । समाचारमा बारम्बार सुन्छु, लकडाउनले गर्दा जागिर गुमाएका र दैनिक ज्यालादारी गर्ने कति मजदुरहरूलाई गाँस वासको अभाव हुन थालेको छ । काठमान्डौँमै कतिपय विद्यार्थी तथा मजदुरहरू रोगले भन्दा भोकले पीडित छन । 

आफूलाई चिन्ने अवसर भनेकै सङ्कटका घडीहरू हुन , नत्र मान्छेले अरुबेला कहाँ फर्केर हेर्छ र आफ्नो मनलाई ? आत्मालाई ? यस्तै बेला हो उ आफूसँग नजिक हुने र आत्माका आवाजहरू सुन्ने । 

इजरायलबाट फर्केका सामाजिक अभियन्ता मित्र नवराज आचार्यले काठमाडौँका गरीब मजदुरहरूलाई राहत वितरणमा हात बाँडिरहनु भएको छ, केही सहायता गर्छु । भोली आफ्नै आत्माले प्रश्न गर्दा उत्तर दिन सकिने खुसी, सन्तुष्टि र आत्म गौरवको आधार भनेको यही नै त हो । अलिकति भए पनि कसैको आँसु पुछ्न सकियोस् कसैको चर्किएको घाउमा अलिकति मलहम लगाउन सकियोस् र मानव हुनुको कर्तव्य अलिकति भए पनि निभाउन सकियोस् । 

सर्वे भवन्तु सुखिन : ।

छाती उस्तै छ

1 comment



असरल्ल अभावहरु
घाऊहरु, पीडाहरु, गृहयुद्धका चिराहरू,
अझ धेरै बिझेका छन ।
दुखेका छन चहरयाएका छन ।

मित्र निर्दोष हरु मरो देशमा
दिनदिनै रेटिइन्छन
कलमहरु डराएका छन
शान्ति सुरक्षा र न्याय हराएका छन ।

उफ़ यो बर्बरता ?
म बुद्धको देश कसरी भनु?

मानौ यस्तो लाग्छ यतिखेर,
सगरमाथा झुकेको छ ?
स्वाभिमान लुकेको छ ।

मित्र हेर त एकपटक छामेर ,
मेरो जस्तै तिम्रो पनि छाती उस्तै छ,
जहाँ देश दुखेको छ ।

सारा देश रोए पछि

No comments


सारा देश रोए पछि फेवा रुन्छ रारा रुन्छ
धरती रुन्छ जून संगै आकासको तारा रुन्छ

उजाड़ भा'छन वस्ति हरु सपना हरु धुवां धुवां
खंडहर याद बोकी रोल्पा रुकुम खारा रुन्छ

जलेका छन जिउदै कति निर्दोषहरु,यो माटोमा
छटपटिदै काजोल रुन्छे ,चितवन भंडारा रुन्छ

चिठ्ठी ख़बर कही छैन फर्कदैनन छोराहरू
छाती दुख्छ आमाको बाच्ने सहारा रुन्छ

इतिहास लेखनेहरु रगतैले लेख्छौं भन्छन
आफ्नै भाईको रगत हो यो रगतको धारा रुन्छ 2003

केयरगिभरको अन्तिम कथा र दीक्षितको सम्झना

No comments


मृत्यु शाश्वत सत्य हो, जो जन्मसँगै जोडिएर आएको हुन्छ । केवल प्रश्न के हो भने भौतिक शरीरको अवसान भैसकेपछि पनि ऊ बाँचेको समाजमा उसको कति योगदान रह्यो ? या मानिसका हृदयमा ऊ कति सम्झना बनेर बाँच्न सक्यो ? यी प्रश्नहरूले विशेष अर्थ राख्छन र केही मानिसहरू मृत्युपर्यन्त पनि यस धर्तीमा बाँचिरहन्छन ।

लगभग एक दशकदेखि म प्रवासी जीवन बाँचेको छु, इजरायलमा ‘केयरगिभर’को रुपमा जागिरे भएर । पराईभूमि न इच्छा थियो न रहर, नियतिले लेखेको यो कर्म केवल सम्झौता मात्र थियो – जिन्दगीसँग गरेको सम्झौता, समयसँग गरेको सम्झौता । यद्यपि आजकल ‘केयरगिभर’ नामको यो कर्ममा अभ्यस्त भइरहँदा लाग्छ यो पुण्य कर्म पनि हो । हुन सक्छ यो आफैले आफैसँग गरेको एउटा मन बुझाउने बाटो । तर लाग्छ अशक्त, असहाय या शक्ति क्षीण हुदै गएका वृद्ध वृद्धाहरूको स्याहार जागिरे उपक्रममात्र हुन सक्दैन, यसमा कहीं न कहीं आत्मीयता जोडिएको हुन्छ, यसमा केही न केही अंश सेवा र पुण्यभाव जोडिएको हुन्छ ।
यो प्रश्न मेरालागि मात्र होइन, यो त प्रवासमा श्रम र पसिना बगाउने तर कला र साहित्य बाँच्ने हरेक नेपाली मनहरूको दुरावस्थाप्रतिको चिन्ता र चासो थियो । मैले यसरी बुझें, जो पसिना पोख्दा पोख्दै, लेख्दा लेख्दै या सपनाहरूलाई आकार दिँदादिँदै सपनै जसरी विलाए ।
नेपालका एक वरिष्ट साहित्यकार, साहित्य सेवी कमलमणि दीक्षितको भौतिक देह अवसान भयो । कमलमणि दीक्षित नेपाली साहित्यको खोज, अनुसन्धान र उन्नयनका लागि अन्तिम घडीसम्म सक्रिय हुनुहुन्थ्यो । नेपाली साहित्यको क्षेत्रमा उहाँले गरेको योगदानलाई आगामी पुस्ताले श्रद्धा, आदर र प्रेमपूर्वक सधैँ सम्झिरहनेछन । नेपाली साहित्यमा लगभग परिचय नै नभएको मेरो एउटा पुस्तक पढेपछि उहाँले ‘केयरगिभर’ शव्दले आफू भावुक भएको बताउनु भएको थियो । हाम्रो इमेल आदान प्रदानको शृंखला शायद इजरायलमा मेरो परिचय बनेको यही ‘केयरगिभर’ शव्दबाट आरम्भ भएको हुनुपर्छ । उहाँ भन्नुहुन्थ्यो – म पनि एक ‘केयरगिभर’ हुँ ।

नेपाली भाषा साहित्यको खोज अनुसन्धान र शोधका विद्यार्थीका लागि अमूल्य खजानाका रुपमा रहेको ‘मदन पुस्तकालय’का संस्थापक तथा नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय र उल्लेख्य रहेको मदन पुरस्कार गुठीका अध्यक्ष दीक्षित नयाँ पुराना सबै साहित्यकारलाई उतिकै माया र हौसला दिनुहुन्थ्यो । उहाँले एकपटक सोध्नु भएको थियो – तिर्खाको अन्तिम कथाभित्र मेरो कतिको आफ्नो अंश छ ? या कृष्णपक्षलाई त्यसले कति प्रतिविम्बित गरेको छ ? यो प्रश्नले पक्कै मलाई पनि भावुक बनाएको थियो ।

यतिखेर त्यो छोटो र अधुरो लाग्ने कथाको स्मरण भयो । हरेक मानिसले आफ्नो छातीको गहिराइमा पालेको हुन्छ कुनै न कुनै सपना । र जहाँ पुगेपनि, धर्तीको जुन कुनामा पुगेपनि ती सपनाहरूले उसलाई घच्घच्याइरहन्छ । तिर्खाको ‘अन्तिम कथा’ यस्तै वेमेल कर्म बाँच्ने कथाकारको कथा थियो, चित्रकारको कथा थियो, जो जागिरे जीवनबाट फुर्सद निकालेर चित्र कोर्न मन पराउँछ, कथा लेख्न मन पराउँछ । चित्र कोर्ने, रंगहरू मन पराउने, रहरहरू पच्छ्याउदै साहित्य सिर्जना गर्ने, कविता लेख्ने, सुनाउने र भाषा साहित्यको प्रेमलाई कुनै न कुनै रुपमा बचाइ राख्ने त्यो पात्रको तर ‘अन्तिम कथा’ लेख्ने धोको भने अधुरै रहन्छ ।

स्वर्गीय दीक्षितले उद्ग्रित गरेको मेरो कथाको सार यही हो । जसले म मात्र हैन मजस्ता धेरै परदेशीको प्रतिनिधित्व गरेको छ ।

डायोस्पोराको नेपाली साहित्य र यसको अस्तित्वलाई मुलधारले केवल रहर र नोस्टाल्जियाबाहेक बढी नठानेको या गम्भीरतापूर्वक स्वीकार नगरेको गुनासो सधैँ रहने गरेको छ । यसर्थ प्रवासका हरेक साहित्य साधकहरूलाई मुलधारबाट आउने सानोभन्दा सानो टिप्पणी, शुभकामना या गालीहरू पुरस्कार लाग्छन, ठूलो हौसला भइदिन्छन ।

वरिष्ठ साहित्यसेवी कमलमणि दीक्षितसँगको मेरो अभाषी आत्मीयता यस्तै प्रकृतिको रह्यो । हिजो सेतोपाटिमा भैरव रिसालले लेख्नुभएको रहेछ – कमलमणिजीको विशेषता त्यही हो जस्तो लाग्छ, उहाँ दोस्ती बनाउनलाई सम्पन्नता र विपन्नता हेर्नुहुन्नथ्यो ।” नत्र कुन प्रेरणाले नेपाली साहित्यका यी अग्ला पुरुषबारे म यसरी लेखिरहेको या सम्झिरहेको हुन्थेँ होला र ? जीवन यापनका कर्म एकातिर छ भने भाषा साहित्य कला र संस्कृतिको प्रेमले डोर्याएका, देशप्रेमले डोर्याएका कर्महरू एकातिर ।

दीक्षित अन्तिम घडीसम्म नेपाली साहित्य लेखन र अनुसन्धानमा सक्रिय रहनुभयो । उहाँले साहित्यमा कलम चलाउने वरिष्ट देखि कनिष्ट सम्मलाई माया गर्नुभयो । उहाँकै सक्रियतामा नेपाली साहित्यको सर्वाधिक लोकप्रिय पुरस्कार मदन पुरस्कार स्थापित भयो ।

मैले धेरै मृत्युका कथाहरू लेखेको छु, भौतिक देहको समाप्ति त एउटा अकाट्य सत्य हो । नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अनवरत सक्रिय साहित्यसेवी कमलमणि दीक्षितको देहावसानसँगै म यतिखेर सोचिरहेछु – उहाँले किन त्यो ‘अन्तिम कथा’ र त्यो पात्रप्रति चासो राख्नुभयो होला ? उद्ग्रित गर्नुभयो होला ?

यो कथाभित्र म आफै कत्तिको थिएँ ? यो प्रश्न मेरालागि मात्र होइन, यो त प्रवासमा श्रम र पसिना बगाउने तर कला र साहित्य बाँच्ने हरेक नेपाली मनहरूको दुरावस्थाप्रतिको चिन्ता र चासो थियो । मैले यसरी बुझें, जो पसिना पोख्दा पोख्दै, लेख्दा लेख्दै या सपनाहरूलाई आकार दिँदादिँदै सपनै जसरी विलाए । जसका यत्नहरू मरुभूमिको बालुवामा कोरिएका अक्षरहरू झैं मेटिए …. र मेटिइरहेछन ।

यसरी साहित्यमा कलम चलाउने स्वदेश या प्रवासका, साना र ठुला सबैलाई सम्झने अन्तिम घडीसम्म अनवरत नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित श्रष्टा कमलमणि दीक्षितलाई हार्दिक श्रद्धान्जली ।

कृष्णपक्ष थापा 
इजरायल 
© all rights reserved
Crafted with by NetKUTI