जीवन र मृत्यु बिचको दुरी छोटिदै मेटिदै गएको वा अझ समिपै आइरहेको सत्य देख्दा मान्छेको मनभित्र त्रासदीका भावहरु कति उद्वेलित हुँदा हुन् ? उसभित्र जीवनप्रतिको मोह र उसको जिजीविषाले कस्तो आकार लिदो हो ?आमाशयको क्यान्सर लागेर त्यस्तै भयमा बाँचिरहेका एकजना दाजुको लागि कार्यक्रममार्फत सहयोगको हात बढाउन अनुरोध सहित फेसबुकको इनबक्समा पत्रहरु भरिएका थिए ।
भरे सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै थियौं, कार्यक्रममा गरिने नाटक रिहर्सल र अन्य तयारीमा अनिदो थियो रात । सांस्कृतिक प्रेम र सामाजिक सन्देशको कुनै मिठो प्रेरणाले मोहित र अभिप्रेरित भएर म लगायत सहकर्मीहरु दिनेश प्रसाई, रुपा घिमिरे र ओम प्रसाई हिजो पनि राती तीन बजे मात्र निदायौं, र केहि दिनदेखि अहोरात्र यही प्रक्रिया चल्दै थियो। कार्यक्रमको मिठो कल्पना थपक्क आएर परेलीमा बसेपछि निन्द्राको बादल सबै पन्छिदो रहेछ । बिहानै पनि उत्तिकै फ्रेश थियौं, शायद यो अनुभव पहिलो पटक थियो ।
... तर घामको झुल्को झुल्किनु भन्दा अगाडी वाण जस्तो गरि आएको तितो खबरले अघि बुनेको स्फुर्तिको महल सबै भत्काइदियो एकै पलमा । खबर थियो, एउटी चेली गीता गुरुङ,जो सुन्दर भविस्यको सपना साँचेर परदेशमा संघर्ष गर्दा गर्दै बितिन । उनका सपनाहरु यहीं थाति रहे, यहि कतै अल्झिए यो बिरानो मुलुकमा । खुसीमा अनुवाद भएर साकार हुन अब कहिले नेपाल फर्कने छैन उनका रहरहरु - फर्कने छ त केवल एउटा निष्प्राण देह।
मैले व्यक्तिगत रुपमा उनलाई चिनेको थिए, इजरायल आएदेखि उनीसंग धेरै पटक भेट पनि भएको थियो, उनी मिलनसार थिईन । मृत्यु कति अपत्यारिलो सत्य? निमोनियाको बहाना पारेर चुडेर लग्यो उसको जीवन । उनको असामयिक निधन भयो ।
इश्वरले धेरै रहस्यको ज्ञानबाट वर्जित गरेको छ मान्छेलाई । त्यसमध्य एउटा हो मृत्यु, जो अनिवार्य जोडिएको हुन्छ जीवनसँग । यदि त्यस्तो थिएन भने अस्पतालको शैयामा गीता गुरुङले पक्कै भन्ने थिईनन् आफ्ना संगीहरु संग -
" म बिरामी हुदाको, यो मेशिनको, यो पाइप जोडिएको बेलाको राम्रो राम्रो फोटो खिचेर राख्नु है केटी हो, निको भएपछि हेर्नुपर्छ"
तर उनी यसरी निदाइन - अस्पतालका अन्तिम घडीका ती तस्वीरहरु अब उनले कहिलै हेर्न पाइनन् ।
२ परदेश र सांस्कृतिक तिर्सना
मध्यपूर्व इजरायलको मध्यभागमा अवस्थित यो शहर तेल अभिभ, अनि मेरोसंदेश सांस्कृतिक साँझको रमझम । हामीसंगै खुसि बाड्न चउरभरि भेला भएका छन परदेशी मनहरु ।
जुनको महिना, लेविन्सकी पार्कको फराक आँगनमा हामीले सांस्कृतिक र सन्देशमुलक कार्यक्रम गर्यौं । सुनौलो भविष्यको कल्पना सहित सधैं घर परिवार वालबच्चा सम्झिएर संघर्ष गरिरहेका ती हजारौं दीदीबहिनी र दाजु भाइहरुका कथा व्यथाहरु सुनायौं जो सधैं ओझेलमा परे, तिनका आवाजहरु उठायौं र प्रवासमा फैलिदै गएको अर्थहीन र विकृत राजनीति तथा विसंगति बिरुद्ध औंला पनि उठायौं ।
स्वदेशी गीत संगीत, नृत्य तथा कार्यक्रम हेर्न प्रवेश टिकटमा नै हजारौं रुपैयाँ खर्च गर्नु पर्ने बाध्यताको शिकार भएका नेपालीहरुलाई हामीले त्यही स्तरको कार्यक्रम यसपाली उदांगो र खुल्ला चौरमा देखायौं ।
दर्शकदीर्घामा जब हाँसो र तालीको गडगडाहट गुन्जन्थ्यो या नारीप्रधान वियोगान्त नाटक हेरेर आफ्नै भावना संग मेल खाएका धेरै दीदी बहिनीका आँखा रसिला हुन्थे, हामी कार्यक्रमको उद्देस्यमा सफल हुदै गएको अनुभुतिले द्रविभूत हुन्थ्यौं ।
धेरैले हार्दिक सहयोग गरे, उद्योग व्यवसायीहरुले आर्थिक सहायता गरे । कलाकार, टेक्निसियन, पत्रकार, फोटोग्राफर सबैले आ आफुले सकेको निस्वार्थ भावले सघाए । सबै भन्दा महत्वपूर्ण कुरा नेपाली समुदायको सद्भाव माया र हौसलाले हामीलाई नैतिक बल मिल्यो, कार्यक्रम सफलताका रहस्य तिनै थिए ।
इन्टरनेटमा देखाइने भिडियो कार्यक्रमका सन्दर्भमा हामीले अझ केही पनि गरेकै छैनौं । गर्नु पर्ने धेरै बिषय र कार्यहरु बाकी छन । प्राविधिक हिसाबले हेर्दा यो केवल ब्लग मात्र हो सामुहिक ब्लग, र यसको नाउमा कार्यक्रम गरिए पनि यो केवल हाम्रो उदेस्यको बहाना मात्र हो भन्ने मलाइ लाग्छ, सामाजिक सांस्कृतिक सन्देश र सचेतना हाम्रो मूल धेय हो र जसका लागि यस्ता कार्यक्रमहरु हामीले गर्दै रहनु पर्छ ।
नियालेर हेर्दा चिनेजस्ता लाग्ने झपक्क दारी जुँगा पालेका धतुरे बाजे इजरायल आएपछि २ दर्जन भन्दा धेरै संस्था खोलेर राजनीति गर्न पल्केका नेताप्रवृत्तिको अभिनयमा दुरुस्त उत्रिएका कलाकार श्याम रोक्कालाइ सम्झाउदै थिए,, हेर बाबै पितृले सराप्लान, मरे पछि पनि जाने ठाउँ राख । घरिघरि उनी दर्शकतिर फर्केर भन्थे दुइ दिनको रमझममा भुलेर सधै विदेश विदेश भनेर पनि हुदैन, अब घर फर्कनु पर्छ, आफ्नै देश फर्कनु पर्छ । यौवनको जोश जाँगर र सिपको लगानी अब देशकै माटोमा गर्नु पर्छ ।
मेरोसंदेश साँझमा प्रस्तुत नाटक गीत वा सङ्गीतहरु हाम्रै परिवेशका दृष्टान्तहरु थिए । बेरोजगारी र बिग्रदो अर्थतन्त्रको मारमा चेपिएर परदेश हानिएका किशोर किशोरीका विवशताहरु थिए । परदेश लागेपछि नारीलाई हेर्ने दृष्टिकोण र पुरुषवादी मानसिकता विरुद्धका अभिव्यक्ति पनि त्यहाँ पोखिएका थिए । र नेपाली प्रवासी समुदाय बिचमा आफै भित्र फैलिएको वेमेल र विसंगत अवस्थाको चित्रण थियो - मेरोसंदेश साँझ ।

३ भोट र इजरायल
लाक्पा दाइ र मदनका कथा
मुनामदनको कथा आज पनि उस्तै छ
ठाउ ठाउँ फाटेका अभावका थोत्रा राडीहरु टाल्न
मदनहरु खाडी चाहार्दैछ्न
र चराउदैछ्न भेडाहरु ।
ल्हासा त एउटा कथा मात्र हो तिमीले लेखेको
लालाबालाका आङ ढाक्ने ठिहिरो रहर बुन्दै
ऊन टिप्न कहाँ कहाँ मात्र पुगेका छैनन् मदनहरु?
मुनामदन महाकाव्य र यसको कथानक दृश्य परिदृश्यहरु एक एक गर्दै सल्बलाउछ्न । त्यहाँ पुगेपछि, (जहाँ मदन ल्हासाबाट फर्कदा बाटोमा बिरामी परेका थिए) बारम्बार लागिरह्यो त्यस्तो नभई दिएको भए हुन्थ्यो । त्यही त मुल कारण थियो मुनामदनको कथा वियोगान्त हुनु ।
मदनको ठाउँमा उभिएका थिए संखुसभाका लाक्पा दाइ हामी माझ, २ बर्ष पनि पुगेको छैन, इजरायल आएको । त्यो निष्ठुरी दैवको आँखा लागे पछि कसको के लाग्छ ? उनको आमाशयमा क्यान्सर देखियो यतिखेर उनि जीवन र मृत्युको दोसाँधमा उभिएका छन । अझै २ वटा किमोथेरापी पश्चात मात्र चिकित्सक हरुले निर्क्यौल गर्ने छन उनको बाच्ने सम्भावना र आधार कति छ भनेर । त्यसैका लागि मेरोसंदेश साँझ मार्फत आवाज उठाइयो ।
ल्हासाको जंगलमा मदन बिरामी परेर थलिंदा उनका साथीहरुले एक्लै छोडेर गएपछि उनलाई कसैले नभेटेको भए, वा भेटेर पनि वास्ता नगरेको भए के हुन्थ्यो होला ?
हो कथाभित्रको त्यो निष्ठुर मन भएका मदनका साथीहरुको उदाहरण कुनै पनि परदेशीले बन्नु हुदैन । हामी मान्छे, वा भनु सामाजिक मान्छे भएर जिउँदा मात्र हाम्रो प्राप्ति र सन्तुष्टिले गहन अर्थ राख्नेछ । लाक्पा दाइको भावना बोलिदिने तेन्जिंग शेर्पा, ऋतु गिरी र खुशी विष्टले मेरोसंदेश मार्फत अरु मनहरु संग यसै भने ।
उनको उपचारार्थ कार्यक्रममा संकलित २४७५ डलर लाक्पा दाइलाई र १००० सेकेल साइकलमा विश्व घुम्न निस्केका यात्री धनेश्वर क्षेत्रीलाइ हस्तान्तरण गर्दा मेरोसंदेशले एउटा अर्को अर्थपूर्ण सामाजिक कार्य गरेको गर्वानुभुती पनि गर्यो । लाक्पा दाइको यो कथा सुखद घुम्ती भएर गुज्रियोस र फर्कियोस उनको मुहारमा मिठो मुस्कान, सबैसंग एउटै कामना थियो ।
तर यहाँ मन दुख्ने अरु धेरै अलिखित कथाहरु छन
एउटा कथा यो
४ "ढुंगाहरुको लश्कर"
शरणार्थी हुने नेपालीहरुको लाम देखिरहेछु केही दिन देखि यहाँ । युद्धै युद्धले भग्नावशेष जस्तो इतिहास बाँचेको यो इजरायलमा ।
हुनसक्छ देश अलिकति भत्किएको होला, बन्द भएको वा हड्ताल जुलुश अस्तव्यस्तता र सङ्कटग्रस्त अवस्थामा होला देश । तर पक्कै त्यस्तो अँध्यारो पनि छाएको छैन जहाँ बाच्ने आधारभूत आवश्यकता नै निभेको होस् ।
फेरी किन फर्कन चाहि रहेका छैनन् , कृषिमा काम गर्न आएका कामदार, अध्ययन गर्न आएका विद्यार्थी, वकील, पत्रकार वा कार्यक्रम देखाउन आएका कलाकार पनि । यो मरुभूमिमा आएर शरणार्थी हुन पाउदा किन औधि खुशी भै रहेछौ हामीहरु ?
तिनका आँखाहरुमा देखिने डर, त्रास आशा वा खुसीका असंख्य भावहरु एकैपटक पढ्दा मलाइ के लाग्न थालेको छ भने अभाव र बेरोजगारीको अत्यासबाट हुत्तिदै मान्छेले परदेशको बाटो समातेपछि शायद उसले आफ्नो अहम संग पुरै सम्झौता गरिसकेको हुन्छ । अनि उसभित्रको सप्पै आदर्श र स्वाभिमान कहाँ कतिखेर विचलित भैसकेको हुन्छ उसले पत्तै पाउदैन ।
सुखको सपनामा बन्दी भएर भौतारिनु कति दुख लाग्दो नियति ?
मान्छेको अहम्ले महत्व पाउने र गर्व गर्न सक्ने स्थिति विद्यमान भएको त्यो रेखा नाघेर बाहिरिए पछि उ आफु आफु नै हुदैन रहेछ, उ त केवल ढुंगा जस्तोमात्र हुदो रहेछ ।
आफ्नै परीचय बिर्सदै गएको बेला उसलाई कुन देश चाहियो कुन राष्ट्रियता चाहियो ? धेरैले यस्तै अस्पष्ट उत्तर दिए । यो बिचित्रको सम्झौता हो, जहाँ मान्छे आफ्नै मन संग पराजित् भएको हुन्छ, हारेको हुन्छ ।
होला, अलिकति विवशताका अंशहरु पनि होलान, ... तर जसले बाध्यताको परिभाषामा थुने पनि म यो अवस्थालाइ स्वप्नमोहकै संज्ञा दिन्छु अब । नेपाली हुँ भन्नासाथ एउटा कामदार मात्र ठान्ने इजरायलीको देशमा शरणार्थी हुन जाँदा हाम्रो आत्मसम्मानमा किन चोट नलागेको ? किन नदुखेको देश?
किनकि ढुंगालाई दुख्दैन, छुदैन र पोल्दैन । अहँ, ढुंगालाई केही पनि हुदैन ।
म चुपचाप स्थुल शरीरहरुको एउटा लामो लर्को र ढुंगामा अनुवाद भएका एक थुप्रा मनहरु हेरिरहेछु ।
नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य कहिले होला?

बडो मार्मिक कुरा लेख्नुभयो कृष्णजी | हाम्रो सम्बेदना पातलिंदै गएको गहिरो प्रमाण | देशको रुपमा हाम्रो देशको गुणस्तर घट्दै गएको प्रमाण |
ReplyDeleteविवशता, समस्या वा अप्ठेरो स्थिति नभएको हैन्, तर तपाईँले लेखेजस्तै "बाच्ने आधारभूत आवश्यकता नै निभेको भने पक्कै छैन्"
ReplyDeleteअहिलेकोलागि आशावादी हुने कुनै प्रकाश नदेखिएपनि कामना गरौं नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य चाँडै आओस !
मन छुने आलेख ।
म एडम्स केभिन, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर प्रयास गर्न व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल (adams.credi@gmail.com) अब हस्तांतरण ठीक जारी युद्धमा ऋण कागजातहरू गरेर हामीलाई सम्पर्क। के तपाईं पनि aiico बीमा plc.you बहुत स्वागत छ इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भने हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं (aiicco_insuranceplc@yahoo.com) एक व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता छ।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक