
(म भर्खर इजरायल प्रवेश गर्दा लगभग पाँच बर्ष अघि शुरुमा इजरायलबाट प्रकाशित हुने पत्रिका "नेपाल चौतारी"मा प्रकाशित निकै पुरानो लेख ।)
वैजनी रंगका ढकमक्क शिरीषका फूलहरु भूइँभरी पोखिएका छन् । व्यवस्थित घर अनि फराकिला भित्री सडकका ठाउँठाउँमा निर्माण गरिएका उद्यानहरुले यहाँको सुन्दरता मात्र बढाएको छैन्, विदेशबाट आएका हामी जस्ता केयरगिभरहरुको दिनाचर्या सरल र मधुर बनाइदिएको छ । होचा सिसौका पातहरु हल्लाउँदै शीतल हावा बहन थालेपछि प्रायः हरेक साँझ म मेरो बूढो साथीसँग घुम्न निस्कन्छु, अनि ऊ सधैं मर्दै र बाँच्दै गरेको यो शहरको र उसको कथा हिब्रू मिश्रित अंग्रेजीमा मलाई सुनाउन थाल्छ ।
धेरै हिउँद वर्षा काटिसकेको अरबी मूलको यो बुढो ‘जोहारिस’ मेरो अगाडि आफैंमा एउटा सिङ्गो इतिहास बनेर उभिन्छ, जसले इजरायलको विगतलाई आफैले देखेको छ, भोगेको छ र कति–कति अविस्मरणीय पलहरुलाई छातीको भित्री तहमा शिलालेखजस्तै आरुढ गराएर राखेको छ ।
मायासँग भेट नभएको पनि बर्षौ भइसकेछ ।
नेपाली नाम जस्तै लागेर म प्रश्न गर्छु— माया को थिइन ?
माया उसकी बाल्यकालदेखिकी अभिन्न साथी थिइन्, अर्थात खबेरा... लामो सुस्केरा हाल्दै ऊ सम्झन्छ - 'माइ' (मे) मा जन्मिएकीले माया नाम राखेको रे । यसपालीको जन्मदिनमा छोरीको घर बेरशेवा जानु अघि नै धेरै पटक उसले मायासँग फोनमा कुरा गरेको थियो । कतै कुनै सिलसिला मिलाएर भेटन पो सकिन्छ कि ! शायद यस्तै झिनो आशा उसको मनमा हुँदो हो । त्यो धोको फेरि पनि विविध कारणले अधुरै रह्यो, सबै कारणहरुको विश्लेषण गर्ने सामर्थ्र्य पनि उसको उमेरसँगै क्षीण हुँदै गइसकेको छ । माया पनि धेरै बुढी भइसकिन् अब त नभेटी मरिन्छ होला !
समयले ती दुईलाई परस्पर शत्रु राष्ट्रको नागरिक बनाएपछिका शुरुका दिनमा पश्चिम किनारको सिमानामा काँडाको तार बाहिरबाटै भेटेर रुँदै फर्केको तितो अतित सुनाउँदै गर्दा उसको गला अवरुद्ध हुन्छ । देश फाटिए पनि मन र माया त काँ फाटिंदो रहेछ र ?
मन र भावनाको बहाव विपरीत बगेर पनि जिन्दगीले गति त लिंदो नै रहेछ । जीवनको धेरै लामो बाटो हिंडिसकेको छ उसले, यो यात्राका अन्तिम वर्षहरुलाई सजिलो बनाउन भगवानले मलाई पठाइदिएको हो भनेर ऊ मेरो मन जित्छ । मेरो उत्सुक स्वभावको पनि ऊ अत्यन्तै प्रशंसा गर्छ । नेपाली चौतारीको मेरो लेख देखेर मलाई लाग्छ मभन्दा ज्यादा त ऊ नै हर्षित हुन्छ होला । शुरुदेखि अन्त्यसम्मका एक–एक हरफहरु उल्था गरी गरी सुनाउनु पर्छ ।
हामी धेरै अनुभवहरु साटासाट गर्छौं, यिनै बुढाबुढीको मुहारमा देखिने खुशी र आँसुका रेखाहरु पढ्न हामीले अमूल्य समयसँग सम्झौता गरिसकेका छौं– एउटा सुसारे भएर ।
उसको उच्च अध्ययन अमेरिकामा भएको थियो । त्यहाँ पनि माया उसकी सहपाठी थिइन् । क्यालिफोर्निया राज्यको लस एञजल्समा रहँदाका ती स्वर्णीम दिनहरु ऊ सम्झन्छ । अमेरिकी समाजमा ती अनन्य जोडीले यौटै देशको प्रतिनिधित्वको रुपमा आफूलाई स्थापित गराएका थिए । इम्पेरियल राजमार्ग हुँदै साउथवेस्ट कलेजसम्म आउँदा जाँदा प्रायः माया ऊसँगै हुन्थिन् । कति पटक त मायाले उसैको भान्सामा खाना पकाइदिएकी थिइन ।
त्यसबेला मायासँग जोडिएको इस्लाम धर्मले के फरक पारेको थियो ?
उमेरले माया ऊभन्दा अलि जेठी थिइन होला । उनीहरुको घर सँगै थियो, त्यसबेला । सँगै खेलेर हुर्किएर र अनुभवहरु बाँडेर यौवन र जीवनका असीमित आयामहरु मसँग उसले सिक्ने र बुझ्ने अवसर पाएको थियो । ऊ भन्छ, उसकी पत्नीसँग जति उसको खुशी गाँसिएको छ, त्यसभन्दा कयौंगुणा धेरै मायाका सम्झानाहरू उसभित्र आजसम्म बाँचिरहेको छ । किन, ऊ आफैंलाई थाहा छैन् ।
के ऊ मायालाई मन पराउँथ्यो वा प्रेम गथ्र्यो ? मेरो जिज्ञासालाई पल्टाउँदै यसले यत्ति भन्यो, यदि प्रेमको परिभाषा बदल्न सकिन्छ भने,“उलाइ केन, उलाइ लो” ।
ऊ अरबी मूलको यहुदी थियो र माया इस्लामिक परिवारमा जन्मिएकी थिइन्, उसलाई थाहा थियो उनीहरुको बीचमा सम्बन्ध स्थापना हुनु सामाजिक र धार्मिक अपराध थियो ।
विदा मनाउँदा प्रायः समुद्रको किनारमा जान्थे उनीहरु । पौडन पनि उनीहरुले लगभग सँगै सिकेका थिए । कतिपटक उनीहरु साँझ घोडामा घर फर्किदाका ती रमाइला दिनहरुको बयान सुनाउँदा सुनाउँदै ऊ भन्छ– म तन्नेरीमा तिमी जस्तै थिएँ ।
“क्रिस के तिमीले कहिल्यै ऊँटको दूध पिएका छौ?”
“अहँ छैन, किन र ?”
कहिलेकाही अचानक यसरी प्रसंग मोडेर कुरा गर्ने स्वभाव प्रायः यताका बुढाहरुको हुने गर्छ । यो बुढ्यौलीको दोष पनि हुनसक्छ । तर ऊ प्रसंगभित्रै रहेछ । एकदिन जेरुसलेम घुम्न निस्कँदा उनीहरुले बेस्करी ऊँटको दूध पिए अरे । त्यो बेला माया पनि अलिकति बहकिएको कुरा उसले स्वीकार ग¥यो तर संगसंगै जीवन बिताउने आँट गर्ने शक्ति उनीहरुलाई न त यो धर्मले दियो न त यो समाजले एकपटक मुस्लिम युवकसँग प्रेम गरेको चलचित्र खेलेकै भरमा मनिषा कोइरालाको हत्या गर्ने प्रयास भएको कुरा म सम्झन्छु ।
मान्छेको समाज जहाँ पनि उस्तै त हुँदो रहेछ ।
माया स्पष्ट खुला बिचारकी युवती थिइन । मायामा त्यस्तो धार्मिक दृढता उसले कहिल्यै महसुस गरेन । मायाले इस्लाम परिवारमै विवाह गरिन्, उनीहरु इजरायलबाट विस्थापित भए । हुनत यहुदी समाज र साँस्कृतिक सामाजिक थिचोमिचोसँग सम्झौता गरेर अझ धेरै इस्लामिक समुदाय इजरायलमा मिलेरै बसेका छन् दुखेको कुरा माया त्यो भित्र पनि परिनन् ।
मौसम ऋतु र प्रकृतिका साजहरु बदलिदै गए । कैयन अनिश्चित समयहरु स्वतः स्वीकारित भए र उनीहरु आ–आफ्नो संसारमा हराए ।
कसरी कुनै संयोगवश उसकी छोरी मानव अधिकारवादी सामाजिक संस्थाबाट स्थलगत रिपोर्टको लागि केही वर्ष पहिले पश्चिम किनार जाँदा बुबाको उही पुरानो साथी मायासँग परिचय भएको थियो । ऊ भन्छ, त्यसदिन उनीहरुले दिनभर जस्तो टेलिफोनमा कुरा गरे अरे ।
माया एकपटक जसरी पनि जेरुसलेम आउन चाहन्छिन् । जेरुसलेमको पुरानो शहर धीत मर्ने गरी घुम्ने इच्छा भएको कुरा उनी बारम्बार व्यक्त गर्छिन् । जेरुसलेम उनीहरुलाई मुटुको स्पन्दन जत्तिकै प्यारो छ । सन् १९६७ को अरब –इजरायल बीचमा भएको घमासान युद्ध पश्चात जब जेरुसलेम मुक्तिको घोषणा गरियो, त्यसबेला हजारौं सर्वसाधारण र सैनिकहरुसँग हातेमालो गर्दै उनीहरु पनि जेरिचो हुँदै मृतसागरको सडकतर्फ फैलिएको विशाल बिजयोत्सवमा सहभागी भएका थिए ।
आजसम्म जब जब कतै त्यही समयको हृदयस्पर्शी त्यो संगीत गुञ्जन्छ , ऊ भावविभोर भएर मायालाई सम्झन पुग्छ । माउण्ट मन्दिरको आकाशमा टल्किने सुनको गजुरको चमक जरुसलेमको दिव्य ज्योति हो , ऊ भन्दछ तर यो ज्योति, यहुदीहरूको मात्र होइन, १७ औं शताब्दीतिरका इस्लामहरुले नै यहाँ सुन भरेका हुन् ।
यरुसलाइम शेल जहाव
वेशेल निखोसेक
वेसेल ओर...
हो लिखोल शिराइख
आनी किनोर....।
ऊ भन्छ शायद हाम्रो लागि लेखिएको त्यही नै अन्तिम दिन रहेछ, त्यसपछि उनीहरुले कहिल्यै त्यसरी जेरुसलेम घुम्न पाएनन् र त्यो दुर्लभ समयको पुनरावृति केवल मन र स्मृतिमा मात्रै रहिरह्यो त्यसैले पनि हुनसक्छ, त्यो गीत त्यति प्यारो भएको । स्वतन्त्रता दिवस तथा राष्ट्रिय सार्वजनिक समारोहहरुमा प्रायः सुनिने यो गीत इजरायलको राष्ट्रिय गान 'हातिक्भा' भन्दा पनि लोकप्रिय छ । इजरायलीको मनमा बसेकैले हुनुपर्छ यसले दोस्रो राष्ट्रिय गानको मान्यता पाएको छ ।
धेरै गायकगायिकाले यो गीत गाइसकेका छन् । मेरो आँखाको कोतूहलता पढ्दै ऊ मलाई पूरानो बाकसबाट एउटा क्यासेट झिकेर सुनाउँछ । सुली नतानको सुरिलो स्वरमा स्वरबद्ध त्यो गीत बज्न थाले पछि ऊ भन्छ– माया पनि उस्तै गरी गाउँथिन ।
मेरो भाषामा म यसरी बुझ्छु,
ए धिपधिप प्रकाशले
प्रद्धिप्त भएको
सुनै सुनको सुवर्ण जेरुसलेम
म तिम्रो संगीतको सितार हुँ ।
संगीतको लयसँगै म प्रसंग जेरुसलेमतिर मात्र केन्द्रित गर्न चाहन्थेँ । अद्धितीय शहर जेरुसलेम प्रतिको मोह यहुदीहरुमा मात्र होइन, सबै धर्मावलम्वीहरुमा उत्तिकै छ । संसारका अन्य शहरहरु तिनको विशालता, भौगोलिक सुन्दरता, आर्थिक सम्पन्नता वा यस्तै अन्य कारणले प्रसिद्ध भएका हुन सक्छन तर पवित्र अध्यात्मिक शहर जेरुसलेम किन अतुलनीय छ त ?
किनकी जेरुसलेम देउताको शहर हो, उनीहरुमा विश्वास छ । जेरुसलेमको अर्थ शान्तिभूमि पनि हो, तर यसैका निमित्त अन्य शहरको तुलनामा सबैभन्दा धेरै वैमनस्य, धेरै संघर्ष र धेरै रक्तपातहरु भएका छन् । धेरै आँसुहरु बगेका छन् । यहाँ बेवोलोनियन, ग्रीक, तुर्की तथा रोमनहरुले एकपछि अर्को गर्दै ३८ पटकसम्म आधिपत्य जमाएका थिए । यही क्रममा यसका संरचनाहरु कैयौंपटक खण्डहरुमा परिणत भए, कतिपटक त बस्ती शुन्य उजाड भयो यो शहर । यद्यपि ईश्वरप्रतिको उच्चतम आस्था भने यो शहरमा सधैंसधैं बाँचिरहेको छ ।
यो धार्मिक क्षेत्र अन्य धेरै राष्ट्रहरुद्वारा पटक पटक अतिक्रमित भई राजनैतिक सार्वभौमिकता अन्तरित भएपनि यहुदी राज्यले मात्र राजधानीको रुपमा स्थापना गरेको हो, यहुदीहरु भन्छन् । यो हाम्रो पूख्र्यौली सम्पदा हो, प्यालेस्टिनीको कदाचित होइन । सन १९४८ अघि जो यहाँ बसोवास गर्थे र आफूलाई प्यालेस्टिनी भन्थे, उनीहरु त कतैबाट आएका आगन्तुक मात्र थिए । तर प्यालेस्टिनीहरु भने यो सत्य नभएको दावी गर्छन । उनीहरुका पिता–पूर्खा र कयौं पुस्ता यहाँ बस्तै आएका थिए। एकाएक सलहसरी आएका यहुदीको जमातले किंवदन्तीको आधारमा आफूहरुलाई जवर्जस्ती धपाएर अन्याय गरेको उनीहरुको भनाई छ ।
मेरो बुढो साथी भन्छ– यूरोपमा यहुदीहरुमाथि भएको क्रूर अत्याचारको बदलामा विनाकारण यहाँ प्यालेस्टिनीहरुले मूल्य चुकाउनु परेको मात्र हो ।
जेरुसलेम र मायासँग सम्बन्धित स्वर्णीम यादहरुलाई थाति राखेर ऊ मलाई अर्को कथा सुनाउँछ । यहुदी र अरबहरु को थिए के तिमीलाई थाहा छ ? डा. विष्णु चापागाईंले यही पत्रिकाको पहिलो अंकमा लेखेका थिए— “इस्लाम र यहुदीका पूर्खा अब्राहमले सृष्टिको शुरुवात यही स्थानबाट गरेको विश्वास गरिन्छ ।”
एकअर्कालार्इृ देखिनसहने यी दुई शत्रुका पूर्खा कसरी एउटै थिए?
ऊ सुनाउँदै जान्छ — यु्गौं पहिले तिनै अब्राहमलाई ईश्वरको अनुकम्पाद्वारा इजिप्ट देखि समस्त कनान क्षेत्र ( जसभित्र जेरुसलेम पनि पर्छ) प्राप्त भयो । “तिमी र तिम्रा सन्तानहरुले यहाँ राज्य गर्नू” भन्ने उनको आज्ञामुताविक उनका पुत्र इज्याक स्वतः यसको उत्तराधिकारी भए उनैका सन्तति यहुदीहरु हुन् ।
अब्राहमको एउटी सुसारेसँग अबैध सम्बन्ध रहेछ । उनेले इस्मायल नाम गरेको पुत्रलाई जन्म दिइन । उनलाई गृह निकाला गरियो, उनी सम्पूर्ण अधिकारिताबाट बहिस्कृत भइन । इस्मायल जवान भए पश्चात पिताको वंशीय अधिकार प्राप्त गर्ने धोको उनमा सधैं प्राप्त भइराख्यो । उनीहरुले विशाल मरुभूमि परान क्षेत्रमाथि अधिपत्य जमाए । उनैका सन्तति इस्लाम भनिए । इज्याकका सन्ततिहरू चाहि यहुदी भए।
त्यसैले जेरुसलेमका लागि भएको संघर्ष दाजुभाइको झगडा बाहेक केही होइन, ऊ प्रष्ट्याउँछ ।
फेरि हाँसो उठ्ने गरी ऊ यो पनि भन्छ— ईश्वरले त हामीलाई बस्नका लागि मात्र ठाउँ दिएका हुन, कुनै ग्रहको एक टुक्रा जमीन पनि कसैको होइन । यदि जेरुसलेमका नाममा सधैं युद्ध भइराख्यो भने उनले यसलाई विशाल पत्थरमा रुपान्तरित गरिदिनेछन् र, अनि जसले यसलाई छुन खोज्छ उसैलाई चोट लाग्नेछ ।
जेरुसलेमबाट पूर्वतर्फ जैतुनको पहाडमाथि हरेक प्रभात चियाउने सूर्यको किरणले सम्पूर्ण विश्वमा आस्थाको ज्योति टल्किरहेझै देखिन्छ । उत्तर दक्षिण फैलिएका पहाडहरुले घेरिएको यो उपत्यका भित्रको सुवर्ण शहर जेरुसलेमलाई इजरायलले अत्यन्त जतनले सुरक्षा र सम्मान गरेर राखेको छ । करीब ३००० वर्ष पहिले राजा डेविडले यहाँ राज्य गरेका थिए । यहुदीहरु भन्छन्— “त्यही बेलादेखि नै हाम्रो राजधानी जेरुसलेम हो ।”
शहरको मध्य भागमा रहेको माउन्ट मन्दिरको रहस्यमय अलौकिकता अवर्णनीय छ । विभिन्न समयमा विभिन्न शासकहरुद्वारा पटकपटक विनाश र पुनर्निर्माण हुँदै आएको यो धार्मिक सम्पदा पुरातात्विक, साँस्कृतिक र राजनैतिक दृष्टिकोणले अत्यन्त संवेदनशील रहेकोले धेरै मुलद्धारहरु निषेधित छन् । यहीँ अवस्थित अल अक्सा अस्जित र इस्लामिक धार्मिक स्थलले गर्दा मुस्लिमहरुका निमित्त पनि माउन्ट मन्दिर (माउण्ट मोरिया) उत्तिकै महत्वपूर्ण छ ।
ईशापूर्व ९६७ मा सोलोमनले बनाएको यो मन्दिर ईशापूर्व ५८६ मा वेविलोनीयनहरुले नष्ट गरेका थिए । फेरि ईशापूर्व ५१६ मा पुनर्निमित दोस्रो मन्दिर पनि ईशापूर्व ७० मा रोमहरुद्वारा भत्काइए पछि तिनका बाँकी अवशेषहरुबाट निर्माण गरिएको लामो पश्चिमी पर्खाल (western wall)ले यहुदीहरुको पराजय, आँसु र शोकमय सम्झनालाई प्रतिविम्वित गर्छ ।
गल्ली गल्लीमा यहुदीहरुको रगतको धारा बगुञ्जेलसम्म टाइटसका निर्दयी सैनिकहरुले आक्रमण गरिराखे । संसारभरिका यहुदीहरू यही दिशातर्फ फर्किएर प्रार्थना गर्छन ऊ भन्दै थियो —प्रत्येक दिनको हाम्रो प्रार्थना तेस्रो काल्पनिक मन्दिरसँग सम्बन्धित छ, जुन यही स्थानमा निर्माण हुनेछ, जब यहुदी देवदूत यस धर्तीमा प्रकट हुनेछन् ।
जेरुसलेमको बयानभन्दा फेरि उसलाई मायाकै सम्झना गाढा भएर आउँछ । हाइफा, गोलान क्षेत्र तथा पवित्र शहर जेरुसलेमका पर्खाल, चर्च, मन्दिर र मश्जिदहरुमा शायद उनीहरुको पनि कथा लुकेको छ । उनीहरु घुमेका पाइलाका डोबहरु त्यही बेला मेटिएर गएपनि कहिलेकाही एकान्तमा त्यही पदचापको आवाजले ऊ झस्कन्छ ।
मायाविनाको उसको हरेक स्मृति अधुरो–अधुरो छ । डेविड टावरबाट उनीहरु घण्टौ जेरुसलेमको पुरानो शहर नियाल्थे रे कहिलेकाहीँ त जाफा गेटबाट ऊटमा चढेर भित्र पसेपछि साँझ परेको पनि हेक्का रहँदैनथ्यो रे । त्यो निकै पुरानो समयको कुरा थियो । मुस्लिम, यहुदी वा क्रिश्चियनहरुका आ–आफ्ना चोक, क्षेत्र तथा गेटहरु छन् यहाँ । “भाया दोलोरोसा” अर्थात जिसस क्रुसमा टाँगिएर दुख्दै हिडेको त्यो वेदनाको बाटो पछ्याउँदै कति क्रिश्चियन तीर्थयात्री हरेक वर्ष यहाँ आएर उनको दुःखद सम्झना गर्छन् ।
जिसस क्राइष्टको जन्म र मृत्यु यहीं भएकोले क्रिश्चियनका लागि पनि यो क्षेत्र उस्तै धार्मिक महत्वको छ । त्यसै देउताका शहर कहाँ भनिएको हो र ?
नयाँ वर्ष “रोश हा सना” मा हामी धेरै खशी भयौं । हरेक नयाँवर्ष जस्तै यसपाली पनि शोफारबाट निस्किएको पवित्र त्तयनी धर्म र यसका कथाहरु कुँदिएका यी पहाडका पर्खालहरुमा प्रतिध्वनित हुँदै जेरुसलेम र सम्पूर्ण इजरायलभरी गुञ्जियो । हाम्रो हिन्दू धर्ममा शंख जस्तै महत्व रहेको यो शोफार एक प्रकारको विगुल हो जुन भेडाको सिंगबाट बनाइन्छ । यससँग यिनीहरुको धार्मिक र पारम्परिक महत्व गाँसिएको छ ।
योम किपुरको अन्तिम दिन , शोफार बज्नेबित्तिकै कुन्नी कुन सम्झनाले डो¥याएर हो मेरो बुढो साथी चुपचाप पियानो बजाउँदै थियो । म देख्छु, पुरानो शहर बाहिर हवाइमील अगाडि खिचिएको मायाको तस्वीर सामुन्ने मानौं ऊ कुरा गरिरहेको छ । मुस्काइरहेको उनको तस्वीरको पृष्ठभूमिमा मोन्टोफोरको हवाइपंखा टक्क अडिएको थियो यस्तो प्रतित हुन्थ्यो कि उसको स्मृतिमा त्यो समय पनि त्यसरी नै टक्क रोकिएको छ ।
म सुन्दै जान्छु,
बिस्तारै ऊ त्यही गीत गुनगुनाउँछ,
जेरुसलायम सेल जहाव..............।
Remake Verson by Liel Kolet
Remake Verson By OFRA HAZA
Original verson by Suli Natan
i red it before also when it was published on nepal chautari but still it has same smoothness as before it was.u have different style of presenting a story this is what i like most.really a great story krishna bro keep it up.
ReplyDeleteजटिल कुराहरु समेटिएको यो रचना सरल र सुन्दर पनि त्यत्तिकै छ | यहाँलाई बिजया दशमीको हार्दिक शुभकामना !
ReplyDeletethank you chaitanya and umesh jee for your nice comments.
ReplyDeleteI MOST SAY SOMETHING ABOUT THIS BEAUTYFUL PRESENTATION BY KRISHNA THAPA,MAILE PANI DOHORAYERA PADHE, TAPAIKO BUDHO SATHIKO PREM KATHA, RA, JERUSALAM KO KATHA, DHERAI ROCHAK LAGYO, MITHO SAILIMA LEKHNU BHYEKOMA, THANKS A LOT, KRISHNA JI.GOD BLESS YOU.
ReplyDelete