यो कथा तिहारमा लेखिएको हो, तर खै केमा व्यस्त रहेर हो, विविध कारणले समयमा पोष्ट गर्न सकिन । अनगिन्ती घटनाहरुको संकलन हो मानिसको जीवन । बिचमा धेरै घटनाहरु भए, र धेरथोर सिर्जनाहरु पनि । यहाँ जोड्न मिल्ने केही घटनालाई समय मिल्यो भने अवश्य शेयर गर्ने नै छु । यस अघि नै दुइ कथाहरु क्रमश: "दौराको फेर" र "इसरत" पनि लेखेर राखेको छु, टाइप गर्न भ्याएको छैन, समय मिलाएर छिटै टाइप गरी पस्कने छु । अहिलेलाइ यो कथा --
कहाँ गइस दिदी?
सम्झनाको धमिलो छाया पछ्याउदै म त्यो हदसम्म विगतलाई छुन सक्छु अनि दिदीको प्रेम र आत्मियता महसुस गर्न सक्छु, जुनबेला मैले भर्खर बोल्न शुरु गरेको थिएँ । म स्कुल जान अझै थालेको थिईनँ तर दिदी स्कुल जान थालेको चाहि दुई बर्ष भैसकेको थियो । छुट्टी हुने बेला दिदी स्कुलबाट फर्किएको हेर्दै म आँगनको डिलमा बसेर कुरिरहेको हुन्थें । दिदी सबै भन्दा पहिले आउथी, पिढीमा झोला फुत्त फ्याकेर दुवै हातले हावामा घुमाउदै उचाल्थी उ मलाइ । उसको झोलाबाट हलुवाको मीठो वासना आइरहेको हुन्थ्यो, अघिदेखि जसको प्रतिक्षामा म बसेको हुन्थें ।
त्यसताका दुर्गम भेगका सरकारी विद्यालयहरुमा हलुवा दिईन्थ्यो । आफ्नो भागको हलुवा नखाइकन घर ल्याउथी दिदी । उसले ल्याएका हलुवाबाट हेर्दा हेर्दै चरा बाघ भालु बिरालो जस्ता अनेक आकृतिहरु बनाउथी र बुट्टे थालमा लश्करै राख्थी । अनि पालैपालो मलाइ खुवाउदै भन्थी अब भाइले चरा खायो, बिरालो खायो, भालु खायो, बाघ पनि खायो । अनि म उसले बनाएका बाघ भालु खाएर भकुल्ले हुदै गईरहेको थिएँ ।
दिदीको सम्झना हुने बित्तिकै म हलुवाबाट बनेका तिनै बाघभालुका आकृतिहरु सम्झन्छु ।
एकदिन दिदी घर फर्कंदा उसँग सधैं जस्तो हलुवा थिएन। मलाइ उचाल्दै उसले कथा सुनाइ - घर फर्कंदा एउटा केटासँग उसको भनाभन पर्यो, अनि त्यो सँग झगडा गर्दा हलुवा भुईमा खस्यो ।
जहिले देखि म बुझ्ने भएँ, मैले थाहा पाएका मेरो जीवनका प्रारम्भिक कथाहरु हुन् यी। विस्तारै हामी संगै स्कुल जान थाल्यौं । त्यही बेला देखि नै मलाइ थाहा थियो - दिदी कडा मिजाजकी थिई, कसै सँग पनि झुक्दिनथी, डराउदिनथी, पछि हट्दिनथी । उसँग प्राय केटाहरु पनि त्यतिकै बोल्न डराउथे ।
नेपालको एउटा विकट जिल्लाको विकट गाउँमा हुर्किएका थियौं हामी, रुढीवादी परम्परा र संस्कारले व्याप्त थियो समाज । भेदभाव अशिक्षा र वर्गीय असमानताका अनेकन समस्याहरु विद्यमान थिए । उ यस्ता कुरीतिहरुको जरो उखेलेर फ्याक्ने सपना देख्थी र उसका सपनाहरु हामीलाई पनि सुनाउथी । ती सपनाहरु सुन्दर हुन्थे, दन्त्यकथाका नायिकाको जीवनजस्तै साहसी र रोमान्चक हुन्थे ।
दशैं तिहारको उमंग बोकेर धेरै शरदहरु आए, पहेलपुर सयपत्रीहरु फक्रिए । सप्तरंगी टिका र मखमली मालामा सजिएर धेरै अविष्मरणीय तिहारहरु संगै मनायौं । बरण्डाको रेलिंगभरि सँगै मैनबत्ती र दियो बालेर दिपावली गरेका अनमोल सम्झनाहरु बोकेर घुमिफिरी बर्षैपिच्छे आउछ तिहार। तेलको रेखाले वरिपरी घेर्दै हरेक भाइटिकाको साइतमा उसले भनेको सम्झन्छु - अब मेरो भाइलाई कसैले छुन सक्दैन ।
दिदीहरुको भैली खेल्ने समूह ठूलो थियो ।कहिलेकाही हामी पनि मिस्सिएर जान्थ्यौं, खुब रमाइलो हुन्थ्यो । गाउँको सिरानमा रहेको डाडाघरेको घरमा पुगेपछि सबैलाई बराबरी पैसा बाडथी उ, तर एउटा तिहार भैली खेल्नेहरु कसैले पनि पैसा पाएनन् । बाहिर चुपचाप भए पनि भित्र भित्र रिसाउनेहरु धेरै थिए भन्ने मलाइ लाग्यो ।
त्यो पैसाले उसले खोल्न र बन्द गरेर साँचो लगाउन मिल्ने झ्याल्जस्तो शिसाको खापा भएको बाकस किनेर ल्याई र भित्तामा झुन्ड्याई । केटाकेटी देखि ठुला मान्छेहरु पनि पढिरहेका थिए । त्यस्तै सातमा पढ्थी उ, उनीहरुले त्यो भित्ते पत्रिका चलाएका थिए । वाकस भित्रको भित्तेपत्रिकामा सबैभन्दा माथि लेखिएको थियो " बिगुल" । छेउ छेउमा दुइतिर फर्किएका विगुलका चित्रहरु थिए । त्यसको मुनितिर राखिएका रचना, जानकारी, सुचना, समाचार र अन्य सामाग्रीहरु हरेक हप्ता फेरिदै जान्थे । हामी पनि उसलाई सघाउथ्यौं ।
दिदी कसैसँग पनि लजाइन, डराइन र झुकिन । यसै बिषयमा घरमा बारम्बार उसैको चर्चा हुन्थ्यो, छिमेकीहरू पनि सुनाउथे - यो केटाजस्ती छ, नारीसुलभ लज्जा यसमा पटक्कै छैन, अलिकति त नरम हुनुपर्छ नि, कस्ती कडा मिजाजकी केटी, यसले दुख पाउछे.... आदि इत्यादि ।
दिदी र ममा धेरै बर्षको अन्तर थिएन
हामी तँ भनेरै सम्बोधन गर्थ्यौं, उ साथी जस्ती थिई तर उसको भूमिका चाहि परिपक्व र अभिभावकको जस्तो थियो । उमेरसंगै पछि त म दिदी भन्दा पनि अग्लो भएँ । हामीलाई को दिदी र को भाइ छुट्याउन पनि गाह्रो पर्थ्यो ।
त्यो दिन स्कुल बाट फर्किंदा घरभरि मानिसहरु थिए, भित्तामा झुन्ड्याइएको भित्ते पत्रिका त्यहाँ थिएन । केही दिन अगाडी दिदीले बुजुर्वा शिक्षाको बिरोधमा एउटा लेख राखेकी थिई र एउटा कविता । कविताको शिर्षक थियो "रातो तारा" । शायद त्यही बिषयमा घरमा सोधपुछ भैरहेको थियो, आमा खुब डराउनु भयो । भित्ते पत्रिका झिकिएको बिषयमा दिदीले बहस गर्न चाही । आमाले बोल्न दिनु भएन, सबैजना गए पछि गाउँलेहरुले उल्टो दिदीलाई नै सम्झाए ।
घरमा दिदीका साथीहरु आउँथे, केही परिचित, केही अपरिचित । एकदिन मैले उनीहरुको कुराकानी चियाएर सुनें । दिदी बारम्बार भनिरहेकी थिई - कुरा मात्र गर्ने हैन साथीहरु, अब साच्चिकै लड्ने समय आएको छ, देशका लागि रगत बगाउने समय आएको छ ।
कस्तो थियो त्यो लडाई ?
त्यसको केहीदिन पछि दिदी हराई । दिदी हराएको दिनदेखि आमाको आँखा कहिले ओभाएन । हराएको मान्छे भेटिने कथा भएको श्री स्वास्थानिको व्रत लिनु भयो आमाले । अनेक संकल्प र भाकल राख्नुभयो, तर दिदी घर फ़र्किईन ।
त्यसपछिको तिहार म एक्लै भएँ तर दोश्रो बर्षको औंसी, उ यसरी झुल्किई मानौं घरमा चहकिलो बत्ति बलेको छ र उसको आगमनले पुरै घर जगमग उज्यालो भएको छ । बा आमा गम्लंग अँगालो मारेर रुनु भयो । उसले काँधमा झोला भिरेकी थिई र खुट्टामा क्यानभास जुत्ता लगाएकी । मेरो पनि छाती भक्कानियो। खुसि हो या गुनासो, भावनाको एउटा विशाल सगरमाथा छातीभित्र पसारिएझैँ भयो । उसँग भन्नुपर्ने, पोख्नुपर्ने कति कुराहरु छातीभित्र तँछाड मछाड गर्न थाले, तर केही बोल्न सकिन ।
मैले यत्ति भनेँ,
किन गइस दिदी, अब नजा ल ?
भाइटिकाको साइत, उसले पहिले जस्तै तेल र पानीको धारा लगाउदै भनी - अब यमराज पनि यो घेरा भित्र पस्न सक्दैन, मेरो भाइलाई अब कसैले छुन सक्दैन ।
"दिदी, यस्तै आस्था र विश्वासको घेराभित्र के मैलेचाही तँलाई सुरक्षित राख्न सकुँला ?" मलाइ डाको छोडेर रुन मन लाग्यो । केटो मान्छे भएर पनि रुन्छ? दिदीले मेरो आँखामा बग्न थालेको नदीमा चियाउदै बेस्सरी हकारी ।
त्यसपछि मेरा कुनै पनि तिहारहरु उज्याला भएनन् र भाइटिका सधै उदास र एक्लो हुन थाल्यो । दिदी सधैका लागि हराई । उसको र उसले देखेको उज्यालो सपनाको प्रतिक्षामा धेरै हिउँद बर्षा र चाड पर्वहरु बितेर गए । झोला भिरेकी, क्यानभास जुत्ता लगाएकी, गहिरा आँखा भएकी, लिखुरी मेरी दिदीको त्यही अन्तिम सम्झना बाहेक उसको आगमनको पुनरावृत्ति हाम्रो जीवनमा अहँ फेरि कहिलै भएन । उसको र मेरो बिचमा कति अन्जान पहाडहरु, नदी जंघार र बाटोहरु थिए होलान ? वा कति कोश, कति माइल लामो दुरी टाढा पुगेकी होली दिदी ? सोच्दा सोच्दै म अत्तालिन पुग्थेँ कि यी सम्पूर्ण भौगोलिक दुरीहरु भन्दा पनि धेरै पर कहिले नफर्किने अज्ञात संसारमा पुगीसकी उ ।
मखमली र सयपत्री फुल्न थाले पछि, घरघरमा हरेक बर्षको तिहार दिपावलीको उज्यालो रङ्गले रङ्गिन थालेपछि मलाइ चिच्याई चिच्याई सोध्न मन लाग्छ - कहाँ गइस दिदी ?
Subscribe to:
Post Comments (Atom)
ek dam ramro lagyo ra padhera akha bata asu nai ayo. didi kaha gayis?
ReplyDeletesir tapai ko harek katha haru mailea padne garekao 6u.......malie tapai ko satyyetic rachana haru sarai ramro lag6.sabai man6huni hun6han n kati rachana padera ta ma royako ne 6u .lag6 yo katai mero nai jeevan mai pareako ta haina.tara bastab ma mero jeevan ma testo navaya ne malie tapai ko story haru sarai ramro ra gahakilo lag6......keep it's up...........
ReplyDeleteThanks Sapana! I m so much happy seeing your comment, U just reminded me the days of Universal. I really missed those moments.
ReplyDeleteKatha le bhabuk banayo..... Aankha rasauna rasauna khoje....yasto katha dheraiko parivarma 6 Nepalma . Tapaile lekhnu bhayo, arule lekhna baki nai hola ...farak tyatti matrai ho.....RAMRO 6.. man paryo!!!!
ReplyDeleteहार्दिक धन्यवाद प्रतीक ढकाल ज्यु, यहाँ नेपाली साहित्यका चर्चित साहित्यकार प्रतीक ढकालजी हुनुहुन्छ भने यो मेरो लागि अत्यन्त हर्ष र सौभाग्य सम्झिएको छु मैले । इजरायलमा रहनु भएकी साहित्यकार मित्र दीप्स शाहजीमार्फत यहाँको निकै रोचक नियात्रासंग्रह "चीनको बिचित्र चित्र" यतिखेर मेरो हातमा छ । मैले सानै छँदा एउटा चिनिया उपन्यास पढेको थिएँ 'चम्किलो रातो तारा'। त्यसको पनि अनुवादक यहाँ नै हुनु हुदो रहेछ भनेर अहिले थाहा पाएँ ।
ReplyDeleteपढ्दा पढ्दै यती भावुक भएछु कि कथा हो कि तपाईंको आत्मकथा भनेर छुट्ट्याउन फेरी एक पटक भूमिका दोहोर्याएर हेरेँ । दिदी हराउने र भाई हराउनेहरुका कैयौँ कथाहरु मध्य एक प्रतिनिधि कथा ।।।।।।। धन्यवाद कृष्णपक्षजी
ReplyDeleteखै के लागि ति दिदि हराइन, कुन उद्देश्य का लागि हराइन अहिले चिल्ला गाडी चढेर सरकार चलाउने हरुले नै उत्तर दिंदा बेश हुन्थ्यो! आखिर "हराउनु" आफ्नै लाइ भए त ठिकै थियो तर यसरि दुनियाको रगत को बलिदान को पुरस्कार तिनै जीवित हरु जसले ५ तारे होटेल मा चिल्ला गाडी चढेर लिन्छन भने हराउनु को के अर्थ रह्यो! सदा झैं साह्रै मार्मिक कथा, मन छुने, आँसु नझारौं भन्दा पनि नसकिने!
ReplyDeleteकृष्ण पक्ष जी हजुरको यो कथा पढेर मेरो आँखा बाट मुसलधारे पनि बर्सिए जस्तै आँशु का बर्षा भयो ........म सङ्ग हजुरको यो बियोगान्त जिबन स्मरण को बर्णन गर्ने शब्द नै छैन |
ReplyDeleteकथाले अत्यन्तै हृदयविदारक तस्वीर प्रस्तुत गरेको छ |
ReplyDeleteदिदि संगका बाल्यकाल का मधुर सम्झना हरुमा तरंगित भए तपाइको कथा पढेर ...कति सजिब चित्रण अनि भाव को गहिराइ को त झन के कुरा गरु ???निकै मिठो लाग्यो कृष्ण जी !!!! U MADE MY DAY...
ReplyDeleteहृदयबिदारक छ कृष्णजी तपाईंको रचना, शायद धेरैको जिबन कथा हो जस्ले नयाँ नेपालको सुन्दर सपना देखेका थिय,अन्तत सुन्दर सपना देख्दै आफ्नो जिबन उत्सर्ग गर्नुहुने समस्त आदर्णीय जन हरुमा स्रदान्जली ।धन्यबाद कृष्णजी।
ReplyDeleteकृष्णपक्ष जी का कथाहरु पढेर म निशब्द हुन्छु ! दिदी भाइ बिचको प्रेमले मुटु भक्कानियर आयो, एउटा निडर नारी जो कहिल्यै झुक्न जानिनन्।
ReplyDelete(दिदी बारम्बार भनिरहेकी थिई - कुरा मात्र गर्ने हैन साथीहरु, अब साच्चिकै लड्ने समय आएको छ, देशका लागि रगत बगाउने समय आएको छ ।)
दिदी ले देशको लागी आफ्नो जिबन अर्पण गरीन , यस्ता हजारौँ भाइ छन् जस्ले आफ्नो दिदी गुमायका छन्। र हजारौँ दिदी छीन जस्ले आफ्नो भाई गुमायकी छिन ! कहाँ छ रगतको मुल्य ? कहाँ छ शहिद को सपनाको मुल्य?
(किन गइस दिदी, अब नजा ल ? )
]
हजुरको यो लेख पढेर म धेरै भाबुक भए सारै राम्रो लेख लेख्नु भएकोछ सधै येस्तै हृदयबिदाक लेखहरु लेख्नु होला ..मैलेपनि आफ्नो बाल्यकालको दिनहरुलाई सम्जेर आसु पनि झारे thank u तपाइलाई आशा छ फेरी हजुरको लेख पढ्न पाउ ........
ReplyDelete