
समयले आफ्नो बहाव संगै बगाउदै लग्यो, टाढा पुर्यायो परदेश। कर्मका अनेक स्वरुपहरु परिवर्तन गर्दै गयो । यसबीचमा सिर्जना र अभिव्यक्तिका आकार र स्वरुपहरु पनि बदलिए ।
मनमा मात्र किन अटथे भावनाहरु ? सम्भव भएसम्म वेव साइट, ब्लग वा छापा पत्रिका नै पनि संचालन गरियो, पोखियो । दिनरात मेहनत गरेर पत्रिका सम्पादन गर्दा, लेख रचनाहरु छपाउदा वा इन्टरनेटको आँगनभरि सिर्जनाका विस्कुनहरु फ़िजाइसक्दा पनि त्यो 'किताबको रहर' त अझै उस्तै पो रहेछ । अहँ मेटिएको रहेनछ .. तिर्खाजस्तो भएर आँतभित्र बसेको रहेछ ।
त्यो रहरलाई आकार दियो शव्दहार क्रियसन्सले .. र मेरो पहिलो किताब 'तिर्खा' लिएर आयो ।
अनुभूतिहरु एकदम मिठा छन , रंगीन छन, धर्तीमा वसन्तको यौवन पोखिएजस्ता विल्कुल नयाँ । कहिलेकाहीं यस्तो लाग्छ कि यो किताब मेरो पहिलो प्रेम हो । पहिलो प्रेमको पहिलो भेट हो । पहिलो आँखा हेराइ हो या आँखा जुधेपछिको पहिलो मुस्कान हो । धक लागेजस्तो लाज लागेजस्तो .. यस्तो कि मानौं पहिलोपटक भेटिएका प्रेमी प्रेमिकाजस्तै उभिएको छु म तपाईं प्रिय पाठकसँग । विल्कुल त्यस्तै अनुभव .. ।
पहिलो प्रेम र पहिलो भेटको यो दृश्य बडो सुन्दर छ । नबोलेरै अभिव्यक्त भैरहेछन प्रस्तावनाहरु, स्विकृतिहरु.. । बहार पोखिएको हरियो धर्ति र क्षितिजमाथि फैलिएको निलो आकाश जतिकै गाढा हुदै गैरहेछ्न, घनिभूत हुदै गैरहेछ्न प्रेमका भावनाहरु ।
प्रेमिकाको कानैमा गएर मानौं उ यसो भनिरहेछ - प्रिय ! अब तिमी मेरा पानाहरु पल्टाउनु र पढ्नु मेरो मन ... जुन कथामा रुपान्तरित भएर किताबभित्र समेटिएका छन । छुनु मलाई प्रेमले 'तिर्खा' भित्र र संकलन गरेर राख्नु यी भोगाइहरुको एउटा सानो समय , त्यो इतिहास बनोस ।
प्रिय ! धड्किरहोस यो छाती र लागिरहोस यो तिर्खा निरन्तर, र भेटिरहुँ तिमीलाई अर्को किताबहरुमा .. .।
No comments
Post a Comment